काठमाडौँ ।
विज्ञापन कम्पनी प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा आयोजित ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ मा ‘ब्रान्ड इन्फ्लुएन्सर, क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स’ पुरस्कार जितेको छ।

सिंगापुरको सांग्रिला होटलमा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो। प्रिज्माका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले उक्त अवार्ड ग्रहण गरेका थिए।
विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा प्रदान गरिने सो अवार्ड विश्वका उत्कृष्ट, प्रभावशाली र दीर्घकालीन प्रभाव पार्ने ब्रान्डहरूलाई दिइन्छ । २०औं वार्षिकोत्सवकै अवसरमा आयोजित यो विशेष संस्करण अवार्डले विश्वव्यापी ब्रान्ड निर्माणमा सशक्त योगदान दिने एजेन्सीहरूलाई सम्मानित गरेको हो।
प्रिज्मा पहिलो नेपाली कम्पनी हो जसले यो अवार्ड प्राप्त गरेको छ । विगतमा यो अवार्ड कोका–कोला, नेस्ले, युनिलिभर, टोयोटा, सामसङ, आइबीएमलगायत ब्रान्डहरूले प्राप्त गरिसकेका छन्। यस्तै, क्रिस्टियानो रोनाल्डो, नास डेली र निकोल एन डेभिड जस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरू समेत यसका पूर्वविजेता हुन् । अवार्ड प्राप्तपछि प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भन्नुभयो–‘यो अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने अठोटको प्रमाण हो ।’
त्यस्तै महाप्रबन्धक शरद शाहीले भन्नुभयो–‘नेपालबाट विश्वसम्म पुग्ने हाम्रो ३५ वर्षको यात्रालाई यो सम्मानले ऐतिहासिक बनाइदिएको छ ।’ प्रिज्मा एड्भर्टाइजिङले उपभोक्ता वस्तु, दूरसञ्चार, वित्त, प्रविधि लगायत क्षेत्रमा रचनात्मक ब्रान्ड समाधानहरू विकास गर्दै आएको छ ।











प्रतिक्रिया