काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्न लागेको पावर समिट २०२५ को मिति परिवर्तन गरिएको छ । असोज १–२ गतेका लागि तय गरिएको समिट अब असोज २९ र ३० गते (अक्टोबर १५–१६, २०२५) हुने भएको हो।
इप्पानका अनुसार पूर्वनिर्धारित मितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएकाले र सो भ्रमणमा इप्पान पदाधिकारीहरूको समेत सहभागिता रहने भएकाले समिटको मिति सारिएको हो।
सन् २००६ देखि हरेक दुई वर्षमा हुँदै आएको पावर समिटको यो नवौं संस्करणको हो ।सरकारको २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिने समिटमा ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदार, परामर्शदाता, निर्माण कम्पनी, बैंक तथा वित्तीय संस्था लगायतका सरोकारवाला निकायका प्रतिनिधि सहभागी हुनेछन्।
समिटमा नीतिगत बहसमार्फत नेपालको हरित ऊर्जा क्षेत्रको सम्भावना, रणनीति, चुनौती र अन्तर्राष्ट्रिय बजारमा व्यापारका अवसरहरूबारे छलफल हुने इप्पानले जनाएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट उद्घाटन गरिने लक्ष्य राखिएको छ। समिटलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले संरक्षकत्व प्रदान गरेको छ भने कन्ट्री पार्टनर को रूपमा भारतीय राजदूतावास सहभागी हुनेछ। इप्पानले नयाँ मितिमा समिटलाई सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिताको अपेक्षा गरेको छ ।











प्रतिक्रिया