‘साम्बा’ लाई हेटौंडामा विशेष सम्मान


हेटौंडा । 

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई शनिबार हेटौंडामा विशेष सम्मान गरिएको छ । नेपाली महिला फुटबललाई चिनाउने र प्रेरणाका स्रोत बनेकी साम्बालाई सञ्चारिका समूह मकवानपुरले ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममार्फत् सम्मान गरेको हो ।

साम्बालाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । उनलाई सञ्चारिका समूह मकवानपुर अध्यक्ष सानुमाया गुरुङ (निशा), हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँ र पुरस्कार प्रायोजक संस्था हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरण जोशीले संयुक्तरुपमा सम्मान गरेका थिए ।

साम्बाले सम्मान ग्रहण गर्दै देशलाई विश्वसामु चिनाउने सपना लिएर यात्रा थालेको भन्दै सम्मानले हौसला अझ बढाएको बताइन् । उनले खेलकुद क्षेत्रलाई महिलामैत्री बनाउन समाज र राज्यको थप सहयोग आवश्यक रहेको औँल्याइन् ।

साम्बा नेपाली महिला फुटबल इतिहासकै सफल खेलाडीका रुपमा चिनिन्छिन् । उनले राष्ट्रिय टोलीबाट हालसम्म ४३ गोल गरिसकेकी छिन्, जुन नेपाली महिला खेलाडीबीच कीर्तिमान हो । 

कार्यक्रम ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ शीर्षकमा गरिएको भए पनि यसले राष्ट्रिय गौरव बोकेका प्रतिभाहरुसँग सहरको साक्षात्कार गराउने अभियानका रुपमा सन्देश दिएको थियो । हेटौंडा उपमहानगर उपप्रमुख बानियाँले नगरका तर्फबाट साम्बालाई बधाई दिँदै खेलकुद क्षेत्रमा हेटौंडा नगरले संरचनागत् विकास गर्ने तयारीमा रहेको जानकारी दिए । उनले सामुदायिकस्तरमा फुटबलको विकासमा साम्बाजस्ता रोलमोडलले ठूलो भूमिका खेल्न सक्ने बताए । सञ्चारिका समूह मकवानपुर अध्यक्ष गुरुङले साम्बाको उपलब्धि सम्पूर्ण देशकै गौरव भएको भन्दै युवापुस्ताले साम्बाबाट प्रेरणा लिनुपर्ने बताइन् ।

पुरस्कार प्रायोजक जोशीले साम्बाले अन्तर्राष्ट्रियस्तरमा पु¥याएको पहिचान सबैका लागि गौरवको कुरा भन्दै भविष्यमा पनि यस्ता प्रतिभाको साथ र समर्थनमा रहने वचन दिए । कार्यक्रममा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य टीकाराम लामा, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिं रानाभाट, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईं, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीसहित खेलप्रेमी र विद्यार्थीहरुको उपस्थिति थियो ।