८ कन्सल्टेन्सीलाई नगद जरिवाना


काठमाडौँ। 

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार मात्र काठमाडौँ उपत्यकाका २५ वटा कन्सल्टेन्सीहरूको अनुगमन गर्दा ८ वटा कन्सल्टेन्सीलाई कारबाही स्वरूप जरिवाना  गरेको छ । 

ती कन्सल्टेन्सीहरूले अत्यधिक शुल्क लिएको र कम्पनी दर्ता नगरी सञ्चालन गरेको आधारमा कारबाही गर्दै ६ लाख रुपियाँभन्दा बढी जरिवाना गरिएको विभागले जनाएको छ। साथै अन्य ८ वटा कन्सल्टेन्सीलाई व्यवसाय सम्बन्धी आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। बाँकी ९ वटा कन्सल्टेन्सीलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । 

विभागका अनुसार काठमाडौँ महानगरपालिका–२८ मा रहेको रिड एजुकेशन हब, परसुट अब्रोट स्टडिज र स्योउराइ इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई जनही एक लाख रुपियाँ जरिवाना गरिएको छ।  त्यस्तै, सोही वडामा रहेको प्यासन फाउण्डेशनलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यसैगरी, काठमाडौँ महानगरपालिका–२८ कै काइट कन्सल्टेन्सीलाई ५१ हजार, काठमाडौँ–१६ मा रहेको छाङमी एजुकेशनलाई ५० हजार र भक्तपुर नगरपालिका–३ मा रहेको आशीर्वाद ल्याङ्वेज स्कुललाई पनि ५० हजार रुपियाँ जरिवाना गरिएको हो। विभागले कन्सल्टेन्सीहरूबाट लिइने शुल्क, दर्ता प्रक्रिया, सेवा पारदर्शिता, उपभोक्ता अधिकार संरक्षण लगायतका मापदण्डअनुसार नियमन र निगरानी जारी राख्ने जनाएको छ ।