काठमाडौं।
नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि भारतीय सरकारको औपचारिक निम्तो हस्तान्तरण गर्नुभएको छ ।
आइतबार बिहान काठमाडौं आइपुग्नुभएका मिश्रीले आगमनलगत्तै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो दिनुभएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय सहयोग र आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ प्रगाढ बनाउन सकिने विषयमा छलफल भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
विदेश सचिव मिश्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र पारस्परिक सम्बन्धबारे कुराकानी भएको बताइएको छ । त्यसैगरी उहाँले पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभयो ।
त्यस्तै, उहाँले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग सिंहदरबारमा भेट गर्दै दुई देशबीचको परराष्ट्र नीतिगत समन्वय, आपसी चासोका विषय र उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने विषयमा छलफल गर्नु भएको थियो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि मिश्रीले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
भ्रमणका क्रममा मिश्रीले नेपाल–भारत सम्बन्धलाई अझ नयाँ उचाइमा पु¥याउनुपर्ने बताउनुभएको छ । उहाँले सीमापार व्यापार, ऊर्जा सहकार्य, आधारभूत पूर्वाधार विकास, जलस्रोतको उपयोग र सांस्कृतिक सम्बन्ध विस्तारलाई दुवै देशका लागि लाभदायक हुने गरी अघि बढाउन जोड दिनुभएको छ ।
उहाँले नेपालमा संघीयता संस्थागत गर्न, लोकतान्त्रिक अभ्यास सुदृढ गर्न र विकासका परियोजनामा भारत सहयोगी बन्ने बताउनुभयो ।
विदेश सचिव मिश्रीको यो भ्रमणलाई दुई देशबीच उच्चस्तरीय राजनीतिक संवादलाई पुनः सक्रिय तुल्याउने प्रयासको रूपमा लिइएको छ । लामो समयपछि प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको लागि आएको निम्तोले नेपाल–भारत सम्बन्धमा नयाँ गति आउने अपेक्षा गरिएको छ ।
नेपालले हालै चीनसँग उच्चस्तरीय भेटघाट र सहकार्यलाई प्राथमिकता दिएको पृष्ठभूमिमा भारतले पनि नेपालसँगको सम्बन्धलाई सन्तुलनमा राख्न चाहेको संकेत मिश्रीको भ्रमणले दिएको विश्लेषकहरू बताउँछन् ।
यसपटक प्रधानमन्त्री ओली र मोदीबीच उत्तर प्रदेशको प्रसिद्ध धार्मिकस्थल बोधगयामा औपचारिक भेट हुने भएको छ ।











प्रतिक्रिया