छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्: छोरीको वास्तविक सम्पत्ति दाइजो होइन शिक्षा हो
हाम्रो नेपालका गाउँघरमा बिहानको घामको सुनौलो किरणसँगै चुलोको धुवाँ उड्छ, गाईभैंसी कराएको आवाजसँग दिनको सुरुवात हुन्छ । । त्यही परिवेशमा हुर्कन्छन् हाम्रा छोरीहरू—कसैको हातमा किताब, कसैको हातमा पानीको गाग्री। तर, आज पनि धेरै ग्रामीण परिवारमा छोरीको भविष्यको कुरा गर्दा पहिलो प्रश्न उठ्छ—“ज्वाइँ कस्तो पाउने होला ?
यही सोचका कारण हाम्रो समाजमा आज पनि महिलाहिंसा र घरेलु हिंसाका घटना दिनानुदिन बढिरहेका छन्। महिला स्वास्थ्यमा समस्या, आत्महत्या, डिप्रेसन जस्ता डर लाग्दा घटनाहरू प्रायः आफ्नै इन्टिमेट पार्टनर वा विवाहपश्चातका नजिकका नातेदारबाट भोग्नु परिरहेको छ । छोरीहरूका कथा लुकाइएका छन।
हामीले “छोरी पाल्ने ज्वाइँ” मात्र सोच्ने परम्परा त्यागेर, “मेरो छोरी पनि ज्वाइँ पाल्न सक्छे” भन्ने मानसिकता अपनाउनुपर्छ। जबसम्म जन्म दिने आमा–बुवाको सोच यसरी परिवर्तन हुँदैन, तबसम्म यो समाजमा महिला हिंसा अन्त्य हुने कल्पना सम्म नगर्दा पनि हुन्छ ।
हाम्रो समाजमा प्रायः ‘पढेको ज्वाइँ’को चित्र बनाइन्छ, तर ‘पढेकी छोरी’को कल्पना सम्म गरिदैन ? यही सोच परिवर्तन गर्न सक्यौं भने, हाम्रो समाजले लैङ्गिक समानताकोबारेमा पहिलो र सबैभन्दा महत्वपूर्ण पाठ सिक्ने थियो।
दाइजो संस्कृतिको गाँठो
नेपालका धेरै गाउँमा छोरी जन्मिँदा आमा–बाबुको हृदयमा खुशीसँगै एउटा अदृश्य चिन्ता पनि जन्मिन्छ—त्यो हो दाइजो प्रथाको कारण ।
दाइजो प्रथा केवल आर्थिक भार मात्र होइन, यो छोरीलाई परिवारको सम्मानको प्रतीक होइन, बरु बोझको रूपमा चित्रित गर्ने सोचलाई मजबुत बनाएको छ ।
विवाहका बेलामा लाखौँ रुपैयाँ दाइजोमा खर्च गर्ने परिवारहरू धेरै छन्, तर त्यही रकम छोरीको पढाइमा लगानी गर्ने सोच अझै दुर्लभ छ।
अन्तर्राष्ट्रिय स्तरमा दाइजो प्रथा महिला–विरुद्धको हिंसाको (Gender-Based Violence) एक रूपका रूपमा मानिन्छ। नेपालको संविधान र दाइजो निषेध ऐनले यसलाई कानुनी रूपमा प्रतिबन्धित गरे पनि, व्यवहारमा यो अझै गहिरो छापका साथ बाँचिरहेको छ।
शिक्षा: ग्रामीण छोरीको वास्तविक सम्पत्ति
गाउँका छोरीहरूले बाल्यकालमै पानीको गाग्री, घाँस–दाउरा, र घरका सबै जिम्मेवारी बोक्छन्। तर, शिक्षा पाए भने यही हातहरूले कलम र किताब पनि त समात्छन्, र त्यो परिवर्तन केवल व्यक्तिगत मात्र नभई पुस्तौँको भविष्य बदल्ने क्षमता हो ।
-आत्मनिर्भरता: पढेकी छोरीले आफ्नो आर्थिक जीवन आफैं सम्हाल्न सक्छिन , परिवार र समाजमा योगदान दिन सक्छिन ।
-सचेत निर्णय: शिक्षाले उसलाई विवाह, स्वास्थ्य, करियर, र जीवनका महत्वपूर्ण विकल्पबारे विवेकपूर्ण निर्णय गर्न सक्षम बनाउँछ।
-समाज परिवर्तन: शिक्षित छोरीहरूले स्वास्थ्य, सरसफाइ, र महिला अधिकारबारे गाउँमा सचेतना फैलाउन अग्रणी भूमिका खेल्छन्।
विश्व बैंकको अध्ययनअनुसार, ग्रामीण युवतीको माध्यमिक शिक्षा १ वर्षले बढ्दा बालविवाहको सम्भावना ६% ले घट्छ, र बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार हुन्छ।
नेपालको वास्तविकता
नेपाल जनगणना २०२१ अनुसार, ग्रामीण महिलामध्ये अझै पनि २५% भन्दा बढी निरक्षर छन्।
सहरका छोरीहरूले विश्वविद्यालयसम्म पढ्ने अवसर पाउँदा, धेरै गाउँका छोरीहरूलाई माध्यमिक विद्यालय पार गर्नै मुस्किल पर्छ।
यसको प्रमुख कारण—विद्यालय टाढा हुनु, आर्थिक अभाव, र अझ मुख्य कुरा, मानसिकता।
धेरै अभिभावकहरू भन्छन्—“छोरी त अरूको घर जान्छे, धेरै पढाएर के गर्नु?”
