माइलस्टोनमा गृह मन्त्रालय प्रथम, लेखकको नेतृत्वमा पाँच वर्षयताकै उत्कृष्ट प्रगति


काठमाडौँ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोन मूल्याङ्कनमा गृह मन्त्रालय सबैभन्दा उत्कृष्ट ठहरिएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि तय गरिएको माइलस्टोनमा गृह मन्त्रालयले सबैभन्दा अग्रणी नतिजा निकाल्दै पछिल्ला पाँच वर्षयताकै उच्च प्रगति हासिल गरेको हो ।

गृह मन्त्रालयले तोकिएका १०६ माइलस्टोनमध्ये ९३ पूरा गरेको छ भने १३ कार्य प्रगतिमा छन् । विशेष गरी शासकीय सुधार क्षेत्रमा मन्त्रालयले ८८ प्रतिशत प्रगति गर्दै सबै निकायभन्दा उत्कृष्ट प्रदर्शन गरेको हो । गत वर्षहरूमा सो क्षेत्रमा ६४ देखि ८६ प्रतिशतबीचमै सीमित प्रगति रहँदै आएकोमा यस वर्ष दरिलो सुधार देखिएको छ ।

शासकीय सुधारमा गृह मन्त्रालयपछि सङ्घीय मामिला मन्त्रालय ८७ प्रतिशतका साथ दोस्रो, प्रधानमन्त्री कार्यालय ७७, कानुन मन्त्रालय ७६ र परराष्ट्र मन्त्रालय पनि ७६ प्रतिशत नतिजासहित पछाडि परेका छन् । यस्तै, अर्थ मन्त्रालय ५७, उद्योग ५६, पर्यटन ७७, भूमिसुधार ७८ र कृषिमा ७४ प्रतिशत प्रगति देखिएको छ । पूर्वाधार क्षेत्रमा भने भौतिक पूर्वाधार मन्त्रालय ३६ प्रतिशतमै सीमित रहँदा खानेपानी ७२, सञ्चार ६५ र ऊर्जा ५६ प्रतिशत नतिजासहित अघि बढेका छन् ।

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा मन्त्रालयले अपराध अनुसन्धान, फैसला कार्यान्वयन, प्रहरी सेवा सुधार, विपद् व्यवस्थापन, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणदेखि लागू औषधविरुद्ध महाअभियान सञ्चालनसम्मका कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ ।
यिनै उपलब्धिहरूको आधारमा गृह मन्त्रालयले यस वर्ष माइलस्टोन मूल्याङ्कनमा प्रथम स्थान सुरक्षित गरेको हो ।