सुन्तला रंगबाट नामकरण गरिएको “एजेन्ट ओरेन्ज” भियतनाम युद्धको समयमा अमेरिकी सेनाले छरेको एउटा घातक विषादी हो, जसलाई हर्बीसाइडको रूपमा प्रयोग गरिएको थियो । यसमा डायअक्सिन नामक अति खतरनाक रासायनिक प्रदूषकको मात्रा अत्यधिक पाइन्थ्यो । यद्यपि यसको उत्पादन सन् १९७० को दशकको अन्त्यमा बन्द गरिएको थियो र आज यसको प्रयोग पूर्णतः निषेध छ । तर, यसले पारेको असर अहिले पनि मानव स्वास्थ्य र वातावरणमा आलो घाउको रूपमा गहिरो असर पारिरहेको छ । डायअक्सिन एक प्रकारको ‘पर्सिस्टेन्ट अग्र्यानिक पोलुुटेन्ट’ हो, जुन दीर्घकालीन विषाक्तता बोकेको प्रदूषक हो ।
वैज्ञानिकहरूले यसले क्यान्सर, मधुमेह, जन्मजात विकृति, प्रजनन प्रणालीमा असरलगायत थुप्रै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउने पुष्टि गरिसकेका छन् । रेडक्रसको अनुमान अनुसार ३० लाखभन्दा बढी भियतनामीहरू यसबाट प्रभावित भएका छन्, जसमा कम्तीमा १ लाख ५० हजार बालबालिका गम्भीर जन्मजात अपांगतासहित जन्मिएका छन् । आज पनि लाखौँ अमेरिकी र भियतनामी नागरिकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एजेन्ट ओरेन्ज र अन्य रासायनिक पदार्थहरूबाट प्रभावित छन् । युद्धका क्रममा दक्षिण र मध्य भियतनाममा यी रसायनहरू अत्यधिक मात्रामा छरिएका थिए, जसका कारण लाखौं एकड जंगल र खेतीयोग्य जमिन सखाप भएको थियो । धेरैजसो जमिन आजसम्म पनि बाँझो र विषाक्त अवस्थामा छ ।
विज्ञहरूका अनुसार डायअक्सिन माटोमा दशकौँसम्म विषाक्त रूपमा रहन्छ । यसको परीक्षण अमेरिकी सेनाका पूर्व अड्डाहरूमा गरिएको थियो । जसमा अधिकांश स्थानमा डायअक्सिनको मात्रा नियन्त्रणको सीमाभन्दा कम पाइए पनि तीनवटा स्थानमा भने अत्यधिक मात्रामा फेला परेका थिए । त्यस्ता स्थानहरूलाई “हट स्पट” भनिन्छ । यो विष मानव शरीरमा प्रवेश नगरोस् भनेर अहिले सफा पार्ने प्रयास भइरहेका छन् । एजेन्ट ओरेन्जको प्रयोग पहिलोपटक सन् १९६० को दशकमा गरिएको थियो । तर, सन् १९७१ मा अमेरिकाले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध लगायो र बाँकी स्टकहरू हटाएर जोनस्टन एटोल नामक अमेरिकी नियन्त्रणको टापुमा पु¥याई सन् १९७८ मा नष्ट गरियो । आजको दिनमा विश्वका कुनै पनि भूभागमा यसको प्रयोग हुँदैन।
एजेन्ट ओरेन्ज वास्तवमा रंगको आधारमा नाम दिइएका विभिन्न प्रकारका विषादीहरूको एउटा वर्ग हो, जसमा मुख्यतया दुई रसायन २,४–डी र २,४,५–टी बराबर अनुपातमा मिसाइएको हुन्थ्यो । यी विषादी केही दिन वा हप्तासम्म मात्र सक्रिय रहन्थे । तर, त्यसमा मिसिएको डायअक्सिन दीर्घकालीन असर पार्ने तत्व थियो, जुन आजसम्म पनि स्वास्थ्य समस्याको प्रमुख कारणका रूपमा देखा पर्दै आएको छ । डायअक्सिनको रासायनिक नाम २,३,७,८–टेट्राक्लोरो–डिबेन्जो–पारा–डायअक्सिन (टीसीडीडी) हो । जुन ४ सय १९ प्रकारका त्यस्तै रसायनहरूमध्ये सबैभन्दा खतरनाक मानिन्छ । एजेन्ट ओरेन्ज उत्पादन गर्ने कम्पनीहरूले यसको विषाक्तताबारे पूर्ण जानकारी नभएको दावी गरेका थिए । तर, यसको असर विशेषतः मानव प्रजनन प्रणाली र गर्भवती महिलामा देखिएकोले आजसम्म पनि यो विषय विवादास्पद बनेको छ ।
