“एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको।” – अब्राहम लिंकन १६-१७ वर्षको यौवन अवस्था थियो, २०४६ सालमा अधिराज्य भरी भएको जनआन्दोलनले देशमा भखर भखर बहुदलीय व्यवस्था वहाल भइरहदा, जैविकरुपमै तिव्र परिवर्तन र विकासहुने कुखुरे वैसको अवस्था भएकोले पनि होला परिवर्तित राजनिती प्रति तिव्र चाँसो र चाख थियो, कलेज बुकहरुले भरिएको स्कुल व्यागको ढड्डा खोली पढने भन्दा, मार्क्सवाद लेनीनवाद, विपीकोइरालाले अदालतमा दिएको वयान, जनकपुर वमकाण्ड, सुरजपुरा काण्ड, पिस्करकाण्ड, पेल्न हाइज्याक जस्ता क्रान्तिकारी खुराक युक्त रचनाहरु पढने तिव्र रुचि रहन्थ्यो, सिके प्रसाई, डिपी भण्डारी, प्रदिप गिरी, मोदनाथ प्रसित खगेन्द्र संग्रौला लिखित आलेखहरू र गरिजा प्रसाद कोइराला, मदन भण्डारी लगायतका क्रान्तिकारीहरु द्वारा दिइएका लामा लामा अन्तर्वार्ताहरु पनि सायदै छुटाइयो होला।
त्यो समयको आफ्नो रुची, विश्वास, राजनितीक आस्था र लगाव प्रति आजको दिनसम्म पनि कुनै पश्चात्ताप र गुनासो त छैन, तर लामो समय देखि दुःख भोग गरी देश र जनताको लागि राजनिती गरि आएका नेताहरू प्रतिको आस्था र भरोसा भने छिटो छिटो गरी गिरावट हुदै गइरह्यो, जुन क्रम हाल सम्म रोकिएकोछैन।
प्रजातन्त्र पुनर्वाहल पश्चात् सम्पन्न प्रथम संसदीय निर्वाचनमा नेपाली जनताले, नेपाली काँग्रेस पार्टीलाई सरकार चलाउने सुविधा जनक वहुमत र नेकपा एमाले पार्टीलाई सशक्त प्रतिपक्षको जनादेश दियो, तर लामो इतिहास वनाएर आएका नेताहरु लिकंनले भनेको आदर्शवाट दिन दुई गुना, रात चारगुना च्युत हुन मात्रै पुगेनन वरु नेताहरुको नियत लिकंनले निषेध गरेको सत्ता कुटनीतिको कुटिलतामा रुपान्तरण भयो। लोकतन्त्र को लागि कठिन यात्रा विचरण गरेका त्यागी गणेशमानजी, किशुनजीहरुमा समेत प्रतिशोध, इर्ष्या र भोग तिव्र भयो, जनअधिकारको लागि विराटनगरको आफ्नो श्री, सम्पदा र रजगज सहज त्याग गरी प्रवासको कठिनता अंगालो हालेको परिवारिक पृष्ठभुमीका क्रान्तिकारी गिरिजा प्रसाद कोइरालामा पार्टी भित्रै दुश्मन देख्ने संकृणता सवार भयो, फगत सत्ता तृष्णाको जगमा छित्तिसे र चौहत्तरेको उदय गरियो ।
नेकपाएमाले भित्र पनि काँग्रेसी कलहको सुगन्ध ले त्यागी मनमोहन देखि क्रान्तिकारी मदन भण्डारी सम्म यति विधि लट्ठिएकी वेमौसमी कर्मचारी आन्दोलन, २/२ महिनाको संसद अवरोध, र ३६ से संग मिलेर सरकार वनाउने अपारदर्शी असफल साँठगाँठ गर्न समेत पछि परेनन। यो अवधिमा सत्तामा रहेको काँग्रेस, आफै भित्रको ढाडे विरालाहरुको रयाङ रयाङ र रुङरुङमा रुमलियो भने प्रतिपक्षमा रहेको एमाले खस्ला र खाँउला भन्दै र्याल काडेर वसिरह्यो।
