एआईलाई बिजुली र पानी कति चाहिन्छ ?


कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले सूचना प्रवाह, श्रम बजार, सञ्चार प्रणाली र सेवा क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ । मानव मस्तिष्कको प्रतिरूपका रूपमा विकास गरिएको एआई सिर्जनात्मक लेखनदेखि कानुनी राय, स्वास्थ्य परामर्श, भाषा अनुवाद, कार्यालय सहयोग, शिक्षण, रणनीति निर्माणसम्मका कार्यमा प्रयोग भइरहेको छ । तर, यसको चमत्कारी पक्षसँगै उभिएको अध्याँरो छायाँ सँगै उभिएको छ । ऊर्जा, पानी र अन्य प्राकृतिक स्रोतहरूको उच्च खपतले जलवायुमा असर तथा अन्य प्रणालीमा चुनौती थपिरहेको छ ।

एआईमा दैनिक जिज्ञासा र यसको मूल्य

सन् २०२५ जुलाईसम्मको तथ्यांक अनुसार विश्वभरि एआई च्याटबोटहरूमार्फत् दैनिक २ दशमलव ५ अर्बभन्दा बढी ‘प्रम्प्ट’ अर्थात् प्रश्न, अनुरोध र निर्देशनहरू प्राप्त हुने गर्दछन् । यीमध्ये करिब ३५ प्रतिशत कार्यालयको काम, २२ प्रतिशत कोडिङ, १८ प्रतिशत शिक्षण, १५ प्रतिशत सामग्री सिर्जना र १० प्रतिशत सामान्य जिज्ञासासम्बन्धी हुने गर्दछन् । अमेरिकाले मात्रै दैनिक ३३ करोड प्रम्प्टको योगदान गर्दछ । यति प्रश्नहरूको उत्तर खोज्नका लागि प्रयोग हुने डाटा सेन्टरहरूलाई निरन्तर शीतल राख्न ठूलो परिमाणमा पानीको आवश्यकता हुने गर्दछ ।

त्यस्तै ५७ प्रतिशत प्रम्प्ट पूर्णस्वचालित रूपमा समाधान हुने गरेका छन् भने बाँकी ४३ प्रतिशतमा मानवीय सहयोगको आवश्यकता पर्ने गरेको छ । साथै यति नै मात्रामा इनपुटहरूको प्रशोधन गर्न एआई प्रणालीहरूलाई अत्यधिक ऊर्जा र पानीको आवश्यकता पर्छ । तथ्यांक अनुसार, एउटै एआई सेसनमा १०–५० प्रश्नको आदान प्रदान हुँदा करिब आधा लिटर पानी खपत हुन्छ।

डरलाग्दो पानी खपत

एआई सेवा सञ्चालनका लागि आवश्यक डाटा सेन्टरहरूलाई निरन्तर शीतल राख्न अत्यधिक मात्रामा पानी चाहिन्छ । सन् २०२२ मा मात्रै गुगल र माइक्रोसफ्टले क्रमशः २३ अर्ब र ७ दशमलव ८ अर्ब लिटर पानी प्रयोग गरेका थिए । ओपन एआई–माइक्रोसफ्ट इन्फ्रास्ट्रक्चरले करिब ७० करोड लिटर पानी खर्च गरेको थियो । अमेजन र मेटाको तथ्यांक पनि सोही बराबर नै रहेको छ । एआईको प्रयोग बढेसँगै सन् २०२७ सम्ममा ४ दशमलव २ देखि ६ दशमलव ६ खर्ब क्युबिक मिटर पानी पुग्न सक्ने प्रक्षेपण छ । जुन युकेको वार्षिक खपतभन्दा पनि बढी हो ।

अध्ययन अनुसार १ मेगावाट क्षमताको डाटा सेन्टरले वार्षिक करिब २ दशमलव ५५ करोड लिटर पानी प्रयोग गर्छ, जुन ३ लाख मानिसको दैनिक आवश्यकतासँग बराबरी गर्छ । च्याटजीपीटी–४ को प्रशिक्षणमै ७ लाख लिटरभन्दा बढी पानी खर्च भएको तथ्यांक छ । सन् २०२४ मा गुगलका डाटा सेन्टरहरूमा ३७ अर्ब लिटर पानी खपत भएको थियो । जसमध्ये २९ अर्ब लिटर पानी वाफ बनेर उड्यो । संयुक्त राष्ट्रसंघ का अनुसार उक्ते पानी १६ लाख मानिसलाई एक वर्षसम्म दैनिक ५० लिटरका दरले प्रयोग गर्न पुग्छ । डाटा सेन्टरहरूले चिस्याउनका लागि प्रयोग हुने पानीमध्ये ८० प्रतिशत बाफ बन्छ ।

बढ्दो ऊर्जा खपत

अहिलेको अवस्थामा विश्वको कुल विद्युत खपतमध्ये १ देखि १.५ प्रतिशत हिस्सा एआई सम्बन्धित डाटा सेन्टरहरूद्वारा उपयोग भइरहेको छ, जुन २४०–३४० टेरावाट प्रतिघण्टा बराबर हुन्छ । सन् २०३० सम्म यो दोब्बर हुने प्रक्षेपण गरिएको छ ।

