लमजुङ।
लमजुङको मर्स्याङदी गाउँपालिका–६ र ७ भएर बग्ने ङादी खोलामा आएको बाढीले निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनामा करिब ८० करोड रुपैयाँ बराबरको क्षति पु¥याएको छ ।
आइतबार दिनभर परेको भारी वर्षापछि आएको बाढीले आयोजनाका विभिन्न संरचना, निर्माण सामग्री र मेसिनरी उपकरणमा क्षति पु¥याएको हो । करिब ७७ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजनमा बाढीका कारण आयोजनाको निर्माण कार्य पूर्ण रुपमा ठप्प भएको छ ।
आयोजना प्रबन्धक विमल ढकालका अनुसार बाढीले हेडबक्स, पावरहाउस, क्रसर उद्योग, र पहुँच मार्गमा ठूलो क्षति पु¥याएको छ । उनका अनुसार चारवटा मिक्चर, तीनवटा एक्साभेटर, करिब १० हजार बोरा सिमेन्ट, दुईवटा कम्प्रेसर, तीनवटा डिजेल जेनेरेटर, २२० टन डण्डी लगायतका सामग्री बगाएको छ ।
त्यस्तै, हेडबक्स सम्मको २० किलोमिटर लामो पहुँचमार्गमा १५ स्थानमा पहिरो गएको छ भने पेनस्टक र भर्टिकल पेनस्टक क्षेत्रमा समेत ठूलो पहिरो गएको छ । बाढीले दुईवटा बलेरो जिप, एउटा ट्रिपर र एउटा एक्साभेटर पनि बगाएको छ । पैदल आवागमनका लागि निर्माण गरिएको झोलुंगे पुल, स्टोर भवन र वर्कसपसमेत बाढीले बगाएको आयोजनाले जनाएको छ ।

सुपर न्यादी जलविद्युत आयोजना हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले संयुक्तरुपमा निर्माण गरिरहेको हो । आयोजना सम्पन्न गर्न कुल ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाबाट ५ अर्ब २५ करोड ऋण र १ अर्ब ७५ करोड स्वपुँजी लगानी भएको छ ।
४०.२७ मेगावाट क्षमताको आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा विद्युत उत्पादन गरिनेछ । उत्पादित विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढाको टारीकुना खुदी सबस्टेसनमा १३२ केभी लाइनमार्फत जोडिनेछ ।
आयोजनाले प्रसारण लाइन पनि आफैं निर्माण गर्ने जनाएको छ । बाढीका कारण आयोजना सम्पन्न हुने म्याद समेत पछि धकेलिने निश्चित भएको छ ।











प्रतिक्रिया