सनको ट्रान्सफरले एमएलएसमा रच्यो कीर्तिमान


वाशिङटन, (एजेन्सी)

इंग्लिस क्लब टोटनह्याम हट्सपर छाडेर अमेरिकी क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका दक्षिण कोरियाली सुपरस्टार सन ह्युङ–मिनको स्थानान्तरणले अमेरिकी मेजर लिग सफर (एमएलएस) को इतिहासमा कीर्तिमान रचेको छ ।

३३ वर्षीय टोटनह्यामका पूर्व कप्तान सनले दुई दिनअघि मात्र नर्थ लन्डनको क्लब छाडेर लस एन्जलस एफसीसँग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन । जसमा थप दुई वर्षको विकल्प खुला राखिएको छ । यो स्थानान्तरणको लागि लस एन्जलस एफसीले २६.५ मिलियन अमेरिकी डलर खर्च गरेको छ, जुन एमएलएस इतिहासको सबैभन्दा महँगो ट्रान्सफर हो । सनको आगमनसँगै लस एन्जलस शहरमा उल्लेखनीय उत्साह देखिएको छ । बीएमओ स्टेडियममा उनलाई दुई दिनसम्म विशेष स्वागत गरिएको थियो, जसमा हजारौं समर्थकहरूले उत्सवजस्तै माहोल बनाएका थिए ।

टिग्रेसविरुद्धको लिग्स कप खेलमा दर्शक बनेका सन रंगशालाको स्क्रिनमा देख्न बित्तिकै समर्थकहरूले हुटिङ र तालीमार्फत उनको स्वागत गरे । त्यसको भोलिपल्ट मात्रै क्लबले आधिकारिक रूपमा उनलाई क्लबको जर्सीमा सार्वजनिक ग¥यो, जहाँ उनले आफू अमेरिका र विशेषगरी कोरियन समुदायले भरिएको लस एन्जलसमा आउन पाउँदा निकै गर्व महसुस गरिरहेको बताए । सन् २०२५ को यो ट्रान्सफरले एमएलएसको बजार मूल्य र अन्तर्राष्ट्रिय चर्चा दुबैमा नयाँ उचाइ ल्याएको छ ।

उल्लेखनीय कुरा के हो भने, लियोनेल मेसी इन्टर मायामीमा निशुल्क ट्रान्सफरमा आएका थिए भने सनको ट्रान्सफरमा क्लबले ठूलो रकम खर्च गरेको हो । मेसीको पारिश्रमिक विज्ञापन र बोनसमार्फत आएको भए पनि क्लबले उनको लागि ट्रान्सफर शुल्क तिर्नु परेको थिएन । यही तुलना गर्दा सनको आगमन एमएलएसमा क्लबको लगानी रणनीति र विश्वस्तरको खेलाडीप्रति आकर्षणमा ठूलो मोड हो । सनले शिकागोविरुद्धको खेलमार्फत एलएएफसीको लागि आफ्नो डेब्यू गर्ने तयारी गरेका छन् । उनले आफ्नो पुरानै ७ नम्बरको जर्सीमा मैदान उत्रने छन् ।

लस एन्जलसमा करिब ३ लाख २० हजार कोरियन मूलका बासिन्दा रहेका कारण पनि क्लब र सहरसँग उनको सम्बन्ध अझ गहिरो बन्ने अनुमान गरिएको छ । सनले सार्वजनिक कार्यक्रममा भनेका थिए, “कोरियन समुदायले भरिएको यो शहरमा आउन पाउनु मेरा लागि गर्वको कुरा हो। म आफ्नो खेलमार्फत उनीहरूलाई गर्व महसुस गराउनेछु ।” सनको यो कीर्तिमानी ट्रान्सफरले एमएलएसको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउनुका साथै कोरियन खेलप्रेमीहरूलाई समेत गौरवान्वित बनाएको छ ।