प्रकृतिको कुचीकार “गिद्ध”

188
Shares

गिद्ध, एउटा यस्तो पंक्षी हो जसलाई धेरैले हेला गर्छन् । जो उपेक्षित वा डर लाग्दो जीवका रूपमा पनि चिनिन्छ । तर, वास्तवमा, गिद्ध प्रकृतिको अनिवार्य अंग हो, एक यस्तो कुशल सरसफाइकर्मी जसले हाम्रो वातावरणलाई स्वस्थ र सन्तुलित राख्न निष्ठापूर्वक सेवा दिँदै आएको छ । यही कारणले, गिद्धलाई “प्रकृतिको कुचीकार” भनेर चिनिन्छ । मरेका जनावरहरूको सिनो सफा गर्ने गिद्धहरू वातावरणमा रोग फैलिन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । यदि गिद्धहरू नहुने हो भने सडेको मासुहरूबाट रेबीज, बोटुलिज्म, एन्थ्र्याक्स जस्ता घातक रोगहरू फैलिन सक्ने खतरा अत्यधिक हुन्छ । जसले मानव र वन्यजन्तु दुवैको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्छ ।

गिद्धहरू प्रकृतिले यो कामका लागि विशेष रुपमा बनाइएका जीव हुन् । उनीहरूको दृष्टि अत्यन्तै तेज हुन्छ । एक किलोमिटर टाढाबाट समेत मरेका जनावर सजिलै देख्न सक्छन् । साथै, गन्ध सूँघ्ने क्षमता पनि अत्यन्त विकसित हुन्छ । सिनो देखेपछि गिद्धहरू तुरुन्तै त्यो ठाउँमा पुग्छन् । गिद्धको पाचन शक्ति पनि धेरै राम्रो हुन्छ । बाक्लो र कडा छालाभित्रको मासुसमेत सजिलै पचाउन सक्षम हुन्छन् । उनीहरूको पाचन प्रणाली यति शक्तिशाली हुन्छ कि कुहिएको मासुमा भएका विषालु ब्याक्टेरियाहरूलाई पनि सजिलै नष्ट गर्न सक्छन । यही कारणले गर्दा गिद्धहरूलाई प्राकृतिक सुरक्षा कवच पनि भनिन्छ, जसले रोग फैलिनबाट जोगाउँछ।

तर, गिद्धको कार्य यतिमा मात्र सीमित छैन । उनीहरूले पोषक तत्वको पुनःचक्रण गरेर जमिनलाई उर्वर बनाउन पनि सहयोगी भूमिका खेल्छन । गिद्धहरूले जैविक फोहरलाई प्रकृतिक रूपमा व्यवस्थापन गरी वातावरण सफा राख्ने काम गर्छन् । यिनको अनुपस्थितिमा मरेका जनावरहरूको थुप्रो लाग्ने, सड्ने, दुर्गन्ध आउने र संक्रमण फैलिने सम्भावना अत्यधिक हुन्छ । यसको प्रत्यक्ष असर वातावरण, जीवजन्तु र मानिसको स्वास्थ्यमा समेत पर्छ ।

काठमाडौंबाट हराए गिद्ध

आज काठमाडौंजस्ता सहरहरूमा गिद्धको उपस्थिति शून्यमा झरेको छ । शहरमा गिद्ध नदेखिने अवस्था आउनु वातावरणीय संकटको संकेत पनि हो । वातावरणविद्हरू भन्छन—“गिद्ध देखिनु भनेको शहर अझै जीवन्त छ भन्ने चिन्ह हो । तर जब त्यो देखिएन भने हामीले बुझ्नुपर्छ कि हामी हाम्रो वातावरणसँगको सम्बन्ध गुमाउँदैछौं ।” एक अध्ययन अनुसार, एक गिद्धले वर्षमा करिब ११ हजार अमेरिकी डलर बराबरको सिनो सफा गर्छ । आर्थिक हिसाबले मात्र हेर्दा पनि गिद्धको योगदान अमूल्य छ । तर, त्योभन्दा पनि ठूलो कुरा हो, गिद्धले जनस्वास्थ्यमा पु¥याउने प्रत्यक्ष योगदान । रोग फैलन नदिने, दुर्गन्ध हटाउने, वातावरणलाई सफा राख्ने, यी सबैमा गिद्धको सेवा अतुलनीय छ ।

घरैघरले भरिएको उपत्यकामा गिद्धहरूको प्राकृतिक बासस्थान हराउँदै गएका छन् । अग्ला रूखहरू काटिए, खुला क्षेत्र हराए । गिद्धहरू बाँच्न सक्ने उपयुक्त वातावरण नष्ट हुँदै गयो । काठमाडौंका नदीहरु आज प्रदूषणको चरम स्थितिमा छन् । ती नदीहरू अब फोहर बगाउने माध्यम मात्र बनेका छन् । औसतमा यी नदीहरूमा घुलित अक्सिजनको मात्रा ३.२१ मिलिग्राम प्रति लिटर मात्र छ, जुन माछा वा अन्य जलीय जीवका लागि पर्याप्त नभएको तथ्याङ्कले देखाउँछ । सजीव नदीका लागि कम्तीमा ५ मिलिग्राम प्रतिलिटर आवश्यक हुन्छ ।

त्यस्तै, पानीमा पाइने रसायनहरू जसमा अम्लीयता, आइरन, एमोनिया जस्ता घातक तत्व छन् । त्यसको मात्रा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनद्वारा तोकिएको मापदण्डभन्दा बढी छ । पानीमा रंग, स्वाद र गन्ध हुनु घातक मानिन्छ । तर, काठमाडौंका नदीहरूमा यी तीनै कुराहरू अत्यधिक मात्रामा देखिन्छन् । खोलामा आँखाले देखिने जैविक र अजैविक फोहोरहरू थुप्रिएका छन् र रोग फैलाउने ब्याक्टेरियाको मात्राले खतराको तह पार गरिसकेको छ ।

यी सबै कुराले स्पष्ट गर्छन् कि गिद्धहरूको अनुपस्थिति एउटा पंक्षीको मात्र लोप होइन, यो त सहरी वातावरणको चरम संकटको संकेत पनि हो भनेर । यदि हामीले समयमा नै यसको गाम्भीर्यता बुझेनौ भने गिद्ध लोप हुनुको असर हाम्रो शहर, स्वास्थ्य र भविष्यमा गम्भीर रूपमा पर्नेछ । जब आकाशमा गिद्ध उडिरहेको देख्नुहुन्छ, त्यसलाई अपशकुनको चरा नभई एक निस्वार्थ प्रकृतिक सेवकको रूपमा सम्झनुहोस् । त्यो त्यही जीव हो भनेर सम्झनुहोस, जसले हाम्रो समाजलाई बचाइरहेको छ । गिद्धको संरक्षण गर्नु भनेको केवल एक प्रजातिको बचाउ मात्र होइन, सम्पूर्ण वातावरणीय सन्तुलन जोगाउनु पनि हो ।