प्रहरी चौकीमा छ्यापछ्याप्ती मूर्ति

हालसम्म २ सय मूर्ति फेला पारिएको दाबी

10.62k
Shares

-अभियन्ताहरू चौकी पुग्दै खोज्दै

-हालसम्म प्रहरी परिसर हनुमानढोकाको जीर्ण भवन, गौशाला, स्वयम्भु वृत्त, बनेपा र धुलिखेल प्रहरी कार्यालय, महेन्द्र पुलिस क्लबमा खोजी

काठमाडौं।
राजधानी र आसपासका प्रहरी चौकीमा पुरातात्विक मूर्तिको भण्डार भेटिएको छ । अभियन्ता टोली जुन प्रहरी चौकी पुग्यो, त्यहाँ छ्याप्छ्याप्ती मूर्ति भेटिन थालिएको छ । तीन दिनअघि सम्पदा अभियन्ता यादवलाल कायस्थ, रवि शाक्य र पुरातत्व विभागका अधिकृत सरिता सुवेदीसहितकोे टोली महेन्द्र पुलिस क्लब पुग्दा त्यहाँ सिसाको सोकेसमा राखिएका पुरातात्विक मूर्ति भेटिएका छन् । अभियन्ता टोलीले हालसम्म २ सयवटा मूर्ति फेला परेको बताएका छन् ।

पुराना मूर्ति खोज्ने र संरक्षण गर्ने अभियानमा जुटेका अभियन्ता कायस्थले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्यहाँ दर्जनौं पुरातात्विक मूर्ति फेला परेका छन् । मूर्तिमा इनामेल लगाएका कारण कहिले, कहाँ बनेको र कुन स्थानमा स्थापना गरेको थियो भन्ने बारेमा जानकारी लिन सकिएन । मूर्तिको बारेमा जानकारी लिन खोज्दा माथिको आदेश नभई कुनै पनि मूर्ति हस्तान्तरण गर्न वा खोलेर हेर्न नमिल्ने बताए ।’

मूर्ति व्यवस्थापन गर्ने विषयमा पुरातत्व विभागका अधिकृतसहितको टोली क्लब पुगेको थियो । क्लबमा पुग्नासाथ विभाग र अभियन्ताको टोलीले सबै मूर्ति अवलोकन गरेको थियो । पुरातत्व अधिकृत सुवेदीले मूर्तिका बारेमा जानकारी लिन खोज्दा प्रहरी प्रधान कार्यालयको पत्र माग गरेको र त्यस्तो पत्र नलिईकनै जानुभएका कारण उहाँहरूले ती मूर्तिहरूका बारेमा जानकारी पाउन नसकेको हो ।

अभियन्ता कायस्थले पुरातत्व विभागको सहयोगमा प्रहरी प्रधान कार्यालयमा पत्र लिएर पुनः ती मूर्तिहरूको बारेमा जानकारी लिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यहाँ सजाएर राखिएका सबै मूर्ति पुरातात्विक हुन् ।’ त्यहाँ भेटिएका सबै मूर्ति करिब ४ सय वर्ष अघिदेखिका मूर्ति हुनसक्ने विभाग र अभियन्ताको भनाइ थियो । कायस्थले उपत्यकामा रहेका सबै ऐतिहासिक स्थानका वेबारिसे अवस्थामा रहेका मूर्ति खोजी र संरक्षण जारी राख्ने बताउनुभयो ।

यसअघि सो टोलीले इलाका प्रहरी कार्यालय बनेपामा करिब साढे ३ सय वर्षअघिको भगवती र गरुडनारायणको मूर्ति फेला परेको थियो । धुलिखेल प्रहरी कार्यालयमा चतुर्मुखी महादेव, भगिरथ, नन्दी र भगवतीको मूर्ति फेला गरेको थियो । पुरातत्व अधिकृत सुवास डंगोलसहितको सम्पदाकर्मीको टोलीले एक साताअघि काभ्रेका दुई प्रहरी कार्यालयमा मल्लकालीन मूर्ति फेला गरेको जनाएको छ । धुलिखेलमा विशेष कार्यक्रम गरी केही मूर्ति सम्बद्ध स्थानमा फिर्ता गरिएको थियो ।

