बुटवल।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवल मालपोत कार्यालयका पाँच जना कर्मचारी विरुद्ध मुद्दा चलाएको छ । मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू पुनाराम पन्थी जीवलाल भुसाल, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठविरुद्ध मुद्दा चलाएको हो ।
त्यसमध्ये नासु पुनाराम पन्थीले आत्मसमर्पण गरेका हुन् भने विष्णु पुरी फरार रहेका छन् । उनीहरुले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न जग्गाको नक्कली पुर्जा बनाएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश नक्कली लालपुर्जा निकाल्नमा सघाउने अभियुक्तलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गरी फाइल सरकारी वकीलको कार्यालयमा बुझाएको बताए।
प्रहरीका अनुसार अभियुक्तहरुले बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग ) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, बुटवल ९ (ग) को प्रेमदेवी थापा क्षेत्रीको जग्गा शान्ता कुमार कार्कीको नाममा गराएका थिए । यस्तै तिलोत्तमा नगरपालिका आनन्दवन ७ (ख)को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तुल्सीराम भण्डारीको नाममा गरेका छन् । यस्तै, तिलोत्तमा आनन्दवन ७ (ख) को जग्गा धनीको नाम नखुलेको तर नक्कली जग्गा धनी रञ्जन थापा क्षेत्री र कुमार कार्कीको नाममा लालपुर्जा जारी गरेका थिए । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा गराएका थिए ।
केही वर्षअघि जग्गा माफिया र केही कर्मचारी मिलेर व्यक्तिको जग्गाको नक्कली लालपुर्जा बनाएर सहकारी बचत तथा ऋण सहकारी, मनोहराबाट २ करोड ७० लाख ऋण निकालेको भन्ने सूचना बाहिरिएको थियो । त्यसपछि मालपोत कार्यालय बुटवलका तत्कालीन प्रमुख उपेन्द्र पौडेलले जिल्ला प्रहरी कार्यालय, रुपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवललाई अनुसन्धानका लागि आग्रह गरेका थिए । २०८० साल असार २७ मा परेको लिखित निवेदनमाथि अहिले मात्रै अनुसन्धान गरी अभियुक्त पक्राउ गरिएको हो ।











प्रतिक्रिया