आजको तीव्र परिवर्तन र नवप्रवर्तनको युगमा प्रभावशाली नेतृत्व अत्यावश्यक बनेको छ । यिनै परिवेशमा, विश्वका ठूला कम्पनीहरूको नेतृत्वमा पुग्ने धेरैजसो व्यक्ति भारतीय मूलका छन्, जसले आफ्नो यात्रा भारतको कठोर शैक्षिक प्रणाली र बहुसांस्कृतिक पृष्ठभूमिबाट सुरु गरेका थिए । यी सीईओहरूले प्रविधि, स्वास्थ्य, फेसन र साइबर सुरक्षासम्म विविध क्षेत्रहरूमा नेतृत्व गर्दै व्यवसायिक नेतृत्वको परिभाषा फेरिदिएका छन् । उनीहरूको सफलता लचिलोपन, शिक्षा र नवप्रवर्तनको मिश्रण हो।
उनीहरू केवल व्यक्तिगत रूपमा सफल भएका होइनन्, भारतको विश्वस्तरीय प्रभावका प्रतीक पनि बनेका छन् । दृष्टिकोण, मूल्य र नेतृत्व शैलीले भूगोलभन्दा ठूलो भूमिका खेल्ने यथार्थ उनीहरूले प्रमाणित गरेका छन् । भारतबाट विश्व नेतृत्वतर्फको उनीहरूको यात्रा इतिहास निर्माण मात्रै होइन, भविष्य निर्माणको प्रेरणा पनि हो । त्यस्ता १० जना भारतीय मूलका सीईओहरू यहाँ प्रस्तुत छन्, जसले आजका शक्तिशाली बहुराष्ट्रिय कम्पनीहरूलाई मार्गदर्शन गरिरहेका छन् ।
सुन्दर पिचाई – अल्फाबेट (गुगल)
चेन्नईमा सामान्य परिवेशमा हुर्किएका सुन्दर पिचाई आज गुगल र यसको मूल कम्पनी अल्फाबेटका सीईओ हुन् । उनी नेतृत्वमा रहँदा कम्पनीले एआई, क्लाउड कम्प्युटिङ र डिजिटल उत्पादनहरूमा अग्रता हासिल गरेको छ । उनको यात्रा नवप्रवर्तन र सरलताप्रतिको प्रतिबद्धताको प्रतीक हो ।
सत्य नडेला – माइक्रोसफ्ट
सन २०१४ मा माइक्रोसफ्टको बागडोर सम्हालेपछि सत्य नडेलाले कम्पनीमा ठूलो रूपान्तरण ल्याए । क्लाउड सेवा र नवप्रवर्तन संस्कृति पुनर्जीवित गर्दै उनले माइक्रोसफ्टलाई डिजिटल युगको अग्रणी बनाएका छन् । उनको सहानुभूतिपूर्ण नेतृत्व शैली प्रविधि क्षेत्रमा अत्यधिक प्रशंसनीय छ ।
नील मोहन – यूट्युब
यूट्युुबका सीईओ नील मोहन डिजिटल विज्ञापन र उत्पादन रणनीतिमा लामो अनुभव भएका व्यक्ति हुन् । उनी सिर्जनाकर्ताहरूलाई सशक्त बनाउने र सामग्रीको विश्वसनीयता कायम राख्न केन्द्रित छन्, जसले यूट्युुबलाई अझ प्रासंगिक बनाएको छ ।
शान्तनु नारायण – एडोभ
शान्तनु नारायणले एडोभलाई परम्परागत सफ्टवेयर कम्पनीबाट सदस्यता आधारित डिजिटल सेवा प्रदायकमा रूपान्तरण गरे । उनको रणनीति र नवप्रवर्तनशील सोचले एडोभलाई सृजनात्मकता, एआई र प्रयोगकर्ता अनुभवमा अगाडि बढाएको छ ।
अरविन्द कृष्ण – आईबीएम
