अन्ततः बागमतीका मुख्यमन्त्रीको राजीनामा


हेटौंडा । 

अन्ततः बागमती प्रदेशमा नेपाली कांग्रेसको कोटाबाट बनेका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । जसका कारण लामो प्रक्रिया रोक्दै नयाँ मुख्यमन्त्रीमा कांग्रेसकै नवनिर्वाचित संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई छैठौं मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा बानियाँसँग लामा ८ मतान्तरले पराजित भएका थिए । काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवासँगको प्रत्यक्ष भेटपछि आइतबार अपराह्न प्रदेशको राजधानी हेटौंडा आइपुगेका लामाले आइतबार २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

बैठक हुन नसके पनि उनले पत्रकार भेटमार्फत् राजीनामाको घोषणा गरेका हुन् । बैठकमा आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यबादसहित पदबाट राजीनामाको घोषणा गरिने भनिएको थियो । १ वर्ष ९ दिन सरकारको नेतृत्व गरेर उनले आइतबार पदबाट राजीनामाको घोषणा गरे । ९ साउन २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका लामा प्रदेशमा कांग्रेस र र तामाङ समुदायका पहिलो मुख्यमन्त्री हुन ।

पार्टी सभापति देउवाको निर्देशनानुसार आफूले राजीनामा दिएको उनले बताए । मुख्यमन्त्री लामाले साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयपरिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाए । उनले आफूले इमान्दारीपूर्वक काम गरेको दाबी गर्दै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छाड्नुपरेको गुनासो गरे । उक्त घटनाक्रमबाट नभाग्ने लामाको भनाइ थियो । घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ । ‘राजनीतिक स्थिरता र जनतामा आशा र विश्वास जगाउनु गठबन्धनको मुख्य उद्धेश्य थियो,’ उनले भने–तर, त्यही गठबन्धन भत्काउने काम भयो ।

‘संविधानले मलाई मुख्यमन्त्रीमा अझै सुनिश्चित गरे पनि पार्टीभित्र बृहत् छलफलपछि राजनीतिमा विधि, पद्धति, मूल्य र मान्यता स्थापित गर्न उचित ठानिएकाले र पार्टी सभापति देउवाले मार्गप्रशस्त गर्न आग्रह गरेका कारण आग्रह स्वीकार गर्दै राजीनामा दिएको हुँ,’ उनको कथन छ । लामाले प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लोकतान्त्रिक मूल्यमान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको बताए । ‘भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिनँ । के यो नै मेरो कमजोरी हो ?,’ उनको प्रश्न थियो ।

मुख्यमन्त्री लामाले राखेको शर्त मान्ने गरी कांग्रेसबीच ३ बुँदे सहमति भएको थियो । सहमतिअनुसार उनले आइतबार राजीनामा दिएका हुन् । शनिबार कांग्रेस सभापति देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेपछि सहमति जुटेको हो । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले मुख्यमन्त्री लामाले साउन १४ गते नियुक्त ३ मन्त्रीलाई सपथ गराउने, लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने र मुख्यमन्त्रीले राजीनामा गर्ने सहमति भएको जानकारी दिए । लामाले कांग्रेस बागमती प्रदेशसभा प्रमुख सचेतकसमेत रहेका गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। तर, प्रदेश प्रमुख बिरामी भएपछि उनीहरुको सपथ रोकिएको छ । २०८१ साउन ८ मा मुख्यमन्त्री नियुक्त लामाले ९ साउनमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

लामाले प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाको अनुपस्थितिमै मन्त्रिपरिषद् सचिवालयमार्फत राजीनामा दर्ता गराएका छन्  । नेपालको प्रचलित कानुनी व्यवस्था र संविधानको धारा १६७ को उपधारा (१) बमोजिम मुख्यमन्त्रीले राजीनामा दिन चाहे प्रत्यक्ष प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने प्रावधान छ । यद्यपि, प्रदेश प्रमुख देबकोटा स्वास्थ्योपचारका क्रममा अस्पताल भर्ना भएकाले उनले मन्त्रिपरिषद् सचिवालयमार्फत राजीनामा दर्ता गरी घोषणा गरेका हुन्  ।

संविधानलाई बलियो आधार बनाएर मुख्यमन्त्रीबाट नहट्ने लामाको अडानलाई कांग्रसका शीर्ष नेताहरुको छलफलले गलाएर छाड्यो । कांग्रेस सभापति देउवाले सरकार टिकाउन बहुमतले समर्थन गर्नुपर्ने र विवाद नलम्ब्याइ समस्या सुल्झाउन राजीनामाको विकल्प नहुने भन्दै मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए।

प्रदेश संसदीय दलको निर्वाचनमा लामा ८ मतले पराजित भएपछि बानियाँ संसदीय दलको नेता भएका छन्  । सबैलाई लागेको थियो कि लामाले तत्काल राजीनामा दिएर नवनिर्वाचित नेता बानियाँलाई सहज मुख्यमन्त्री पद हस्तान्तरण गर्नेछन्  । तर, त्यसो हुन सकेन । लामाले तत्काल राजीनामा दिने ‘बहादुरी’ देखाउनुको साटो पदमा टिकिरहने अडान लिइरहेपछि पार्टीभित्र विवाद बढेको थियो ।

‘संसदीय अभ्यास, राजनीतिक नैतिकता र पार्टी अनुशासनको दृष्टिबाट लामाको हर्कतले नेपालको संसदीय परम्परा र लोकतान्त्रिक आचरणमै प्रश्न उठाएको छ,’ बानियाँ पक्षका सांसद् भन्छन्–संसदीय दलमा पराजित भइसकेपछि पनि मुख्यमन्त्री भइरहन खोज्नुले कांग्रेसमा कुन संस्कार मौलाउँदै छ भन्ने प्रश्न खडा गरेको छ।

१४ मन्त्रालय रहेको प्रदेशमा लामा नेतृत्वको मन्त्रिपरिषद्मा एमालेका ६ र मुख्यमन्त्रीसहित कांग्रेसका ८ मन्त्री थिए । बानियाँको पक्षमा रहेर यसअघि ‘राजीनामा’ दिएका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी र आन्तरिक मामिला तथा कानुन मन्त्री-प्रवक्ता सुरजचन्द्र लामिछानेलाई लामाले ‘बर्खास्त’ गरेका थिए । खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्याम खड्काले बुधबार राजीनामा दिएका थिए ।