सिन्धुली।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का १६ सदस्यीय हायू परिवार सोमबार आफ्नो गाउँ फर्किएका छन् । बस्ने, घर, शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनयापनका समस्याका कारण गाउँ छाडेर पोखरा पुगेको परिवार स्थानीय सरकारको सक्रिय पहलपछि पुनः घर फर्कन सहमत भएको हो ।
गत साउन १२ गते, हायू परिवार एक्कासि गाउँ छोडेर पोखरा पुगेका थिए। त्यसै दिन साँझ पोखरा महानगरपालिका–३० स्थित एक स्थानीयको घरमा भाडामा बसेको अवस्थामा उनीहरू भेटिएका थिए। परिवारको हराएको खबर बाहिरिएपछि सामाजिक चिन्ता बढेको थियो।
परिवार फर्काउने पहल गोलन्जोर–६ का वडाध्यक्ष रविन श्रेष्ठले गरेका हुन्। श्रेष्ठको टोली पोखरा पुगेर हायू परिवारलाई फेला पारेर गाउँ फर्काउने प्रस्ताव राखेको थियो। परिवारकी मूली उर्मिला हायूका जेठा छोरा राज हायूले आफ्नो परिवार आफ्नै गाउँमा फर्किएको बताए । वडा अध्यक्षले परिवारको जीवनयापनमा देखिएका समस्याहरु हल गरी दिने प्रतिबद्धता जनाए पछि गाउँ फर्किएको राज हायूले बताए ।
हायू परिवारले आफू बसेको घर अरूको जग्गामा रहेको, खानेपानीको सुविधा नभएको, विद्यालय टाढा परेको, यातायातको पहुँच नरहेको, र आर्थिक स्रोतको अभावले गुजारा चलाउन गाह्रो भएको बताएको थियो ।
हायू परिवारको पुरानो घर एकान्त स्थानमा रहेकाले तत्काल उनीहरूलाई आफ्नो घर (सुंगुरे) मा बस्न आग्रह गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । केही समय पछि सबै सहयोगी दाताहरुसँग सहयोग जुटाएर घर बनाई दिने, परिवारको ऋण तिर्न पैसा पनि सहयोग गर्ने र दुई जनालाई तत्काल रोजगारी दिने प्रतिबद्धता गरेर हायू परिवारलाई घर फर्काईएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्याम घिमिरेले हायू परिवारका दुई जनालाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष श्रेष्ठले जनाए ।
वडाध्यक्षका अनुसार बालबालिकाहरुलाई वडामै पढ्ने व्यवस्था समेत मिलाइने छ । “वडा नम्बर ६ को सुंगुरे भन्ने ठाउँमा मेरो घर खाली छ, अहिले उनीहरूलाई त्यहीं बस्न भनिएको छ,” उनले बताए ।











प्रतिक्रिया