ट्रम्प–पुटिन वार्ता ‘उपलब्धिमूलक’, तर कुनै सम्झौता भएन


अलास्का ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धका विषयमा भएको वार्ता ‘उपलब्धिमूलक’ भएको बताइएको छ । तर तीन घण्टा लामो वार्तापछि पनि कुनै ठोस सम्झौता भने हुन सकेन ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले धेरै विषयमा सहमति भए पनि केही संवेदनशील मुद्दा अझै बाँकी रहेको जानकारी दिए । तर उनले ती विषयलाई बुँदागत रूपमा खुलाउन चाहेनन् । ट्रम्पले यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरुलाई जानकारी गराउने बताएका छन् ।

उनले पुटिनसँग अर्को चरणको भेट मस्कोमा हुने आशा पनि व्यक्त गरे ।सो अवसरमा राष्ट्रपति पुटिनले युद्ध अन्त्यका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिए । तर उनले स्पष्ट एजेन्डा सार्वजनिक गरेनन् । उनका अनुसार, “यो युद्धको मूल कारण पहिचान हुन जरुरी छ । शान्ति प्रक्रियालाई सफल बनाउन युक्रेन र युरोपेली देशहरूले अनावश्यक अवरोध नगर्नु आवश्यक छ ।”

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने वार्ताका क्रममा पनि रुसी सेनाले युक्रेनमा निर्दोष नागरिक मारिरहेको आरोप लगाएका छन् ।

पुटिनले यो बैठकलाई शान्ति स्थापनाको सुरुवाती बिन्दुका रूपमा उल्लेख गरे भने ट्रम्पले वार्तालाई ‘सकारात्मक शुरुवात’ भन्दै आगामी संवादले ठोस परिणाम ल्याउने अपेक्षा व्यक्त गरे ।