ब्राजिली फुटबलर जसले कहिल्यै फुटबल खेलेनन्

6.3k
Shares

कार्लोस हेनरिक रापोसो जो कार्लोस केसरको नामले परिचित छन् । उनको १३ वर्षको लामो फुटबल करिअर थियो । यति लामो करिअरमा उनले कहिल्यै फुटबल खेलेनन् । जबकी उनले ब्राजिल र अन्य केही चर्चित क्लबहरूसँग सम्झौता गरेका थिए ।

केसरले ब्राजिलमा बोटाफोगो, फ्लेमेन्गो, फ्लुमिनेन्स, भास्को दा गामा, बांगु क्लबहरूसँग सम्झौता गरेका थिए । यस्तै, उनी मेक्सिकोको पुएब्ला, फ्रान्सको अजासियो र अमेरिकाको एल पासो क्लबहरूमा पनि अनुबन्ध भएका थिए । उनले यी कुनै पनि क्लबबाट आधिकारिक रूपमा खेल खेलेनन् ।

केसरले फुटबल खेल्नबाट बच्न कहिले नकली चोट देखाउने कहिले व्यक्तिगत सम्बन्ध देखाउने र कहिले केही न केही समस्या देखाउने गर्थे । उनको करिअर रोचक भएकोले नै केसरः द ग्रेटेस्ट फुटबलर नेभर टू प्ले फुटबल भन्ने वृत्तचित्र बनेको थियो ।

यस वृत्तचित्र सन् २०१८ मा सार्वजनिक भएको थियो । यसको निर्देशक लुइस माइल्स हुन् । यस वृत्तचित्रमा केसरले कसरी फुटबल जगतलाई यति लामो समयसम्म मूर्ख तुल्याए भन्ने विषयलाई व्याख्या गरिएको छ ।

केसरसँग फुटबलको विषयमा कुनै सीप थिएन । उनी ड्रिबल गर्न सक्दैनथे, गोल हान्न सक्दैनथे र खेलमा बल नै हान्न पनि त्यति सक्षम थिएनन् । तापनि उनले करिअरमा शुरुमा ब्राजिलका पूर्व फुटबलर कार्लोस अल्बर्टो टोरेसको मद्दतमा मौका पाए । उनलाई टोलीबाट छिटै विदा गरिएको थियो । त्यसपछि उनी अर्को क्लबमा जान पुरानो सम्झौता र नक्कली कथाको सहारा लिने गर्थे ।

केसरले पत्रकारहरूलाई विदेशी क्लबहरूमा आफ्नो सफल कार्यकालको बारेमा नक्कली रिपोर्ट लेख्न पैसा तिरेका थिए । यी रिपोर्टहरूले उनलाई चर्चित क्लबहरूमा खेलेको ठान्नेहरूले अनुबन्धित गरेका थिए ।

प्रशिक्षणकालमा उनी प्रायः व्यस्त देखिन दौडिन्थे र स्वस्थ भएको देखाउँथे । तर, बलबाट बच्न केही न केही तयारीमा हुन्थे उनी । जब प्रशिक्षकहरूले उनलाई खेल्न भन्थे, उनी घाइते भएको स्वाँग रच्थे ।

कहिलेकाही उनले जानाजानी युवा खेलाडीहरूलाई चोट पु¥याउन पैसा दिने गरेको पनि पाइएको थियो । वश उनलाई मैदानबाहिर जान बहाना चाहिने थियो । उनले पारिवारिक समस्याहरू जस्तै, उनकी हजुरआमालाई मरेको भन्दै धेरै पटक झुठ बोलेका थिए ।

एक पटक जब, डाक्टरहरूले उनको अवस्था परीक्षण गर्न जोड दिए, तब केसरले नक्कली मेडिकल रिपोर्ट प्रयोग गरेका थिए । उनले एक दन्त चिकित्सक साथीबाट मद्दत लिएका थिए । यी सबै जसो झुठ भएपनि आश्चर्यजनक रूपमा उनलाई क्लबहरूले अनुबन्ध गरिरहे ।

यसको एउटा कारण रेनाटो गौचो, रोमारियो, एडमन्डो र रिकार्डो रोचा जस्ता प्रसिद्ध खेलाडीसँग उनको गाढा चिनजान थियो । उनीहरूले नै प्रायः जसो उनको लागि सिफारिस गर्थे । यसले उनको झुठलाई अझ बल मिल्थ्यो ।

एक रोचक घटना

एक पटक रियो दि जनेरियोको बांँगु क्लबमा हुँदा केसरलाई विकल्पको रूपमा बोलाइएको थियो । जब प्रशिक्षकले उनलाई वार्म अप गर्न र मैदानम आउन तयार हुन निर्देशन दिए, तब उनका लागि कुनै विकल्प थिएन । उनलाई राम्ररी थाहा थियो कि उनले खेल्न सक्दैनन् । त्यसैले उनी दर्शकहरूदिर्घामा पुगेर झगडामा परे । रेफ्रीले उनलाई मैदानमा आउनअघि नै मैदानबाहिर जान आदेश दिए ।