काश्मीरमा बादल फाटेपछि भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो


एजेन्सी।

भारतको काश्मीरमा बिहीबार बिहान एकाएक बादल फाटेपछि आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ। विशेषगरी किष्टवार जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ। स्थानीय प्रशासनका अनुसार हालसम्म ३७ जनाको ज्यान गइसकेको छ भने ३५ जना घाइते अवस्थामा उद्धार गरिएका छन्। अझै केही बेपत्ता छन्।

मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्ति जारी गर्दै तीव्र वर्षाका कारण भएको यो क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उद्धार टोली अहिले पनि निरन्तर प्रयासरत छ, तर निरन्तर वर्षा र ध्वस्त सडकका कारण चुनौती अझै गम्भीर बनेको छ।

अथोली गाउँका एक स्थानीय सुशील कुमार भन्छन्— “मैले आफ्नै आँखाले अस्पतालमा १५ वटा शव ल्याइएको देखेँ।”घटनास्थल श्रिनगरबाट करिब २०० किलोमिटर टाढा भएकाले राहत तथा उद्धार कार्य अझ ढिलो भइरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना जनाउँदै पीडितलाई सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

यसअघि अगस्ट ५ मा उत्तराखण्डको धाराली गाउँमा आएको बाढी र पहिरोले पनि ७० भन्दा बढीको ज्यान लिएको थियो। जलवायु विज्ञहरूका अनुसार, मनसुनमा भारतमा हुने बाढी, पहिरो र वर्षा जन्य विपत्ति अब जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण पहिलेभन्दा बढी तीव्र र बारम्बार हुने सम्भावना छ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (WMO) ले गत वर्ष चेतावनी दिँदै भनेको थियो— “बाढी र खडेरीको बढ्दो क्रम जलवायु संकटको गहिरिँदो संकेत हो, र विश्वको जलचक्र पहिलेभन्दा धेरै असन्तुलित बन्दै गएको छ।”