इजरायलका राष्ट्रपति र संसद अध्यक्षसँग विपिन जोशीकी आमा र बहिनीको भेट, शीघ्र रिहाइको पहल गर्न आग्रह


जेरुसेलम।

हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहाना सँग आज शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा नेपालका तर्फबाट इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि उपस्थित थिए ।

भेटमा विपिनकी आमा पदमा जोशीले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै उनको तत्काल रिहाइका लागि राष्ट्रपति हर्जोगसँग हार्दिक अनुरोध गरिन् । बहिनी पुष्पा जोशीले समेत बन्धक जीवन समाप्त गरी सुरक्षित रूपमा नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरिन् ।

राजदूत पण्डितले समेत विपिनको अवस्थाबारे निरन्तर चासो रहेको बताउँदै विभिन्न माध्यममार्फत पहल गर्न अनुरोध गरे ।

जवाफमा राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको उल्लेख गर्दै, “नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लाग्छन् । उनको रिहाइका लागि हाम्रो सरकार दिनरात प्रयत्नरत छ,” भने । साथै, नेपाली सरकार पक्षले समेत सम्बन्धित अरब मुलुकहरूसँग थप पहल गर्न सके प्रगति हुने विश्वास उनले व्यक्त गरे ।

त्यसैगरी संसद अध्यक्ष अमिर ओहानासँगको भेटका क्रममा पनि उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिनआग्रह गरेका छन्। ओहानाले पनि विपिनबारे गहिरो चासो व्यक्त गर्दै, “हामी उनको खोजी र रिहाइका प्रयासमै छौं । नेपाल–इजरायल सम्बन्ध आत्मीय र मित्रवत् छ, यो मामिलाले सम्बन्धलाई झनै बलियो बनाएको छ,” भने । उनले हालै जेनेभामा नेपालका समकक्षीसँग भएको भेटमा समेत विपिनको विषय उठाइएको स्मरण गराए ।