इस्लामावाद ।
उत्तरपश्चिम पाकिस्तानमा आएको आकस्मिक बाढी र पहिरोमा कम्तीमा ३४४ जनाको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकका अनुसार अझै १५० जनाभन्दा बढी बेपत्ता रहेका छन् ।
सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तको बुनेर जिल्लामा भएको छ । त्यहाँ मात्रै दुई सय आठ जनाको ज्यान गएको र करिब एक दर्जन गाउँ आंशिक रूपमा पुरिएको छ । “भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ,” उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भने । उनका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा राहत कार्यमा खटिएका छन् ।
शुक्रबार आएको तीव्र वर्षापछि आकस्मिक बाढी र पहिरोले दर्जनौँ घर ध्वस्त पारेको छ । कादर नगर गाउँमा मात्रै एउटै परिवारका २४ सदस्यको ज्यान गएको प्रष्ट भएको छ ।
प्रान्तीय मुख्यमन्त्री अली अमिन गन्धापुरले मृतकका परिवारलाई तत्काल सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री शाहबाज सरिफले राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।
विपद् व्यवस्थापन प्राधिकरणले आगामी दिनमा थप बाढी र पहिरोको जोखिम बढ्ने चेतावनी दिँदै स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ ।











प्रतिक्रिया