भियतनाममा प्रयोग भएका कुल विषादीमध्ये करिब ६० प्रतिशत एजेन्ट ओरेन्ज थियो । सन् १९६२ देखि १९७० सम्म ४५ मिलियन लिटर एजेन्ट ओरेन्ज प्रयोग गरिएको थियो । साथै, एजेन्ट ह्वाइट, ब्लू, पर्पल, पिन्क र ग्रीनजस्ता अन्य विषादीहरू पनि छरिएका थिए । यी सबै विषादीहरू खेतीमा झार मार्न प्रयोग गरिने औषधिहरूको तुलनामा २० गुणा बढी सघनतामा प्रयोग गरिएका थिए । पहिलोपटक विषादी छर्ने परीक्षण सन् १९६१ को अगस्ट १० मा गरिएको थियो । त्यसपछि अमेरिकी वायु सेनाले “अपरेसन हेड्स” जसको पछि नाम परिवर्तन गरेर “अपरेसन रान्च ह्यान्ड” राखियो, अन्तर्गत सन १९६२ देखि १९७१ को फेब्रुअरीसम्म विषादी छ¥यो । यस अवधिमा ९५ प्रतिशत विषादी सी–१२३ कार्गो विमानमार्फत छरिएको थियो भने बाँकी ५ प्रतिशत हेलिकप्टर र ट्रकमार्फत थियो ।
एजेन्ट ओरेन्ज करिब २४ प्रतिशत दक्षिण भियतनामको भूभागमा छरिएको थियो, जसले ५० लाख एकड जंगल र ५ लाख एकड खेतीयोग्य जमिनलाई पूर्ण रूपमा नष्ट ग¥यो । केही क्षेत्रमा त चार पटकसम्म पनि विषादी छरिएको थियो । एक अध्ययन अनुसार ३ हजार १ सय ८१ गाउँहरू यसबाट प्रत्यक्ष प्रभावित भएका थिए । भियतनामसँगै सीमाना जोडिएका लाओस र कम्बोडियाका केही भागमा पनि यी विषादीहरू प्रयोग भएका थिए । अमेरिकी सरकारले सन् १९७१ को अक्टोबरमा सबै प्रकारका विषादीहरूको प्रयोगमा रोक लगाए पनि दक्षिण भियतनामी सेनाले सन् १९७२ सम्म अन्य केही रसायनहरूको प्रयोग जारी राखेको थियो । सन १९८० नपुग्दै बाँकी स्टकहरू जलाएर नष्ट गरिएको थियो ।
डायअक्सिनको आयु छरिएको स्थान र माध्यममा निर्भर गर्दछ । मानव शरीरमा यसको औसत आयु ११ देखि १५ वर्ष मानिन्छ । केही अवस्थामा २० वर्षसम्म पनि रहन सक्छ । वातावरणमा भने यसको आयु माटोको प्रकृति, गहिराई र सूर्यको प्रकाशको उपस्थितिमा भर पर्छ । सतहमा रहेको डायअक्सिन १ देखि ३ वर्षभित्र नष्ट हुन सक्छ । तर, माटोभित्र गहिरो छिरेको वा नदी, तालको फेदमा जमेको डायअक्सिन सय वर्षभन्दा बढी समयसम्म पनि जीवित रहन सक्छ । एजेन्ट ओरेन्जको प्रयोगले न केवल भौतिक विनाश निम्त्यायो, लाखौं निर्दोष मानिसको जीवनमा दीर्घकालीन पीडा समेत थप्यो । यो केवल एउटा युद्धकालीन रणनीति मात्र थिएन, मानव सभ्यताको इतिहासमा गरिएको एक अत्यन्त दुखद् प्रयोग पनि थियो । जसको घाउ अझै पनि निको भएको छैन ।











प्रतिक्रिया