काठमाडौं ।
चेक गणतन्त्रका लागि समेत नेपाली राजदूतको जिम्मेवारीमा रहनुभएका जर्मनीका लागि नेपाली राजदूरत डा. शैल रूपाखेतीले चेक गणतन्त्रका राष्ट्रपति मिस्टर पेट्र पाभेलसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका छन् ।

राजधानी प्रागस्थित प्रेसिडेन्टियल प्यालेस (प्राग कासल) को थ्रोन हलमा आयोजित एक कार्यक्रमका बीच सो कार्य सम्पन्न भएको हो ।कार्यक्रमा सुरुवातमा नेपालको राष्ट्रगानसहित गार्ड अफ अनर दिइएको थियो ।
कार्यक्रममा राजदूत डा. रूपाखेतीले राष्ट्रपति पाभेलसँग भेटघाट गरी राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चेक गणतन्त्रका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य एवं सुखशान्ति तथा चेक जनताको निरन्तर प्रगति र समृद्धिको लागि शुभकामना सन्देशसमेत बुझाएका थिए ।
उक्त अवसरमा राजदूत डा. रूपाखेतीले विभिन्न क्षेत्रहरूमा नेपाल र चेक गणतन्त्रबीच बढ्दो द्विपक्षीय आदानप्रदानको सम्भावनालाई जोड दिँदै आगामी दिनहरूमा दुई देशबीचको सम्बन्ध निरन्तर कायम र विविधिकृत हुने आशा व्यक्त गरेका थिए ।
राजदूत डा. रूपाखेतीलाई चेक गणतन्त्रमा नेपालको राजदूतको रूपमा आफ्नो दायित्व ग्रहण गरेबापत बधाई दिँदै राष्ट्रपति पाभेलले पनि नेपालका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य एवं सुखशान्ति तथा नेपाली जनताको शान्ति, प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना पठाएका छन् । साथै राष्ट्रपतिले राजदूत डा. रूपाखेतीको कार्यकालमा दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगतिशील र मजबुत हुने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा चेक गणतन्त्रका उपविदेश मन्त्री, राष्ट्रपतिको कार्यालय तथा विदेश मन्त्रालयका विभिन्न उच्चस्तरीय पदाधिकारीहरू उपस्थित थियो ।
राजदूत डा. रूपाखेतिसँग उनकी श्रीमती डा. इन्दिरा पौडेल र बर्लिनस्थित नेपाली दूतावासका उपप्रमुख सागर प्रसाद फुयाल सहभागी थिए ।
सोही दिन, राजदूत डा. रूपाखेतीले प्रागस्थित सेर्निन प्यालेस (विदेश मन्त्रालय) मा प्रोटोकल निर्देशक मार्केटा सार्बोचोभा र गैरयुरोपेली देशका उपमहानिर्देशक मिस्टर मारेक लिबर्जिक्कीसँग भेटवार्ता गरी साझा चासोका विषयहरूमा छलफल गरेका थिए । डा. रूपाखेतीले यसअघि नै जर्मनीस्थित नेपाली राजदूतको जिम्मेवारी सम्हालिसकेका थिए ।












प्रतिक्रिया