तिलोत्तमाको दूरगामी सहकारीमा १२ करोड हिनामिना भएको पुष्टि , भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष केसी पक्राउ

1.32k
Shares

बुटवल। 

सहकारीका सञ्चालककै मिलेमतोमा पछिल्लो समय रुपन्देहीमा सहकारी ठगीका प्रकरण बढिरहेका छन् । यसैक्रममा विवादित रुपन्देहीको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा १२ करोड हिनामिना भएको  पुष्टि भएको छ । उता, भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ। 

रुपन्देहीको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाले १२ करोड हिनामिना र २५ करोड रुपियाँ अपचलन भएको पुष्टि भएको छ ।

सहकारीको १४ वर्षको अवधिमा अध्यक्ष र सचिवले करिब ८० करोड रुपैयाँ गैरकानुनी ढङ्गले चलाएको देखिन्छ । सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकले रकम हिनामिना गरेको उजुरीपछि सत्यतथ्य पत्ता लगाउन ७ जना स्वतन्त्र लेखापरीक्षकहरु दुई साता अघिदेखि लेखापरिक्षणमा खटेका थिए ।

 उनीहरुले बुधवार अन्तिम रिपोर्ट तयार गरी कार्यसमितिलाई बुझाएका छन् । कार्यसमितिले उक्त लेखा परीक्षण रिपोर्ट प्रदेश सहकारी रजिस्टार कार्यालयमा पठाएको छ । अव प्रदेश सहकारी रजिस्टार कार्यालयले लेखा परीक्षण रिपोर्ट  अध्ययन गरेपछि थप कारबाही अगाडि बढ्ने भएको छ । यद्यपि सहकारीले उक्त रिपोर्ट तयार भएपनि सार्वजनिक गरेको छैन ।

 सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री गत असार १७ गतेदेखि फरार छन् । ठगी मुद्दामा प्रहरीमा जाहेरी परेपछि व्यवस्थापक वसन्त पराजुलीलाई भने रुपन्देही प्रहरीले पक्राउ गरेको छ । वचतकर्ताहरु भने आफूहरूको बचत फिर्ता गर्न माग गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

  उता, सहकारी ठगी आरोपमा वैशाखदेखि फरार भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी भक्तपुरबाट पक्राउ परेका छन्  । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा प्रहरी वृत्त भक्तपुरको टोलीले केसीलाई बुधवार भक्तपुरको मध्यपुर ठिमीबाट पक्राउ गरेको हो । 

दोलखा जिल्लाको मेलुङ गाउँपालिकाका ३४ वर्षीय अशोक केसीले सिद्धार्थनगर नगरपालिका ५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीको ५ करोड ९०लाख ८४ हजार १६५ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।