यो सोच बदल्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो।
दाइजो होइन, शिक्षा दिनुहोस्
यदि हामीले दाइजोमा खर्च गर्ने लाखौँ रकम छोरीको पढाइ, सीप तालिम, वा व्यवसाय सुरु गर्न लगानी गर्न सक्यौं भने, त्यो उसको जीवनको दिशानै बदल्न सक्छ।
दाईजोले दिने क्षणिक सम्मान र देखावटिको सट्टा, शिक्षाले दिने आत्मसम्मान र स्वतन्त्रता जीवनभर रहन्छ।शिक्षित छोरी मात्र आफ्ना अधिकारको रक्षा गर्न, आर्थिक रूपमा स्वतन्त्र हुन, र परिवारलाई गर्व गराउन सक्षम हुन्छिन ।
मानसिकता परिवर्तनका उपाय
-अभिभावक सचेतना: गाउँ–गाउँमा सचेतना अभियान सञ्चालन गरी छोरीको पढाइलाई प्राथमिकता दिने सोच फैलाउनु पर्छ ।
-स्थानीय सरकारको भूमिका: छात्रवृत्ति, विद्यालयसम्म यातायात सुविधा, र विद्यालयमै सीप विकास कार्यक्रम सुरु गर्नु पर्छ ।
-सामाजिक दबाब तोड्नु: दाइजो माग्ने परिवारलाई सामाजिक रूपमा बहिष्कार गर्ने संस्कार विकास गर्नु पर्छ ।
-सकारात्मक उदाहरणहरू देखाउनु: गाउँका सफल महिलाका प्रेरणादायी कथाहरू प्रचार गरी अभिभावकलाई प्रोत्साहित गर्नु पर्छ ।
निष्कर्ष
- ग्रामीण नेपालमा घामझैँ चम्किएका छोरीका सपनाहरू अझै धेरै ठाउँमा बाटैमा मर्छन्।
- हामीले ‘पढेको ज्वाइँ खोज्ने’ मानसिकता त्यागेर ‘पढेकी छोरी बनाउने’ संस्कार सुरु गर्न सके मात्र हाम्रो समाज साँचो अर्थमा समानताको बाटोमा अघि बढ्छ।
- दाइजोमा खर्चिने रकमलाई शिक्षामा लगानी गर्न सकियो भने, त्यो केवल एउटा जीवन होइन—धेरै पुस्ताको भविष्य उज्यालो बनाउने कदम हुनेछ।
- “पढेको ज्वाइँ होइन, पढेकी छोरी” र “दाइजो होइन, शिक्षा दिनुहोस्” भन्ने मन्त्र आजैदेखि हरेक घरको आवाज बन्नुपर्छ।
- त्यसपछि मात्र हाम्रो गाउँ, हाम्रो समाज, र हाम्रो राष्ट्रले वास्तविक विकासको बाटोमा लम्कने छ ।
डा. तारु कार्की Gender and Public Policy Specialist हुनुहुन्छ ।, उहाँले नेपाली समाजमा विद्यमान संरचनात्मक असमानता, लैङ्गिक न्याय, र मानसिक स्वास्थ्यका मुद्दामा लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आउनु भएको छ । विशेषतः ग्रामीण भेगदेखि शहर सम्म, उहाँले महिला अधिकार, शिक्षा, र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गर्नु भएको छ । सार्वजनिक नीति निर्माणमा प्रत्यक्ष संलग्न हुँदै, उहाँले समुदाय–स्तरमा सचेतना अभिवृद्धिका अभियान सञ्चालन गरिराख्नु भएको छ। लैङ्गिक समानता, सामाजिक न्याय, र मानसिक स्वास्थ्यका प्रश्नहरूलाई नीतिगत रूपमा सम्बोधन गर्दै दीर्घकालीन समाधान खोज्नु उहाँको प्रमुख लक्ष रहेको छ ।











प्रतिक्रिया