अभियन्ताको टोलीले डेढ वर्षअघि महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट १४ वटा मूर्ति फेला पारेर राष्ट्रिय संग्रहालयलाई जिम्मा दिएको थियो । त्यस्तै प्रहरी वृत स्वयम्भुमा चतुरमुर्खी महादेवसहित एकदर्जन मूर्ति फेला पारेर छाउनी संग्रहालयलाई जिम्मा लगाएको थियो ।

जीर्ण हनुमानढोका प्रहरी कार्यालयमा अझै दर्जनांै मूर्ति हुनसक्ने अनुमान गर्दै अभियन्ता कायस्थले सबै पुरातात्विक मूर्ति खोजेरै छाड्ने बताउनुभयो । उहाँले हराएका सबै मूर्ति खोजेर ऐतिहासिक स्थानमा फेला पारिएका मूर्ति एकै स्थानमा संरक्षण गरेर राख्ने योजना बताउँदै उहाँले हालसम्म भेटिएका अधिकांश मूर्ति मल्लकालीन भएको जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत गौशालामा टाउको काटिएको बुद्धको मूर्ति फेला पारेको थियो । उक्त मूर्तिका बारेमा जानकारी दिँदै अभियन्ता कायस्थले भन्नुभयो–‘सायद मुसलमानले राजधानी आक्रमण गर्दा उक्त मूर्ति काटिएको हुनसक्ने अड्कल विभागले गरेको छ ।’

सम्पदा अभियन्ताले हराएको मूर्तिको खोजी गर्नुअघि विभिन्न निकायबाट जानकारी लिएर पुरातत्व विभागको पत्रसहित मात्र खोजी कार्य शुरू गर्ने गरेका छन् ।

भेटिएका मूर्ति हराएको स्थानमा, बाँकी संग्रहालयमा : महानिर्देशक प्रधनाङ्ग

काठमाडौं ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले भेटिएका मूर्तिहरूको पुरातत्व विभागले संरक्षण गर्ने जानकारी दिनुभयो । उहाँले मन्दिरबाट हराएका मूर्ति भेटिएमा सोही मन्दिरमा पुनःस्थापना गर्ने गरेको जानकारी दिनुभयो ।

संरक्षण र सुरक्षा गर्र्ने जिम्मा लिने समुदाय भए मन्दिरमै र जिम्मा लिने कोही नभए चारवटा संग्रहालयमा ती भेटिएका मूर्तिहरू व्यवस्थापन गर्ने गरेको जानकारी दिँदै भन्नुभयो– ‘अभियन्ताले पत्ता लगाएका सबै मूर्तिको उचित स्थानमा व्यवस्थापन गर्नेछौं । हालसम्म छाउनी, पाटन, भक्तपुर र हनुमानढोका संग्रहालयमा व्यवस्थापन गरिरहेका छौं ।’ उहाँका अनुसार महेन्द्र पुलिस क्लबमा भएका सबै मूर्तिका बारेमा पुनः अध्ययन गरी पुरातात्विक मूर्ति भए तत्काल संरक्षण गरिनेछ ।

उहाँले भेटिएका मूर्तिलाई विभिन्न संग्रहालयलले प्रदर्शनीमा राख्ने गरेको जानकारी पनि दिनुभयो । हालसम्म करिब ७ सय वर्ष अघिदेखिको मूर्ति फेला परेको बताइएको छ । फेला परेका र प्रहरी चौकीमा मन्दिरमा रहेका मूर्तिलाई समेत विभागमा ल्याएर व्यवस्थापन गर्ने तयारी भईरहेको महानिर्देशक प्रधानाङ्गको भनाइ थियो ।