काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२|८३ को पहिलो महिनामा सरकारले ८५ अर्ब १९ करोड ६५ लाख रुपियाँ आम्दानी गरेको छ भने खर्च ४६ अर्ब ३० करोड ६१ लाख रुपियाँमा सीमित भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आम्दानी वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र खर्च २.३६ प्रतिशत मात्र हो ।
चालू आवमा सरकारले कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपियाँ राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्म कर राजस्वबाट ८० अर्ब ६७ करोड रुपियाँ (लक्ष्यको ६.०९ प्रतिशत), गैरकर राजस्वबाट ३ अर्ब ७९ करोड ५० लाख (लक्ष्यको २.४६ प्रतिशत) संकलन भएको छ । यस्तै वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख (०.७० प्रतिशत) र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख रुपियाँ सरकार िखातामा आएको छ ।
सरकारले यस वर्ष कर राजस्व १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख, गैरकर राजस्व १ खर्ब ५४ अर्ब ४१ करोड६१ लाख र वैदेशिक अनुदान ५३ अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै साउन मसान्तसम्म ४६ अर्ब ३० करोड ६१ लनख रुपियाँ खर्च १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको कुल बजेटको २.३६ प्रतिशत हो । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा एक् महिनामा १८ अर्ब ४७ करोड ९८ लाख (१.५६ प्रतिशत) खर्च भएको छ ।
पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८८ करोड रुपियाँ विनियोजन भएकामा ७२ करोड ६३ लाख मात्र (०.१८ प्रतिशत) खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । एक महिनामा सबैभन्दा बढी खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपियाँ विनियोजन भएकामा साउनभरी २७ अर्ब १० करोड (७.२२ प्रतिशत) खर्च भएको छ ।











प्रतिक्रिया