च्याटजीपीटी–३ जस्तो बहुभाषिक भाषा मोडेल परीक्षण गर्न १२८७ मेगावाट प्रतिशतघण्टा ऊर्जा लाग्छ, जुन न्यूयोर्क सहरको एक दिनको कुल खपत बराबर हो । सामान्य एउटा च्याटबक्स प्रयोग गर्दा २.९ वाट प्रतिघण्टा ऊर्जा खर्च हुन्छ । यो गुगल सर्चको तुलनामा लगभग १० गुणा बढी हो । यो ऊर्जा खपत सामान्य एउटा एलईडी बल्ब करिब १ घण्टा बलिरहेको जस्तै हो ।

च्याटजीपिटी–४ जस्ता प्रणाली तयार गर्दा कुल ऊर्जा खपतको ७० प्रतिशत ऊर्जा र पानी खर्च हुन्छ । यसरी जब करोडौं प्रयोगकर्ताले एआई प्रयोग गर्छन्, सामूहिक ऊर्जा खपत हुन्छ । एआई सञ्चालन गर्न ठूलो मात्रामा क्लाउड सर्भरहरू आवश्यक पर्छन्, जस्ले अत्याधिक ऊर्जा खपत गर्छन् ।

उच्च कार्बन उत्सर्जन र वातावरण चुनौती

एआईको प्रयोग गर्दा ऊर्जा र पानीको खपत मात्रै होइन उच्च कार्बन उत्सर्जन पनि हुन्छ । यसको प्रभाव भयानक हुन्छ । च्याटजीपीट–३ को प्रशिक्षणबाट मात्रै ५५२ मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन भएको अनुमान गरिएको छ, जुन एक साधारण कारले १२८ पटक पृथ्वी परिक्रमा गर्दा हुने उत्सर्जन बराबर हो । प्रविधिको प्रयोग बढ्दै जाँदा डाटा केन्द्रहरू, प्रोसेसरहरू र क्लाउड नेटवर्कका माध्यमबाट वातावरणीय असर निम्तिन थालेको छ।

एआई प्रणालीमा स्रोत खर्च तीन तहमा हुन्छ । जसमध्ये पहिलो सर्भर शीतल बनाउन प्रतिकिलोवाट–घण्टा १–९ लिटर पानी, बिजुली उत्पादन (विशेषगरी तापीय ऊर्जा) मा प्रतिकिलोवाट ७.६ लिटर र हार्डवेयर निर्माणमा प्रति चिप हजारौं लिटर अल्ट्राप्योर पानी खर्च हुन्छ ।

स्पेनमा ‘तपाईंको क्लाउडले मेरो नदी सुकाउँदैछ’ नामक समूहले डाटा सेन्टरको विस्तारको विरोध गरिरहेको छ । चिली र उरुग्वेमा पानीको अत्यधिक प्रयोगका कारण गुगलले डाटा सेन्टर योजना स्थगित वा परिवर्तन गरेको छ ।

बढ्दै संकटग्रस्त क्षेत्र

डाटा सेन्टरहरू मुख्यतया अमेरिका (भर्जिनिया, ओहायो एरिजोना), आयरल्यान्ड (डब्लिन), जर्मनी (फ्ङयाकफर्ट), ब्राजिल, चिली, चीन, भारत र उरुग्वेमा केन्द्रित छन् । विशेषगरी पानी अभाव भएका क्षेत्रहरूमा चिली, उरुग्वेमा डाटा सेन्टरहरूले जलस्रोतमा गम्भीर दबाब सिर्जना गरिरहेका छन् ।

अपर्याप्त समाधानका प्रयास

केही प्रविधि कम्पनीहरूले वातावरणमैत्री उपायहरू अवलम्बन गर्न थालेका छन् । गुगलले फिनल्याण्डमा समुद्री पानीबाट डाटा सेन्टर चिस्याउने प्रणाली लागू गरेको छ ।

त्यस्तै मेटाले स्वीडेनमा वायु ऊर्जाबाट सञ्चालित डाटा सेन्टर बनाएको छ । गुगल र माइक्रोसफ्टले सन् २०३० सम्म पानीको पुनःप्रयोग र पुनर्चक्रणमार्फत् पानी मैत्री बन्ने लक्ष्य लिएका छन् । तर यस्ता प्रयास अझै प्रारम्भिक चरणमै छन् । हालको गतिमा एआई प्रयोग जारी रहँदा सन् २०३० सम्ममा विश्वको कुल विद्युत खपतको ३ देखि ५ प्रतिशत हिस्सा डाटा सेन्टरमार्फत हुनेछ ।

एआईको बाटो

कृत्रिम बुद्धिमत्ता मानव उन्नतिको अर्को चरण हो, जसले शिक्षा, स्वास्थ्य, सेवा, आविष्कार, सञ्चारमा गहिरो योगदान पु¥याएको छ । तर, यसको सञ्चालनको पारिस्थितिक मूल्य पनि उत्तिकै गम्भीर छ । विशेषगरी जल संकटग्रस्त क्षेत्रमा । हामीले एआई प्रयोगको संस्कृतिलाई ‘जागरूक उपभोग’ मा रूपान्तरण गर्न आवश्यक छ । जहाँ आवश्यकता अनुसारको प्रयोग मात्र प्राथमिकता होस् । साथै, नीति निर्माताहरूले स्रोत उपयोगमा न्यूनतम दक्षता मापदण्ड अनिवार्य बनाउने कदम चाल्नुपर्छ । प्रविधिको भविष्य दिगो विकाससँग समन्वयात्मक नभएसम्म त्यसको मूल्य प्रकृति र समाज दुवैले चुकाउनुपर्ने छ ।

(स्रोत: MGoogle Sustainability Report 2023, Microsoft Environmental Report,Stanford AI Index 2024, IEA Data (International Energy Agency), UC Riverside Water Study 2023)