आन्ध्र प्रदेशमा जन्मिएका अरविन्द कृष्ण अहिले आईबीएमको नेतृत्व गर्दै छन् । उनले कम्पनीलाई कृत्रिम बौद्धिकता र हाइब्रिड क्लाउड प्रविधिको अग्रभागमा पु¥याएका छन्, जसले आईबीएमलाई पुनः प्रासंगिक बनाएको छ ।
रवि कुमार एस – कोग्निजान्ट
रवि कुमारले कोग्निजान्टको सीईओका रूपमा डिजिटल रूपान्तरणमा अगुवाइ गरिरहेका छन् । परामर्श सेवा र सूचना प्रविधिमा नवप्रवर्तन तथा ग्राहक–केन्द्रित समाधान उनका प्राथमिकता हुन् ।
वसन्त नरसिंहान – नोभार्टिस
चिकित्सक पृष्ठभूमिका वसन्त नरसिंहानले नोभार्टिसको नेतृत्व गरिरहेका छन्, जुन विश्वकै ठूला औषधी कम्पनीहरूमध्ये एक हो । उनी विज्ञान र व्यापार रणनीतिलाई संयोजन गर्दै जीवनरक्षक औषधीहरू विश्वभर पु¥याउने काममा समर्पित छन् ।
विमल कपूर – हनीवाल
विमल कपूर १ सय ३० वर्ष पुरानो कम्पनी हनीवालका सीईओ हुन् । उनले औद्योगिक स्वचालन, एयरोस्पेस र भवन प्रविधिमा नयाँपन ल्याएर कम्पनीलाई भविष्यतर्फ डोर्याइरहेका छन् ।
निकेश अरोरा – पालो आल्टो नेटवक्र्स
पूर्व गुगल कार्यकारी निकेश अरोरा अहिले पालो आल्टो नेटवक्र्सको नेतृत्वमा छन् । यो कम्पनी विश्वको प्रमुख साइबर सुरक्षा कम्पनीमध्ये एक हो, जसको सुरक्षा संरचना विस्तारमा उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।
लीना नायर – च्यानल
युनिलिभरमा मानव संसाधन विभागको नेतृत्व गरेकी लीना नायर अहिले फेसन ब्रान्ड ‘च्यानल’ की ग्लोबल सीईओ हुन् । भावनात्मक बुद्धिमत्ता र रणनीतिक सुुझबुझको अनुपम संयोजन लिएर उनले फेसन उद्योगमा दुर्लभ तर प्रशंसनीय उपस्थिति बनाएकी छन् ।
यी बाहेक भारतीय मूलका अन्य सिइओहरू पनि छन् जो विश्वव्यापी कर्पोरेट क्षेत्रमा प्रभावशाली नेतृत्वकर्ता रूपमा उदाएका छन् । विश्व बैंक समूहको नेतृत्व अजय बंगाले गरिरहेका छन् भने विवेक संकरणले अल्बर्टसन्सको नेतृत्व गरिरहेका छन् । त्यस्तै, सलील पारेख भारतीय प्रविधि कम्पनी इन्फोसिसका प्रमुख छन् ।
अन्य प्रख्यात सिइओहरूमा जर्ज कुरियन (नेटएप), जयश्री उल्लाल (एरिस्टा नेटवक्र्स) रहेका छन् । सञ्जय मेहरोत्राले माइक्रोन टेक्नोलोजीको नेतृत्व गरिरहेका छन् भने रेवती अद्वैती फ्लेक्सका प्रमुख हुन् । उपभोक्ता र डिजिटल क्षेत्रमा निरज शाहले वेफेयरको नेतृत्व गरिरहेका छन् भने अम्रपाली गनले ओन्लीफ्यान्सको नेतृत्व गरिरहेकी छन् । त्यसैगरी ऐमार डि लनकसेइङ मोटोरोलाको मोबिलिटी डिभिजनका प्रमुख हुन् ।











प्रतिक्रिया