बागमतीमा ३ मन्त्रीको शपथग्रहण अनिश्चित


हेटौंडा ।

 कांग्रेसको कोटामा नियुक्त भएका बागमती प्रदेशका ३ मन्त्रीको शपथग्रहण अनिश्चित बनेको छ । बिहीबार बिहान सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथग्रहण स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि काठमाडौं जानुपरेकाले शपथग्रहण कार्यक्रम रोकिएको हो । सोही कारण समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथग्रहण कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ । प्रदेश प्रमुख देबकोटा उपचारका लागि काठमाडौं गएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि सत्तासाझेदार दल एमालेको असहमतिपछि नवनियुक्त ३ मन्त्रीको बुधबार हुने भनिएको शपथ रोकिएको थियो । मुख्यमन्त्री बहादुरसिंह लामाले रिक्त ५ मन्त्रालयमध्ये ३ वटामा मन्त्री नियुक्त गरी बुधबार बिहान ९ बजेका लागि प्रदेश प्रमुख देबकोटासमक्ष सिफारिस गरेका थिए ।

उनको सिफारिसअनुसार चितवनकी माया श्रेष्ठ र गीता गुरुङ तथा धादिङका गोबिन्द लम्साल मन्त्री नियुक्त भएका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरिएको थियो ।

मुख्यमन्त्री लामाले यसअघि ४ मन्त्रीलाई पदमुक्त र मंगलबार एक मन्त्रीले राजीनामा दिएपछि ५ मन्त्रालय मन्त्रीबिहीन बनेको छ । ती सबै मन्त्रालय मुख्यमन्त्री लामा आफैंले सम्हाल्लेका छन् ।बागमती प्रदेश कांग्रेस संसदीय दलका तत्कालीन नेता बहादुरसिंह लामाले गर्ने निर्णय, कार्यशैली र गुटगत् भेदभाव भएको भन्दै ४ मन्त्रीको राजीनामाबाट कांग्रेस बागमती संसदीय दलको द्वन्द्व सुरु भयो । राजीनामा दिएलगत्तै मन्त्रीहरुले इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउनपर्ने मागसहित तत्कालीन दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए । अविश्वास प्रस्ताव बहुतले पारित भयो । दलको नेताको पद रिक्त रहेपछि बागमती प्रदेशसभा भवनपरिसरमा कांग्रेस संसदीय दलका नेताको लागि चुनाव भयो । जसमा लामा ८ मतान्तरसहित पराजित भएका छन् ।

अब आफू दलको नेता निर्वाचित भएपछि मुख्यमन्त्री लामाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बानियाँको भनाइ छ । यदि नैतिकताका आधारमा राजीनामा नदिए त्यसका लागि लोकतान्त्रिक अभ्यास प्रयोग गरिने बानियाँको चेतावनी छ । 

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नवनिर्वाचित दलका नेता बानियाँले दलका नेता भएको हैसियतमा मुख्यमन्त्री बनेका लामाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र यदि त्यसो भएन भने आफू पुनः लोकतान्त्रिक पद्धतिमा गएर पदमुक्त गराउने बताएका छन् । जबकि, लामा राजीनामाको मुडमा छैनन् । आफ्नै दलमा विवादबीच उनले मन्त्री नियुक्त गरेपछि  एमाले पनि चिढिएको छ । प्रदेशको मुख्यमन्त्री सम्हाल्ने लक्ष्यसहित आफ्नै संसदीय दलभित्र अविश्वास प्रस्तावमा होमिएका  बानियाँलाई लामाले सहज राजीनामा दिएर ठाउँ खाली गर्ने सम्भावना देखिँदैन ।