थुप्रै क्षेत्रहरुमा सन्तोष गर्ने अवस्था नहुदा नहुदै पनि, आर्थिक उदारीकरणको प्रष्ट नीति कार्यान्वयन गर्ने आँट गर्दै, देशको सिकिस्त अर्थतन्त्रका सुचकहरुमा व्यापक सुधार गर्ने, शिक्षा, स्वास्थ्य, यातायात, विद्युतीकरण लगायतका पुर्वाधारका क्षेत्रहरुमा फडको मार्ने काम भने यो अवधिमा भएको यथार्थ ढिलै भए पनि सवैले स्वीकार गरेको पाइन्छ, गिरिजा प्रसाद, रामसरण र महेश आचार्य अवधिलाई आर्थिक सुधारका दृष्टीले धरै अर्थविदहरुले स्वर्णकाल भन्ने गरेको पनि हेक्का राख्न योग्यछ।
५२ पछिको प्रजातन्त्रको अवधि पुर्णतया अस्थिरता, सत्तालीप्सा, कुशासन उन्मुख मात्र भएन विकृति, विसङ्गतिहरुको निर्मित जगमा सहजै माओवादी विद्रोहले फस्टाउने अवसरको कुशल उपयोग गर्ने आधार निर्माण भयो। ५८ साल पछि त प्रजातन्त्र पुर्णतया रक्षात्मक अवस्था पुग्यो र राजा, संस्थापनका दलहरू र माओवादी वीच कहिले राजा माओवादी मिल्लान जस्तो, कहिले राजा दलहरु मिल्लान जस्तो, बाघ र वाख्राको वाघचालमै प्रजातन्त्र अलमलि रह्यो।
राजा विरेन्द्रको बंश विनास र खास गरेर ज्ञानेन्द्रको टेक ओभर पछि भने दलहरू र विद्रोही माओवादी विच संवाद र सहकार्यको वातावरण बन्दै गयो, संस्थापनका सातदलहरु सित सडक आन्दोलन वाहेक विकल्प बचेन तर दलहरूको अलोकपृयताको कारण सडकमा जनसमर्थन नजुटि रहेको अवस्थामा, दलहरुले आम जनता संग विगतमा गरेका गल्तीहरु वारे माफि माग्दै गिरिजा प्रसाद कोइराला नेतृत्वमा माओवादी संग भएको १२ बुदे सम्झौताको पृष्ठभुमीमा पुर्ण लोकतन्त्र को मुद्दा सहित दोस्रो जनआन्दोलन घोषणा गरियो, नागरिक समाज, सवै तहका आमजनताहरुको व्यापक सहभागिताको दवाव झेल्न नसकि ज्ञानेन्द्र सत्ता छोडन वाध्य भए, २००७ साल देखि प्रजातन्त्र भन्दै प्रयोगमा आएको भाष्य लोकतन्त्र मा रुपान्तरण भयो।
शान्ति प्रकृया, संविधानसभा निर्वाचन, गणतन्त्र स्थापना, संविधान निर्माण लगायतका ऐतिहासिक कार्यभारहरु दलहरुले कुशलता पुर्वक सम्पन्न गरे,संवैधानिक रुपमै मुलुक संघीय, लोकतान्त्रिक, गणतन्त्रमा प्रवेश गरिसके पछि नेपाली जनताले सुशासन सहित तिव्र राष्ट्रिय प्रगतिको अपेक्षा राख्नु स्वभाविक थियो, दलहरुले पनि यहि घोषणा गरे तर नयाँ संविधान जारी पश्चात पनि दल र दलका नेताहरुको चरित्र र प्रवृत्ति मा कुनै परिवर्तन देखिएन, सत्ता स्वार्थको लागि पार्टी तोडफोड, ठुलठुला भ्रष्ट्राचारका काण्ड रचना, ” लोमडीले आफ्नो खाल परिवर्तन गर्न सक्छ तर वानी परिवर्तन गर्दैन ” भन्ने युक्तिलाई दल र दलका दलपतिहरुले चरित्ररार्थ गर्न छोडेनन।
नयाँदल र पात्रहरुको उदय:
जनताले सुशासन, प्रगति सहितको रुपान्तरण र शिक्षा, स्वास्थ्य लगायत रोजगारीमा निष्पक्ष पँहुच खोजिरहदा, नेताहरुले त्यो दिशा समातेनन वा समात्न चाहेनन, परिणाम स्वरुप जनताहरुको असन्तुष्टि बढिरहदा, जनताले चाहे अनुसार राइट टु रिकॉल” (Right to Recall) निर्वाचित प्रतिनिधिले काम नगरे हटाउन सकिने, चन्दा नलिने र भ्रातृ संगठन नहुने, व्यवस्था होइन, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको, अब जान्नेलाई छान्ने” (Now let’s pick the knowledgeable ones), no not again. जस्ता कर्णप्रीय घोषणा र नारा सहित,विवध क्षेत्रहरुमा ख्याति कमाएका ( legend personality ) हरु संगठीत भएर व्यापक उत्साह र सौर्य सहित नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो।
नयाँ पार्टी गठनको ६ महिना पनि नवित्दै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नव गठित राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुको अहंकार र परम्परागत दवदवालाई चुनौती मात्रै दिएन, युवा जनमत र सहरिया जनमतमा ज्वारभाटा पैदा गर्दै, संसदको निर्णायक चौथो शक्तीमा स्थापित भयो।
नयाँ शक्तीको उदयले नयाँ उत्साह र भरोसा मात्रै पैदा गरेन वरु पुराना सवै दलहरू भित्र ” सच्चिने वा सक्किने ” भन्ने पराकम्पन समेत पैदा गर्यो। नेपाली लोकतन्त्रले झेल्दै आएको कुशासन रुपी क्रोनिक लगायत विद्यमान विकृति, विसङ्गतिहरुको सफाया हुने, उन्नत लोकतन्त्र तिर देशको समग्र राजनितीले दिशा परिवर्तन गर्ने आस लाग्दो वातावरणको सृजना नयाँ दलको दमदार उपस्थिति ले सुजना गर्यो।
टाउकोमा ट्युमर:
निर्वाचन लगत्तै गठन हुने गठवन्धन सरकामा सहभागी हुन देखिएको हतारो, मन्त्रालय छनौटमा देखाएको हठ, मन्त्री छनौट गर्ने विधी हेर्दा नयाँ दलले पनि दलगठन गर्दा घोषणा गरिएका नारा र नीतिहरु संग संगत हुने गरी, पुराना भनिएका दलहरू भन्दा भिन्न चरित्र देखाउन सकेन ।
सरकार मा प्राप्त मन्त्रालयहरु संचालनको कार्यशैली र नतिजाले पनि घोषित नाराहरू संग तादम्यता देखाएन वरु सरुवा, बढुवा लगायत ठेक्का पट्टामा हिजोका दिन विर्सिने गरी पक्षपात र अपारदर्शीता देखियो र सभापतिको दोहोरो नागरिकता प्रकरणले त नयाँ दललाई रक्षात्मक अवस्थामा धकेल्ने उत्तोलकको काम गर्यो, तथापि जनमानसमा नयाँ दल प्रति आक्रषण नघटेको प्रमाणित भने सम्पन्न उपनिर्वाचन मार्फत भयो ।
