अमेरिकी अटोमोबाइल उद्योगका अग्रदूत


अमेरिकी अटोमोबाइल उद्योगको प्रारम्भिक यात्रामा केही अद्वितीय र दूरदर्शी व्यक्तित्वहरूले त्यस्तो जग बसाए, जसले यो उद्योगलाई विश्वका सबैभन्दा रूपान्तरणकारी क्षेत्रहरूमध्ये एक बनायो । ती अग्रदूतहरूले आफ्नो दृष्टिकोण, अथक परिश्रम र यान्त्रिक प्रतिभाको माध्यमबाट केवल नयाँ यातायात साधनहरू निर्माण गरेनन्, मानिसहरूको यात्रा शैलीदेखि लिएर उद्योग सञ्चालनको संरचना नै बदलिदिए । उनीहरूको योगदानले शक्तिशाली ब्रान्डहरूको जन्म मात्र गराएन, समग्र विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पारे, यात्राको परिभाषा फेरिदियो र २०औँ शताब्दी तथा त्यसपछि आउने पुस्ताहरूका लागि बाटो खोलिदियो । यी सबै अग्रदूतहरूको समर्पण, दूरदृष्टि र नवप्रवर्तनले अमेरिकी अटोमोबाइल उद्योगलाई विश्वसनीय, बलियो र प्रेरणादायी बनायो । जसकारण आजको आधुनिक संसारमा उनीहरूको योगदान अमित बनेको छ ।

हेनरी फोर्ड

ती अग्रगामीहरूमध्ये सबैभन्दा प्रसिद्ध नाम हो हेनरी फोर्ड । फोर्डले “मुभिङ एसेम्बली लाइन” प्रविधिको विकास गरेर गाडी उत्पादनलाई तीव्र, सस्तो र जनसाधारणसम्म पहुँचयोग्य बनाए । उनका सामूहिक उत्पादनका सिद्धान्तहरूले न केवल अटोमोबाइल निर्माणमा क्रान्ति ल्याए, आधुनिक औद्योगिक उत्पादन प्रणालीकै आधारशिला तयार पारे ।

लुइस सेभरोलेट

अर्का एक महत्वपूर्ण व्यक्ति थिए लुइस सेभरोलेट । स्विट्जरल्याण्डमा जन्मेका कार रेसर र इन्जिनियर, जसले अमेरिकी अटो उद्योगमा युरोपेली इन्जिनियरिङको उत्कृष्टता भित्र्याए । उनले विलियम सी. डुरान्टसँग मिलेर सेभरोलेट मोटर कम्पनी स्थापना गरे । डुरान्ट आफैँमा कुशल उद्योगपति थिए, जसले “जनरल मोटर्स” स्थापना गरी बुइक, काडिलाक, र सेभरोलेटजस्ता ब्रान्डहरूलाई एउटै छानामुनि ल्याएर अटो उद्योगमा एकीकरणको नयाँ युगको शुरूवात गरे ।

हेनरी लेल्यान्ड

हेनरी लेल्यान्ड त्यस्ता व्यक्ति थिए जसले गुणस्तर र विलासिताको नयाँ मापदण्ड स्थापित गरे । उनले “काडिलाक” र “लिंकन” ब्रान्डहरूको स्थापना गरे । यान्त्रिक शुद्धता तथा इन्जिनियरिङ उत्कृष्टताको प्रतीक बनाए । यिनको योगदानले अमेरिकन विलासिता गाडीहरूको स्तर उच्च राख्यो ।

जोन र होरेस डज

जोन र होरेस डज, यी दुई दाजुभाइहरू प्रारम्भमा फोर्ड कम्पनीका लागि पाट्र्स निर्माण गर्थे । पछि उनीहरूले आफ्नै “डज मोटर कम्पनी” स्थापना गरे । बलियो तथा भरपर्दो सवारीसाधनहरू निर्माण गरेर अमेरिकाको “मोटर सिटी” बाट परिचित डेट्रोइटको विकासमा उल्लेखनीय भूमिका खेले ।
डेभिड डनबर ब्युइकले “बुइक” ब्रान्डको स्थापना गरे, जुन अमेरिकाको सबैभन्दा पुराना र अझै सक्रिय अटो ब्रान्डहरूमध्येमा पर्दछ । यद्यपि उनले धेरै आर्थिक फाइदा भने उठाउन सकेनन्, तर उनका यान्त्रिक आविष्कार र योगदानले उनलाई उद्योगका एक प्रमुख अगुवा बनायो ।

वाल्टर क्राइस्लर

वाल्टर क्राइस्लरले रेल इन्जिन मिस्त्रीको रूपमा आफ्नो करियर शुरू गरेका थिए । तर, पछि उनी “क्राइसलर कर्पोरेसन” का संस्थापक बने । उनका यान्त्रिक ज्ञान र कुशल नेतृत्वले क्राइस्लरलाई “बिग थ्री” अमेरिकी अटो निर्माता कम्पनीहरूमध्ये एक बनायो ।

रान्सम ई.ओल्ड्स

रान्सम ई.ओल्ड्सले त फोर्डभन्दा पनि पहिले सामूहिक उत्पादनको अवधारणामा प्रयोग गरेका थिए । उनले “ओल्ड्समोबाइल” र “आरइओ मोटर कार कम्पनी” स्थापना गरे । उत्पादन प्रक्रियामा प्रयोग गरिएका प्रविधिहरूले भविष्यको एसेम्बली लाइन प्रणालीको आधार तयार ग¥यो ।

कार्ल प्रोब्स्ट

कार्ल प्रोब्स्टले आम नागरिकभन्दा पनि सैन्य प्रायोजनमा ऐतिहासिक योगदान दिए । दोस्रो विश्वयुद्धको समयमा उनले अमेरिकी सेनाका लागि बलियो, बहुप्रयोगी हलुका सवारीसाधन डिजाइन गर्न सहयोग गरे । जसलाई पछि “जिप” नाम दिइयो । जिप अमेरिकी नवप्रवर्तन र टिकाउपनको प्रतीक बन्यो ।