विराटको एकदिवसीय क्रिकेटमा अद्भुत रेकर्ड

0
Shares

भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ वर्ष पूरा गरेका छन् । विराटले १८ अगस्ट २००८ मा श्रीलंकाविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए । क्रिकेट इतिहासमा लिजेन्ड बनेका विराटले धेरै अद्भुत रेकर्ड बनाएका छन् ।

हाल टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका उनका ५ अद्भुत एकदिवसीय रेकर्डहरू :

-विराट एकदिवसीय क्रिकेटमा ८००० (१७५ इनिङ), ९००० (१९४ इनिङ), १०००० (२०५ इनिङ), ११००० (२२२ इनिङ), १२००० (२४२ इनिङ), १३००० (२४७ इनिङ) र १४००० (२८४ इनिङ) रन बनाउने सबैभन्दा छिटो ब्याट्सम्यान हुन् ।

-विराटले एकदिवसीय इतिहासमा सबैभन्दा धेरै ५१ शतक बनाएका छन् । उनले भारतकै लिजेन्ड ब्याटर सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका हुन् । ’चेस मास्टर’ भनेर चिनिने विराटले लक्ष्य पछ्याउँदा २७ शतक बनाएका छन् । यो एकदिवसीयमा कुनै पनि ब्याट्सम्यानले पछ्याउँदा बनाएको सबैभन्दा धेरै शतक हो ।

-विराट २९० एकदिवसीय इनिङपछि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । ३६ वर्षीय ब्याटरले अहिलेसम्म ३०२ एकदिवसीय खेलको २९० इनिङमा १४१८१ रन बनाएका छन् । जबकि, सचिनले २९० एकदिवसीय इनिङपछि ११५३७ रन बनाएका थिए ।

-एकदिवसीय क्रिकेटमा कुनै पनि टोलीविरुद्ध सबैभन्दा धेरै शतक (१०) बनाउने कीर्तिमान विराटको नाममा छ । उनले श्रीलंकाविरुद्ध १० शतक प्रहार गरेका हुन् । यस्तै, उनले वेस्ट इन्डिजविरुद्ध ९ हतक प्रहार गरेका छन् ।

-विराटले एकदिवसीय विश्वकपको एकै संस्करणमा सबैभन्दा धेरै रन बनाउने उपलब्धि हासिल गरेका छन् । उनले २०२३ को एकदिवसीय विश्वकपमा ११ खेलमा ९५.६२ को औसतमा ७६५ रन बनाएका थिए । तर, भारत फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।