पुराना दलहरूलाई सन्देश र पाठ हुने गरि नयाँदलले पार्टी संचालनको प्रणाली पनि पारदर्शी, गतिलो र लोकतान्त्रिक वनाएको देखिएन, All In One र देवत्वकरणको अलोकतान्त्रीक अभ्यासमा कुनै पनि पुरानादलहरु भन्दा नयाँदल कमजोर देखिएन । दोस्रोपटकको सत्तारोहण हुदा उठेको सहकारी अपचलनको मुद्दामा पनि नैतिकता प्रदर्शन सहित सर्लक्क सरकार वाहिर गएर फरक देखिने अवसर थियो, तर संसदीय छानबीन ले नधकल्दा सम्म टासिरहने कर्मकाण्ड जारी राखियो, जस्ले गर्दा गहिरो गरी सहकारी प्रकरणको सवै तिरवाट सिडी स्क्यान भयो र रास्वपाको सिरमा ट्युमर देखियो।
गालीगलौज संस्कृति :
नयाँदल प्रति आम नेपाली जनताको धारणा र अपेक्षा सकारात्मक थियो, त्यसै कारणले हिजो सम्म पुरानादलहरु संग जोडिएका र दलहरुको कार्यशैली वाट विरक्त भएका तल देखि माथि सम्मका धरै नेता कार्यक्रताहरुको सहज छनौट रास्वपा भएको थियो, कोही मनले घण्टी भएका थिए भने कोही मन र तन दुवैले घण्टी भएका थिए, आज तन र मन दुवैले घण्टी भएकाहरु बारे त यसै भन्न सकिदैन, तर मनले मात्र घण्टी भएकाहरु भने हच्चकिएका छन।
विधीको शासन, कानुनी राज्य, सुशासन र नैतिकताको वकालत गर्दै जन्मेको पार्टीले सम्मानित अदालतमा विचाराधीन मुद्दामा पक्षपोषण गर्दै हस्ताक्षर संकलन गर्नुले कस्तो संस्कृति स्थापित हुदैछ ? पुरानोले गरेको भ्रष्ट्राचार मात्रै गलत, नयाँले गरेको भ्रष्ट्राचार ठिक भनेर भ्रष्ट्राचार सापेक्षताको सिद्धान्त स्थापित गर्न खोजिएकोहो ? नयाँ होस वा पुरानोहोस भ्रष्ट्राचारी माथि निरिपेक्ष कार्वाही हुनु पर्छ भनेर वरु पुरानोदलका नेता गगन थापाले सदनमा, सडकमा वोलि रहेकाछन तर जान्नेलाई छान्ने भनि राजनिती गर्नेहरूले गरिरहेको हर्कत ठिकछ ?
फरक जात, धर्म, वर्ण, लिङ्ग, विचार राख्ने प्रति सहिष्णुता राख्नु हामि नेपालीहरुको परम्परा देखिको संस्कार, संस्कृति हो, वैचारिक प्रतिस्पर्धा र सामुहिक सहिष्णुता वहुदलीय लोकतन्त्र को सुन्दरता हो ।आज समाजिक संजालमा गाली कस्ले कति वढी गर्ने भन्ने होडबाजी झै देखिन्छ, गाली वढी गर्नेको पछाडी लाइक, कमेन्टको स्याल हुइयाँ पनि देखिन्छ तर फरक विचार राख्नेलाई अपाच्य गालीगलौज गर्ने संस्कारले नेपाली समाजको कहिले हित गर्दैन, असहिष्णुताले कहिले देश वन्दैन।तसर्थ गाली संस्कृति रोकिनु पर्छ।
मनोरोगका क्षेत्रमा narcissisam आत्म मुघ्धता रोग चिन्ताजनक ढंगले वढी रहेको मनोविनोद हरूको निष्कर्ष छ। आफुलाई मात्र श्रेष्ठ, अरुलाई अधम देख्नु यो रोगको विशेषताहो, यो रोग व्यक्ति मा मात्रै नभएर संस्थाहरुमा पनि छ र थियो, आशा गरिएको संस्था र दल वाट आशानुरुप संस्कार र आचरण जरुरीछ, पुरानो भ्रष्ट्राचार पनि गलत, नयाँ भ्रष्ट्रचार पनि गलत।
लेखक-पुलेन्द्रबहादुर कार्की सचिव नेपाली कांग्रेस दार्चुला











प्रतिक्रिया