बर्दिबासमा ४६५ के.जी. गाँजासहित एक युवक पक्राउ


महोत्तरी।

लागु औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास तथा ईलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले ४६५ के.जी. गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

आइतबार साँझ करिब ५:४५ बजे विशेष सूचनाका आधारमा जिल्ला महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ स्थित रामगोपालपुर चौकमा बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा ट्रकमा लुकाइछिपाई राखिएको अवस्थामा १० बोरा गाँजा फेला परेको र कुल तौल ४६५ के.जी. रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ५ निवासी २६ वर्षीय ट्रक चालक मान बहादुर मुक्तान प्रहरी नियन्त्रणमा रहेका छन्।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय रामगोपालपुरमार्फत जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको प्रहरीले जनाएको छ।