नेकपा एमालेले पूर्वराष्ट्रपतिलाई पार्टीमा नफर्काउने निर्णय गरेपछि त्यसलाई पूर्वराष्ट्रपतिले पार्टीको पूर्वउपाध्यक्षको हैसियतमा नेतृत्वलाई चुनौती दिँदै आफूलाई जननेता स्व. मदन भण्डारीले पार्टीको सदस्यता प्रदान गरेको, आफू पार्टीकै सदस्य भएको कारण पार्टीको निर्देशनबमोजिम राष्ट्रपतिको पद सम्हालेको र अब फेरि आफ्नो जिम्मेवारीबोधको कारण पार्टी सदस्यता नवीकरण गरी राजनीतिमा सक्रिय भएको भन्दै पत्रकार सम्मेलन गरेपश्चात्त नेकपा एमालेलमा मात्र होइन कि राष्ट्रिय राजनीतिमा नै एउटा तरंग पैदा भएको छ ।
हुन त आजभोलि प्रायः सम्पूर्ण राजनीतिक दलहरुले केही न केही प्रतिकूल अवस्थाको सामना गर्नुपरिरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपामा आन्तरिक राजनीतिक द्वन्द्व बढिरहेको देखिन्छ । देखा परेका उक्त राजनीतिक घटनाहरुले सम्बन्धित राजनीतिक शक्तिहरुलाई नै कमजोर बनाउन सक्ने भएका कारण आ–आफ्ना राजनीतिक दलको सुदृढीकरणको लागि सम्बन्धित दलले सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि देखिएको छ ।
यी राजनीतिक घटनाक्रमहरुमा विशेषतः नेकपा एमाले र राप्रपामा नेतृत्वप्रति आन्तरिक प्रहार भएको र त्यसबाट आफू सुरक्षित हुनको लागि नेतृत्वले प्रतिकार गरेको प्रतीत हुन्छ भने नेपाली कांग्रेसमा नेतृत्वले आजको दिनसम्म संयमता प्रदर्शन गरेको नै देखिन्छ तर पनि बागमति प्रदेशसभामा आफ्नै संसदीय दलको प्रमुखविरुद्धको अविश्वासको प्रस्तावले नयाँ नजिर स्थापित गराउने प्रयास भइरहेको छ । यद्यपि प्रत्येक दलमा समस्या समाधानका लागि प्रयासहरु नभइरहेका भने होइनन् ।
आजको चर्चाको विषय पूर्वराष्ट्रपतिको सम्बन्धमा केन्द्रित छ । दुई कार्यकाल मुलुकको सर्वोच्च पदमा रहेर आम जनताको अभिभावकत्वको भूमिका निर्वाह गरिसक्नुभएका सम्माननीय पूर्वराष्ट्रपतिको राजनीतिमा पुनरागमनको सन्दर्भ आजभोलि विशेष चर्चाको विषय बनिरहेको छ । एकातिर उहाँको यो राजनीतिक पुनरागमनको उद्देश्यलाई कतिले बेठीक परम्पराको शुरुवात मानिरहेका छन् भने कतिले उहाँको यो कदमलाई मुलुक र जनताप्रतिको जिम्मेवारीबोधको रुपमा स्वीकार गरिरहेका छन् ।
तसर्थ उहाँको यो निर्णयबाट कोही उत्साहित भएका छन् भने एमाले नेतृत्व तहले यसलाई अस्वाभाविक मानिरहेको छ । पूर्वराष्ट्रपतिले कुनै एक पार्टीको सदस्य भएर राजनीति गर्नु हुन्छ वा हँुदैन भन्ने कुरा एउटा छुट्टै विश्लेषणको विषय बन्ला तर उहाँले पूर्वउपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गरेर पार्टी नेतृत्वले गरेको निर्णय आफूलाई अमान्य भनी घोषणा गरिसक्नुभएको छ अर्थात् उहाँ प्रत्यक्ष राजनीतिमा प्रवेश गरिसक्नुभएको अवस्था छ ।
