खेलकुद मन्त्री चौधरी सफल कि असफल ?


 काठमाडौं। 

तेजुलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको बहिर्गमनपछि युवा तथा खेलकुद मन्त्री बनेका हुन् । मन्त्री बनेको एक वर्ष बितिसक्दा मन्त्री चौधरी कति सफल भए त ? खेलकुदमा कति परिवर्तन भए त ? यी प्रश्न तेर्सिएका छन् । 

नेपाली काँग्रेसका चौधरी मन्त्री बनेदेखि विवादहरू कुनै पनि सुल्झिएका छैनन् । सबभन्दा पहिला त नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद नै ठेगान लागेको छैन । एनओसीको विवाद सुल्झाउनु निकै आवश्यक छ । तर, यसको समाधान न मन्त्रीसँग छ न त एनओसीसँग छ । 

शुक्रबार मन्त्री चौधरीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक पनि गरे । जसमा, उनको प्राथमिकतामा एनओसी नै परेको छ । उनले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी अवैध भएकोले छिटै तदर्थ समिति गठन गर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर तदर्थ समिति गठन गर्ने बताएका हुन् । 

खेल मन्त्रीका लागि तदर्थ समिति बनाउने कि भएको एनओसीको विवाद सुल्झाउने ? यसमा नै मन्त्री चुकेका छन् । हुन त २२ खेल संघले श्रेष्ठको नेतृत्वको एनओसीविरुद्ध निवेदन दिनाले पनि मन्त्रीको लागि तदर्थ समिति बनाउने बाटो मिलेको छ । एनओसीसँग आबद्ध २७ खेल संघमध्ये २२ खेल संघले प्रधानमन्त्री ओलीसँग भेटेर एनओसी अवैध नेतृत्वमा रहेकोमा छलफल गरिएको थियो । 

विवाद सुरु

गत वर्ष पुसमा एनओसीको अनलाइनमार्फत् निर्वाचन भएको थियो । जसलाई खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएका थिएनन् । त्यतिबेला नै अमान्य घोषित भइसकेपछि विवाद सुरु भयो । परिषद्ले त कति संघको बैंकको खाता नै रोक्का गरिदिएको थियो । तापनि श्रेष्ठ अध्यक्ष तेस्रो पटक नै भए । 

यसपछि एनओसीको सातदोबाटोस्थितको भवनमा तालाबन्दी भयो । एनओसीको प्रेस मिट भयो, मन्त्रालयको प्रेस मिट भयो । जसमा शब्द शब्दको युद्ध भइरह्यो । अनि, खेल संघ, खेलाडीहरू ट्वाल्ल पर्नुबाहेक केही गर्न सकेको छैन । यहाँसम्म कि निर्वाचन भएको ७ महिना बितिसक्दा पनि मन्त्री चौधरीले विवाद साम्य पार्न कुनै समाधान निकाल्न सकेका छैनन् । 

विधान संसोधन गरी तेस्रो पटक अध्यक्ष

जीवनराम श्रेष्ठ यसअघि दुई पटक एनओसीका अध्यक्ष पदमा आसीन भइसकेका थिए । तर, विधान संसोधन गरेर श्रेष्ठ फेरि एकपटक अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । लगातार तेस्रो पटक अध्यक्ष हुँदा खेल संघमा पनि मत विभाजन भएको छ । अध्यक्ष एकातिर छन् भने महासचिव अर्कोतिर छन् । 

श्रेष्ठको एनओसीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को समर्थन रहेको छ । यसको पुष्टि गत जुनको अन्त्यतिर पठाएको खेलसंख्याले गरेको थियो । एसियाली खेलकुदको लागि नेपालबाट सहभागिता हुने खेलहरूको नाम पठाउनु पर्ने थियो । एनओसीले ३० खेलको सूची पठायो भने मन्त्रालयबाट ३१ खेलको सूची पठायो । 

अब, यहाँनेर एनओसीले पठाएको सूची ओसीएले स्विकार ग¥यो । तर, मन्त्रालयबाट पठाएको खेल सूची फिर्ता आयो । फिर्तासँगैं सन्देश पनि पठाइएको थियो । जसमा लेखिएको थियो–मन्त्रालयले खेल सूची पठाउने होइन, यो सम्बन्धित निकाय एनओसीले पठाउने हो । 

राष्ट्रिय खेलकुदको मिति कहिले?

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक कर्णाली प्रदेशमा हुँदैछ । गत मंसिरमा हुने तय भएको यस प्रतियोगिता अहिलेसम्म हुन सकेको छैन । पटक पटक मिति सारिएको छ । मन्त्री चौधरीले यस विषयमा छिटै मिति घोषणा गरे बताएका छन् । तर, कहिले हुने भनिएको छैन ।

मन्त्री चौधरीले गत वर्ष आयोजक स्थलमा भौतिक पूर्वाधार सम्पन्न नभएको कारणले प्रतियोगिता आयोजना हुन नसकेको खुलस्त पारेका थिए । उनले अहिले मिति सार्न नपर्ने गरी मिति तोक्न छलफल भइरहेको बताएका छन् । यसबाट केही आसा छ कि प्रतियोगिता यसै वर्ष हुन सक्नेछ । 

मन्त्री चौधरीको नेतृत्वमा केही राम्रा पक्षहरू 

-भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने योजना अगाडि बढाएको । 

-अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन काठमाडौं उपत्यकामा जग्गा प्रािप्तको कार्य भइरहेको । 

-राजधानीमा नेपाल स्पोर्ट्स इन्भेस्टमेन्ट २०२५ आयोजना गर्ने तयारी । 

-अन्तर्राष्ट्रिय पदक प्राप्त गरेका ८ खेलका ८३ जना खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ ।