अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गाइडको अभाव


पोखरा ।

अन्नपूर्ण आरोहणको ७४औं वार्षिकोत्सवका अवसरमा पोखरामा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्ने ट्रेकिङ गाइडको अभाव देखिएको छ। अन्नपूर्ण पदयात्रामा ९ देशका राजदूत र कूटनीतिक नियोग प्रमुख सहभागी हुँदा आवश्यक ८ जना दक्ष गाइड पोखराबाट नै नपाईएको गुनासो गरिएको छ।

नेपाल पर्वतारोहण संघ गण्डकीका पूर्व अध्यक्ष शेषकान्त शर्माले गाइडको कमीले आफूलाई नै गाइडको नेतृत्व गर्नुपर्ने अवस्था आएको बताए। उनका अनुसार पोखरामा वार्षिक झन्डै ३ हजार गाइड उत्पादन भए पनि अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्ने गाइड दुर्लभ छन्।

यस समस्यालाई सम्बोधन गर्न नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालय र नेपाल पर्वतारोहण संघ गण्डकीको संयुक्त आयोजनामा ६ दिने गाइड प्रशिक्षण तालिम सुरु गरिएको छ। गण्डकी अल्पाइन क्लब र काठमाडौं इनभाइरन्मेन्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोगमा पोखराको बरपिपल रिसोर्टमा आइतबारदेखि सुरु भएको तालिममा ७ महिला सहित ३३ जना लाइसेन्स प्राप्त ट्रेकिङ गाइड सहभागी छन्।

तालिममा प्राथमिक उपचार, नक्सा अध्ययन, टोपोग्राफिक म्यापिङ, हिमाल आरोहण व्यवस्थापनलगायत विषयमा दक्ष प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिइँदैछ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछानेले म्याप रिडिङ जस्ता सीपले गाइड र पर्यटक दुवैको सुरक्षा सुनिश्चित हुने बताए। संघका सचिव मनशान्त घिमिरेले टोपोग्राफिक नक्सा स्विट्जरल्याण्डबाट मगाइएको जानकारी दिए। उक्त तालिमले पोखरामा गुणस्तरीय, दक्ष र अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्ने गाइड उत्पादनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।