एउटा कोणबाट हेर्दा, नेपालको सन्दर्भमा राष्ट्रपति सेरेमोनियल पद हो । राष्ट्रपतिले कुनै गल्ती गर्दैनन् भन्ने विश्वास गरिन्छ । तसर्थ राष्ट्रपतिलाई महामहिम मानिन्छ, सम्माननीय भनेर पुजिन्छ । पूर्वराष्ट्रपति भइसकेको अवस्थामा पनि जनताको हृदयमा अभिभावकको छवि नै देखिन्छ । जनताको हृदयमा रहन सक्षम बनेका गरिमामय व्यक्तित्वले कुनै पनि बहानामा कुनै एकमात्र राजनीतिक दलको सदस्य बनेर उभिँदा आम नागरिकको विश्वास चकनाचुर हुन जान्छ, तसर्थ पूर्वराष्ट्रपतिले राजनीतिक मोह नराखिदिए हुन्थ्यो भन्ने एमालेको मनसाय देखिन्छ ।
अर्कोतर्फ, राष्ट्रपति पनि कुनै राजनीतिक दलबाट नै निर्वाचित भएर जाने हो, राष्ट्रपति पनि एउटा राजनीतिक प्राणी नै हो, राष्ट्रपति बनिसकेको व्यक्तिले मुलुक र जनताको लागि भिन्न राजनीतिक भूमिकाबाट सेवा गर्ने इच्छा राख्छ वा त्यस प्रकारको व्यक्तित्व मुलुकको लागि आवश्यक पर्दछ भने उसले राजनीतिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ वा पाउनुपर्दछ भन्ने तर्क पनि दह्रोरुपमा छरिएको छ । एकपटक राष्ट्रपति भइसकेको व्यक्तिले आफ्नो राजनीतिक अधिकार गुमाएको मान्नुपर्छ भन्ने छैन । तसर्थ पूर्वराष्ट्रपतिको राजनीतिक चाहनालाई महत्वपूर्ण स्थान दिनुपर्दछ भन्ने आवाज पनि उठिरहेको छ । एक हदसम्म उक्त दलील पनि ठीक हुन सक्ला ।
यहाँ एउटा संशय उत्पन्न भएको छ अर्थात् एउटा सम्माननीय पदमा रहेर राज्यको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्तिप्रति गरिने सम्बोधन, शिष्टता र व्यवहार एउटा राजनीतिक दलको नेताप्रति नहुन सक्छ । सर्वमान्य नेतालाई सबैले मान्छन् तर कुनै एउटा दलको नेता छ भने उसलाई सबैले नमान्न सक्छन्, सर्वमान्य नहुन सक्छ । काम गर्दै जाँदा टीकाटिप्पणी गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
घटनाक्रमले कामको परिणामको विश्लेषण गरेर विरोध गर्नुपर्ने अवस्था पनि ल्याउन सक्छ । नेपालमा आज कुनै नेताको जयजयकार गर्नु र कुनै नेतालाई मुर्दावाद भन्नु भनेको सामान्य संस्कार बनिरहेको छ । संसद्मा समेत जिन्दावाद र मुर्दावादको नारा लाग्ने हाम्रो जस्तो राजनीतिक संस्कारमा पूर्ण सम्मानका साथ सम्बोधन गर्नुपर्ने सम्माननीय विरुद्ध तीता र दूषित शब्दहरु छेड्ने परम्पराको शुरुवात भयो भने राष्ट्रपति पदको गरिमा कुन अवस्थामा पुग्ला ? त्यसतर्फ पनि गम्भीर हुनु आवश्यक छ ।
एकातर्फ गणतन्त्रविरोधी शक्तिहरु गणतन्त्रको नाममा देखिएका कमजोर पक्षहरुको सूची तयार पारेर जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेका छन् भने अर्कोतर्फ हामी उच्च पदको अवमूल्यन गर्दै सीमित राजनीतिक उद्देश्यको लागि आदर्शलाई तिलाञ्जलि दिने प्रयास गरिरहेका छौँ ।
एकातर्फ राजावादीहरु गणतन्त्रका केही त्रुटिहरु लिपिबद्ध गर्दै जनतामा निराशा बढेको पुष्टि गराउँदै राजतन्त्र अपरिहार्य छ भन्ने दलील प्रस्तुत गरिरहेका छन् भने आफूलाई लोकतन्त्रको हिमायती हुँ भनी घोषणा गर्ने हामीले सुधारका लागि आफ्नै परिवारका सदस्यहरुले दिएका सुझावहरुलाई विरोधको संज्ञा ठानेर कारवाहीको तानाबाना बुनिरहेका हुन्छौं । हामी लोकतान्त्रिक संस्कारमा हुर्किरहेका छौं भन्ने वास्तविकतालाई भुलेर कतै व्यक्तिगत स्वार्थको दलदलमा भाँसिइरहेका त छैनौं ? प्रश्न उठाउने आधारहरु छरपस्टिएका छन् ।
