रामेछाप ।
बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाको साझेदारीमा निमार्ण भएको चिस्यान केन्द्रको संरचना निमार्णका लागि ५० लाख बजेट बिनियोजन भएको छ ।
मन्थली नगरपालिकाको वडा नः १ मा सानिमदौमा निमार्ण गरिएको चिस्यान केन्द्र प्रदेश सरकार र मन्थली नगरपालिकाको ७०-३० लागत साझेदारीमा निमार्ण सुरु गरिएको थियो । करिब सात करोड रुपैयाँ खर्चेर निर्माण गरिएको ५०० मेट्रिक टन क्षमताको उक्त केन्द्र अझै प्रयोगमा ल्याउन सकिएको छैन।
२०७८ को असार मसान्तभित्र निर्माण सक्ने गरी ठेक्का लिएको काठमाडौँस्थित इजि इन्फ्रा प्रालिले झन्डै दुई वर्ष ढिलो गरी २०८० साउनमा मात्र काम सम्पन्न गरेको थियो। परीक्षण सफल भइसके पनि केन्द्र सञ्चालनमा नआउनु थप चिन्ताको विषय बनेको छ।
स्थानीयवासी पूर्ण सुवेदीका अनुसार निर्माणमा भएको ढिलाइपछि अहिले प्रदेश सरकार र नगरपालिकाबिचको समन्वय अभावका कारण केन्द्र सञ्चालनमा ढिलाइ भइरहेको छ। “पहिला निर्माणमा ढिलाइ गरियो, अहिले सञ्चालनमै अन्योल देखिएको छ,” सुवेदीले भने, “प्रदेश र नगरबिचको असमझदारीकै कारण यो अलपत्र परेको देखिन्छ।”
नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठका अनुसार केन्द्रको मुख्य संरचना तयार भए पनि आवश्यक पूर्वाधार घेराबार, कर्मचारी आवास र शौचालय—नबनेका कारण औपचारिक रूपमा केन्द्र हस्तान्तरण हुन सकेको छैन। उनका अनुसार चालु आर्थिक वर्ष २०८२-०८३ मा बाँकी संरचना निर्माणका लागि ५० लाख रुपैयाँ बजेट प्रदेश सरकारबाट विनियोजन गरिएको छ। “अबको योजना भनेको यही वर्षभित्र बाँकी काम सम्पन्न गरेर केन्द्र सञ्चालनमा ल्याउने हो,” श्रेष्ठले बताए।
बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दश लाख रुपैयाँको साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो।नगरपालिकाले आफ्ना ३० प्रतिशत हिस्सासहितको रकम प्रदेश सरकारलाई पहिल्यै बुझाइसकेको छ। साथै, केन्द्रसम्म विद्युत् लाइन विस्तार गरी टिओडी मिटर जडानसमेत नगरकै लगानीमा गरिएको हो। तर अझै पनि आवश्यक संरचना नबन्दा प्रयोगमा ल्याउन सकिएको छैन।
स्थानीय किसानहरूका लागि आशाका रूपमा निर्माण गरिएको यो चिस्यान केन्द्र वर्षौँसम्म सञ्चालन हुन नसक्दा लगानीको उपयोगितामाथि प्रश्नमा उठेको छ। अब बाँकी काम छिटो टुङ्ग्याएर यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।











प्रतिक्रिया