विद्यार्थीबाट रजिस्टार रिजाल कुटिए , रेक्टर र रजिस्टारको कार्यकक्ष तोडफोड 

15.04k
Shares

काठमाडौ ।

 त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा दीपक आर्यालको १९ दिनअघिदेखि मुलगेटमा अनसन बसेका अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले  रजिस्टार केदार रिजालमाथि हातपात गरेका छन् । उनीहरुले रजिस्टार रिजाललाई टेबल क्यालेण्डर प्रहार गरेका छन् भने पानीको गिलासले हानेका छन्  । 

  उपकुलपति प्राडा अर्याल र रेक्टर प्राडा खड्ग केसी कार्यालयमा नभएको समयमा  रिले अनसन बसेका विद्यार्थीले रजिस्टार रिजालमाथि अभद्र व्यवहार गरेका हुन । गएको वर्ष असोज १ गतेबाट स्थापना भएको चार विभागमा अध्ययनरत विद्यार्थीको शुल्क अन्य विभाग सरह हुनुपर्ने माग गर्दै उपकुलपति कार्यालयमा धर्ना दिएका  थिए । 

 धर्ना भएदेखि उपकुलपति अर्याल कार्यालय प्रवेश गर्न सकेका थिएनन् । रजिस्टार  रिजालले माग पुरा गर्ने विषयमा  अनेरास्ववियुसंग छलफल गरिरहेको अवस्थामा क्रान्तिकारीका विद्यार्थी रजिस्टार कार्यालयमा प्रवेश गरी तोडफोड गरेका थिए । उनीहरुले क्रान्तिकारीसंग वार्ता नगरी  सरकारआबद्ध अनेरास्ववियुका विद्यार्थी नेतासंग वार्ता गरेको आरोप लगाउदै तोडफोड गरेका थिए ।

 तोडफोडबाट रजिस्टार कार्यालय क्षतिग्रस्त भएको छ भने  रजिस्टारलाई सामान्य चोट लागेको छ  ।  त्रिविका पदाधिकारीको कार्यकक्षमा तोडफोड गर्न पुगेका विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको थियो ।  प्रहरीले विद्यार्थीलाई तितरवितर गरेपछि त्रिबि शान्त भएको छ ।, 

  त्रिबिमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका प्रहरीले रजिस्टार अर्याललाई सम्भाभित  झडपको विषयमा पहिलानै जानकारी गराएका थिए । तर रजिस्टार रिजालले आफू कार्यकक्षबाट बाहिर नजाने बताएका थिए । अनेरास्ववियुसंग कुराकानी भइरहेको बेला क्रान्तिकारीका विद्यार्थी  रजिस्टारको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेका थिए ।