गुण्डा नाइके राजु गोर्खाली चन्द्रगिरीबाट पक्राउ


काठमाडौँ ।

राजधानीका कुख्यात गुण्डा नाइके राजु गोर्खाली आइतबार पक्राउ परेका छन् । उनलाई काठमाडौँको चन्द्रगिरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार गोर्खालीविरुद्ध बैंकिङ ठगीसम्बन्धी मुद्दा दर्ता रहेकाले सोही आधारमा पक्राउ गरिएको हो । हाल उनलाई परिसरमै राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राजु गोर्खाली विगतमा पनि गुण्डागर्दी, आतंक फैलाउने तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पटक–पटक पक्राउ परे पनि विभिन्न कारणले रिहा हुँदै आएका थिए । यसपटक भने ठगीसम्बन्धी मुद्दामा पक्राउ परेकाले कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

यसअघि उनले राजधानीका विभिन्न क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्रमा राख्दै गैरकानूनी गतिविधि गर्दै आएको आरोप लाग्दै आएको थियो । प्रहरी स्रोतका अनुसार गोर्खालीविरुद्ध अन्य उजुरीहरू पनि परिरहेका छन् ।