कृषिमन्त्री अधिकारीद्वारा संयुक्त राष्ट्र संघ खाद्य प्रणाली रूपान्तरण स्टेक टेक समिटको मन्त्रीस्तरीय बैठकमा सम्बोधन 

नेपालले पोषणयुक्त स्थानीय तथा रैथाने बालीहरुको उत्पादन र मूल्य श्रंखला विकासलाई प्राथमिकता दिइएको छ 


काठमाडैँ ।

 इथोपियाको राजधानी अदिस अबाबामा साउन ११ देखि १३ (जुलाई २७ देखि २९) सम्म सञ्चालन भएको संयुक्त राष्ट्र संघ खाद्य प्रणाली रूपान्तरण स्टेक टेक समिट (यूनएनएफएसएस+४) को उद्घाटन सत्र र मिनिस्टिरियल राउण्डटेबलमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सम्बोधन गरेका छन्।

सम्वोधनको क्रममा उनले कल्याणकारी राज्यको रुपमा आधारभूत मानव अधिकारको रुपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिवद्द रहेको र खाद्य अधिकारलाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरिनुको साथै सो को कार्यान्वयनको लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन तथा नियमावली जारी गरिएको र यो एक कानूनी प्रवन्ध मात्र नभइ एउटा राजनैतिक र नैतिक जिम्मेवारी पनि हुनुको साथै यसले राष्ट्रिय प्रयासहरूलाई पनि दिशानिर्देश गर्ने बताए।

 मन्त्री अधिकारीले भूपरिवेष्टिता, जलवायुजन्य जोखिमता तथा जोखिमयुक्त कमजोर पहाडी भू धरातल, विग्रँदो पारिस्थितिक प्रणाली, जैविक विविधता ह्रास र बढ्दो खाद्य तथा कृषि आयात तथा अस्वस्थकर खानाको बढ्दो उपभोग लगायतका कारणले सिर्जना गरेको चुनौतिहरुको सामना गर्न नेपाल जस्तो सानो अर्थतन्त्रले स्थानीय खाद्य प्रणालीको विकास र सबलीकरण गर्नु अत्यावश्यक रहेकोमा जोड दिए।

स्थानीय खाद्य प्रणालीको विकास तथा सबलीकरणको प्रयास अन्तर्गत सरकारले स्थानीय कृषक समुदाय एवं महिला तथा युवा वर्गको लागि सहयोग र सशक्तीकरण गर्न सरकारले गरेका विभिन्न पहलहरु बारे चर्चा गर्दै उनले पोषणयुक्त स्थानीय तथा रैथाने बालीहरुको उत्पादन र मूल्य श्रंखला विकासलाई प्राथमिकता दिइएको बताए।

 यस क्रममा विद्यालय दिवा खाजामा स्थानीय उत्पादनको प्रयोग गर्ने अभियान चलाइएको र यसले स्कुले विद्यार्थीको कुपोषण कम गरी शिक्षण सिकाइमा सकरात्मक प्रभाव पर्नुको साथै ग्रामिण अर्थतन्त्रमा टेवा पुर्‍याउनुको साथै उत्थानशील स्थानीय खाद्य प्रणाली विकासमा समेत सहयोग पुगेको मन्त्री अधिकारीले उल्लेख गरे।यसै गरी उनले पर्यावरणीय कृषि, प्राङ्गारिक कृषि, जलवायु मैत्री कृषि एवं कृषि जैविक विविधता संरक्षण, कृषि बन प्रणाली लगायतका दिगो तथा उत्थानशील कृषिका विभिन्न अभ्यासहरुको प्रवर्द्धन गरिएको पनि जानकारी गराए। 

निम्न आय भएको मुलुकको रुपमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार तथा जलवायु परिवर्तन लगायतका कारणले खाद्य उत्पादन तथा समग्र खाद्य प्रणालीमा देखा परेका चुनौतिहरुको सम्बोधन गर्न वर्तमान खाद्य प्रणालीलाई रूपान्तरण गरी दिगो, उत्थानशील र समावेशी बनाउन नेपालको वित्तीय एवं संस्थागत क्षमता कमजोर रहेकोले यस दिशामा अन्तर्राष्ट्रिय जगतको सहयोगको लागि मन्त्री अधिकारीले आव्हान पनि गरे।