राजनीतिक घटनाक्रमहरुले पात्रको जन्म गराउँछ । त्यसलाई आवश्यकताको सिद्धान्तले पनि गाइड गरिरहेको हुन्छ । पूर्वराष्ट्रपतिको चाहना भनेको एमाले पार्टीमा रहेर राजनीति गर्नु रहे÷भएको देखिन्छ । एमाले पार्टी नेतृत्वको हिसाबले होस् वा सांगठनिक हिसाबले होस्, आजको दिनसम्म बलियो नै देखिएको छ । पार्टी नेतृत्वप्रति गुनासो गर्नुपर्ने वा नेतृत्व फेर्नु नै पर्ने भन्ने कुरा एमालेभित्र देखिँदैन ।
यसअघिको विधानमा भएको २ बर्से कार्यकाल र ७० बर्से उमेर हदलाई संशोधन गरेर भए पनि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्दछ भन्ने एमाले पार्टीभित्र ठूलै मत रहेको देखिन्छ । वर्तमान नेतृत्व पनि आफू अझै पार्टीको नेतृत्वमा रहेर एमालेको अस्तित्व थप बलियो बनाउने उद्देश्यबाट अघि बढिरहेको देखिन्छ ।
यस्तोमा लामो समयदेखि पार्टी राजनीतिबाट अलग रहेर राज्यको अभिभावकको भूमिका निर्वाह गरिसकेका पूर्वराष्ट्रपतिले पार्टीभित्र संकटकाल लागेको झैँ ठानेर सक्रिय राजनीतिमा आउन खोज्नु पार्टीको लागि थप चुनौती हुन सक्छ । सङ्लो पानीमा ढुंगा फालेर तरंग ल्याउन खोजेको जस्तो देखिन्छ, गुनासो गर्नेहरु धेरै छन् । त्यस्तै एउटा व्यक्तिको लागि विधान संशोधन गर्न तयार हुने राजनीतिक दलले एउटा व्यक्तिलाई सदस्य बन्नबाट रोक्नेसम्मको कार्य गर्दा त्यसले नराम्रो सन्देश दिन्छ भन्नेहरु पनि छन् ।
एमाले अध्यक्ष मिसन ८४ को अभियानमा रणनीतिकरुपमा अघि बढिरहेको देखिनुहुन्छ । यसको लागि उहाँले सम्पूर्ण शक्ति केन्द्रित गरिरहनुभएको छ । उहाँको रणनीतिप्रति अधिकांश नेता तथा पार्टी कार्यकर्ताहरुमा पूर्ण विश्वास रहेको देखिन्छ । तसर्थ विषम परिस्थिति परी पार्टीको सुदृढीकरणको लागि पूर्वराष्ट्रपतिको अपरिहार्यता देखिएको भए पार्टीको पूर्वनेताको हैसियतले अन्य कुरालाई थाँती राखेर भए पनि पार्टीको लागि त्यसलाई सामान्यरुपमा लिनुपर्ने हुन्थ्यो तर त्यो अवस्था नदेखिएको कारण पूर्वराष्ट्रपतिको उपस्थितिले पार्टीमा थप विग्रहको अवस्था सृजना हुने हो कि भन्ने संशय देखिएकोले एउटा कोणबाट यसप्रति असन्तुष्टि देखा परिरहेको भेटिन्छ ।
पार्टी जीवनमा प्रतिपस्पर्धा अपरिहार्य हुन्छ । वर्तमान नेतृत्व जति नै सक्षम र योग्य भए पनि केही कोणबाट विकल्पको चाहना राख्नु पनि स्वाभाविक नै मानिन्छ । कुनै पनि शक्तिको विरुद्ध कसैले कुनै पनि प्रकारले चुनौती दिएन भने त्यहाँ निरंकुशता र स्वेच्छाचारिता बढ्दै जाने गर्दछ । त्यस्तो अवस्था नआओस् भन्ने केहीको चाहना पनि होला । हुन पनि एमालेभित्र कसैले नेतृत्वको विरोध ग¥यो भने त्यसको अस्तित्व नै समाप्त पार्ने गरिएको छ भन्ने कुरा एकाध घटनाहरुलाई आधार बनाएर चर्चा चलाउने गरिएको पनि छ । यद्यपि नेतृत्वपंक्ति यो कुरालाई स्वीकार्न तयार रहेको देखिँदैन ।
