काठमाडौं।
नेपालमा सन् २०२५ को जुन महिनामा देशभरका विभिन्न भौगोलिक क्षेत्रहरूबाट सङ्कलन गरिएका ४४ वटा सार्स–कोभ–२ (कोरोना भाइरस) का नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरिएन्टको उपस्थिति देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार ती ४४ नमुनामध्ये १ वटा नमुनामा ओमिक्रोनको जेएन.१ उपभेरिएन्ट, २९ वटा नमुनामा ओमिक्रोन एक्सएफजी उपभेरिएन्ट र बाँकी १४ वटा नमुनामा ओमिक्रोन एक्सएफजी.३ उपभेरिएन्ट पाइएको हो ।
प्रयोगशालाका सूचना अधिकृत सन्तोष सुबेदीका अनुसार, हाल पत्ता लागेका यी उपभेरिएन्टहरूमध्ये “एक्सएफजी” लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले यसको खतराको बारेमा सुष्म अनुगमनको सूचीमा राखेको छ । यसको अर्थ यो उपभेरिएन्टमा विशेष निगरानी आवश्यक मानिन्छ । हालसम्म यसले गम्भीर स्वास्थ्य संकट उत्पन्न गर्ने खालको जोखिम भने देखिएको छैन । तर सतर्कता भने अपनाउँनुपर्ने देखिन्छ ।
सुबेदीका अनुसार “ओमिक्रोनका यी उपप्रकारहरू हाल विश्वभर फैलिरहेका अन्य प्रकारहरूसँग मिल्दोजुल्दो छन् । नेपालमा पनि यिनै उपप्रकारहरू भेटिनु आश्चर्यजनक होइन । तर हामीले निगरानीलाई अझ कडाइ गर्नुपर्ने अवस्था भने छ ।”
यो रिपोर्टले नेपालमा हाल देखिएको कोभिड–१९ को प्रचलन ओमिक्रोन भेरिएन्टमै सीमित रहेको स्पष्ट रूपमा देखाएको छ । वैज्ञानिकहरूका अनुसार, ओमिक्रोनका अधिकांश उपभेरिएन्टहरू तुलनात्मक रूपमा कम घातक भए तापनि अत्यधिक संक्रामक हुने सम्भावना बढी हुन्छ । यही विशेषताले गर्दा सङ्क्रमित सङ्ख्या चाँडै बढ्न सक्छ, जसले स्वास्थ्य सेवा प्रणालीमा दबाब पर्न सक्ने खतरा रहन्छ ।
हाल नेपालमा गम्भीर लक्षणसहितका कोभिड बिरामीको सङ्ख्या न्यून भए पनि स्वास्थ्य अधिकारीहरूले संक्रमण बढ्न सक्ने सम्भावनालाई औल्याईरहेका छन् । विशेषगरी वृद्ध, दीर्घरोगी र खोप नलगाएका व्यक्तिहरू जोखिममा पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार, नियमित मास्कको प्रयोग, भिडभाडमा सावधानी, हात धुने बानी र आवश्यक भए खोप पुनः लगाउनेजस्ता उपायहरू अहिले पनि प्रभावकारी छन् ।
यो नयाँ उपभेरियन्ट प्रमाणित भएसँगै नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले कोभिडको अनुगमनलाई निरन्तरता दिँदै आवश्यक परेमा परीक्षण र खोप अभियान पुनः सशक्त बनाउन सक्ने संकेत पनि दिएको छ ।
यसैबीच, प्रयोगशालाले अगामी महिनाहरूमा समेत थप नमुनाको जिन सिक्वेन्सिङ गर्दै संक्रमणको प्रकृति र प्रवृत्तिबारे निरन्तर अध्ययन गर्ने जनाएको छ ।
नेपालमा महामारीपछि कोभिड संक्रमणको अवस्था तुलनात्मक रूपमा नियन्त्रणमा देखिए पनि उत्परिवर्तित भेरिएन्टहरूको निगरानी र सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।
नेपालमा कोभिड–१९ को इतिहास
नेपालमा कोभिड–१९ को पहिलो केस जनवरी २४, २०२० मा वुहानबाट फर्किएका एक विद्यार्थीमा पुष्टि भएको थियो । त्यसपछि संक्रमण विस्तार हुन थालेपछि सरकारले मार्च २४, २०२० देखि पहिलो पटक देशव्यापी लकडाउन लागू ग¥यो ।
सन् २०२१ मा डेल्टा भेरिएन्टको दोस्रो लहरले भयावह अवस्था ल्यायो । अस्पतालहरू भरिए, अक्सिजनको अभाव भयो, र मृत्यु सङ्ख्या तीव्र गतिमा बढ्यो । यसै क्रममा सरकारले खोप अभियान सुरू गर्दै स्वास्थ्यकर्मी, वृद्धवृद्धा, संचारकर्मी, राजनेता र जोखिम समूहलाई खोप लगायो ।
तेस्रो लहर सन् २०२२ को सुरुवातमा ओमिक्रोन भेरिएन्टसहित आयो, जुन अत्यधिक संक्रामक भए तापनि तुलनात्मक रूपमा कम घातक रह्यो ।
सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले कोभिडलाई महामारी नभई नियमित संक्रमणको रूपमा हेर्न थाल्यो । नेपालमा पनि संक्रमण दर घट्दै गएको देखियो ।
हाल नेपालमा कोभिडका केही केसहरू ओमिक्रोनका नयाँ उपभेरिएन्ट (जस्तै एक्सएफजी उपभेरिएन्ट, जेएन १) देखिन्छन् । सङ्क्रमित सङ्ख्या कम भए तापनि स्वास्थ्य अधिकारीहरूले सचेत रहन आग्रह गरेका छन् ।
नेपालमा कोभिड संक्रमितको कुल तथ्याङ्क (२०२५ सम्म) १० लाख भन्दामाथि रहेको छ भने मृत्यु १२ हजार भन्दा बढीको भएको र २ करोड नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् ।











प्रतिक्रिया