नेफ्स्कूनको ३८औँ स्थापना दिवस सम्पन्न


काठमाडौँ
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संङ्घ लिमिटेड (नेफ्स्कून) सुरक्षित साकोस र सम्मुनत समाजका लागि सहकार्य भन्ने मुल नाराका साथ ३८औ स्थापना दिवस सम्पन्न भएको छ । शनीबार अनमोल बैक्वैट, शंखमुलको सभाहलमा सम्पन्न कार्यक्रमले नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न गरेको हो ।
कार्यक्रमको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खुत्रुकेमा बचत गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

प्रमुख अतिथिले विगतदेखि हालसम्म बचत तथा ऋण सहकारी अभियानमा नतिजामुखी उपलब्धिहरु हासिल गरिरहेकोमा प्रशंसा गर्दै दीर्घकालिन रुपमा सहकारी अभियानलाई व्यवस्थित गर्न र राज्यले अघि सारेको अर्थतन्त्रको ३ खम्बा मध्ये एक खम्बाको रुपमा स्थापित गर्न आवश्यक परे सरकारले ऐन संशोधन गर्ने समेत तयार रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घ नेपालका पुर्व अध्यक्ष, संविधान सभा सदस्य, पुर्व मन्त्री केशब बडालले नेफ्स्कूनले सहकारीहरुलाई शुसासनमा राख्नका लागि महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै सहकारीको साइन बोर्ड झुन्ड्याएर कसैलाई पनि कुनै किसिमको अपराध गर्न छुट छैन भन्दै यस्ता अपराध गर्नेहरुलाई राज्यले नै संरक्षण गर्नु नहुने बताउनु भयो ।

सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सम्पत्ति शुद्धीकरण निवारणमा नेपालका सहकारीका प्रयासहरु, निवारणका प्रमुख मुद्धाहरु, ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ र सहकारी सम्पत्ति शुद्धीकरण निवारणमा विभागको अग्रसरताका वारेमा चर्चा गरी शुभकामना मन्तव्य राख्नु भएको थियो ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीको साधारण सभालाई अतिथिको सभाका रुपमा नबनाई सहकारीका सदस्यहरुकै साधारण सभाको रुपमा बनाउन सुझाव दिनुभायो ।

राष्ट्रिय सहकारी महासंङ्घ नेपालको अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानमा सहकारीको नेतृत्वदायी भुमिका निर्वाह गर्दै युवाहरुलाई कसरी सहकारीमा आबद्ध गराउन सकिन्छ भन्ने विषयमा सबै सरोकारवाला निकायहरु सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

संङ्घले ३८ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गरेवापत विभिन्न ११ विधामा तपशिलका संङ्घ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तब्य राख्दै नेपालको बचत ऋण अभियानको अपेक्षालाई पूर्णता दिन नेफ्स्कूनले प्रविधि विस्तार र सहकारीहरुलाई शुसासन र स्वनियमनमा संचालनमा प्राथमिकताका साथ लागेको बताउनु भयो ।

ससंस्थाका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनलाई हालको यो अबस्थासम्म ल्याउन सहयोग गर्नु हुने सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षक समिति, कर्मचारीहरु, सरोकारवाला निकाय प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नियामक निकायका प्रमुख, नेफ्स्कूनका पूर्व अध्यक्ष, सञ्चालक, तथा व्यवस्थापन प्रमुख, अभियानका अग्रज, राष्ट्रिय सहकारी महासंङ्घ नेपालकी अध्यक्ष, पदाधिकारी तथा महाप्रबन्धक, संङ्घको विकास साझेदार निकायका प्रतिनिधि, संञ्चारकर्मी, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालगायत ५०० भन्दा बढी सहकारी अभियन्ताको सहभागिता रहेको थियो ।

बागमती प्रदेश सञ्चालक खेमराज सुवेदीले नेफ्स्कूनको वर्तमान वित्तिय अवस्थामा उल्लेखनीय सुधार भएकाले आगामी वर्ष सदस्य संस्थाको अनुगमन र सुशासनको पक्षमा केन्द्रित हुने धारणा व्यक्त गर्नुभयो । सञ्चालक सुवेदीले वचत ऋण अभियानको नेतृत्वदायी भूमिकाका कारण यो उचाई प्राप्त भएकाले दिगोपनका लागि अनवरत रूपमा लागिरहेको बताउनु भयो ।