हलेसीबाट फर्किंदै गर्दा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना घाइते


खोटाङ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेको एक माइक्रोबस खोटाङको कदुवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्।

सोमबार बिहान करिब ९ बजे जयराम–हलेसी सडकखण्डको डौँठेखोला नजिक मध्यपहाडी लोकमार्गमा प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रो बस दुर्घटना भएको हो। जसमा १६ जना यात्रु सवार थिए।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने बाँकी १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। बाँकी ८ जनाको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको छ।

नगरप्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार, सघन उपचार आवश्यक परेकाले गम्भीर घाइतेहरूलाई नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौं पठाइएको हो। जनसेवामा उपचाररतको अवस्था भने सुधारोन्मुख छ।

२०० मिटर तल खसेको थियो माइक्रो बस

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतीक विष्टका अनुसार, माइक्रोबस दुर्घटनाग्रस्त भएर सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटना भएको स्थान झाडी र बुट्यानयुक्त भएकाले अझ ठूलो मानवीय क्षति हुन नपाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा तत्काल उद्धार कार्य सम्पन्न गरिएको थियो। मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेकाले विस्तृत विवरण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।