पूर्वराष्ट्रपतिको पार्टी प्रवेशको उद्देश्य आगामी नेतृत्वको चाहनालाई नै लिएर भएको हो भन्ने अनुमान गरिएको छ । एकाथरी पूर्वराष्ट्रपतिको नेतृत्व पछि वाम एकता हुने कुरामा पनि विश्वत रहेको देखिन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एकपटक राष्ट्रप्रमुखको रुपमा सबैले स्वीकार गरेको कारण कम्युनिस्ट एकतामा विश्वास गर्ने जो–कोहीले पार्टीको भन्दा वाम आन्दोलनको जगलाई बलियो बनाउनको लागि आवश्यक त्याग गर्न तत्पर हुनेछन् भन्ने कुरामा पनि विश्वास गर्नेहरु धेरै छन् । साथै नेपालको राजनीतिक इतिहासमा कुनै पनि महिला आजसम्म प्रधानमन्त्री नभएको र अझै धेरै समय त्यो सम्भावना नभएको भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रीय राजनीतिमा आएमा छिट्टै मुलुकले प्रधानमन्त्रीको रुपमा एउटा महिलालाई पाउँछ भनी विश्वास गर्नेहरु पनि धेरै छन् ।
यो अवस्थामा एमालेको वर्तमान नेतृत्व र उहाँको पार्टीभित्रको लोकप्रियतालाई चिर्दै देखा पर्ने प्रत्येक चुनौतीहरुको सामना गर्दै पूर्वराष्ट्रपतिले टक्कर दिन सक्ने कुरामा पनि कतिले विश्वास गर्न सकिरहेका छैनन् । जे भए पनि आजको अवस्थाको विश्लेषण गर्दा पूर्वराष्ट्रपति एमालेको भावी नेतृत्वको लागि चाहना गर्दै पार्टीमा प्रवेश गर्नुभन्दा राजनीतिप्रति चाहना नै भए एकपटक वर्तमान नेतृत्वलाई नै साथ दिएर पार्टीको अभिभावकीय भूमिकामा बस्ने महानता प्रदर्शन गर्न सकेमा पार्टीको अधिकतम भलो हुनेछ । अन्यथा हिजो एमालेका मुर्धन्य भनिएका माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनालजस्ता पात्र पाखा लाग्न बाध्य भएको पार्टीमा अन्य एकाध वरिष्ठ नेताहरुको बहिर्गमन भएमा कुनै अनौठोको विषय नहुन पनि सक्छ ।
अझै भन्नुपर्दा, राज्यमा कुनै आपत्कालीन अवस्था प¥यो भने एकपटक मुलुकको अभिभावकत्वको भूमिका निर्वाह गरिसकेको व्यक्तिले सबै दललाई सहमतिमा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने अवस्था छ भने राजनीतिमा आउनु स्वाभाविक मात्र होइन, अपरिहार्य पनि हुन सक्छ । तर मुलुक सामान्य अवस्थामा छ भने त्यो अवस्थामा मर्यादित ओहदामा बसेको व्यक्तिले सामान्य स्वार्थ हेरेर आफूलाई एक राजनीतिक दलको मात्र नेता वा कार्यकर्तामा सीमित गर्न खोज्नु स्वभनीय मानिदैन । अतः पूर्वराष्ट्रपतिले राजनीतिक मोहलाई भन्दा कर्तव्यबोधलाई प्राथमिकतामा राखेर जनतालाई विश्वस्त पार्न सक्नुपर्दछ । सम्माननीयज्यू राजनीतिमा नआएसम्म जनताको हुनुहुनेछ, राजनीतिमा आएपछि मात्र दलको हुनुहुनेछ । तसर्थ आवश्यकता र औचित्य पुष्टि गरिनु नै पर्दछ ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)











प्रतिक्रिया