काठमाडौं–तराई÷मधेस द्रुतमार्ग नेपालको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण तर अत्यन्त महत्वपूर्ण पूर्वाधार आयोजना हो । यो आयोजनाले राजधानी काठमाडौंलाई तराईसँग मात्र जोड्दैन, यो राष्ट्रिय सुरक्षाको रणनीतिक आधार, आर्थिक समृद्धिको प्रवेश द्वार र सिंगो मुलुकको गौरवको प्रतीक पनि हो । तर अहिले यो सपना समयमै साकार हुने कि फेरि अर्को अधुरो राष्ट्रिय महत्वको योजना बन्ने भन्ने द्विविधाको चपेटामा परेको छ । नेपाली सेनाको नेतृत्वमा निर्माण शुरु भएको यो आयोजनालाई सरकारले २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने स्पष्ट लक्ष्य लिएको छ । तर हालसम्म ३८ प्रतिशत मात्रै भौतिक प्रगति हुनु, प्रवेशविन्दु खोकना–डुकुछाप क्षेत्रमा देखिएको विवाद, मुआब्जा वितरणको ढिलाइ र स्थानीय सांस्कृतिक संवेदनशीलताको बेवास्ताले समयमै सम्पन्नताको सम्भावना धमिलिँदो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई रणनीतिक महत्वको सडक भनी पटक–पटक निर्देशन दिँदै आउनुभएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि यसलाई नेपालको स्वाभिमानसँग जोडिएको आयोजना भनेर प्रस्ट पार्नुभएको छ । सडकमात्र होइन, यो नेपालकै आत्मबल र आत्मनिर्भरता निर्माणको बाटो हो । खोकना–डुकुछाप क्षेत्रका स्थानीय समुदायको चासो पनि बेठीक होइन । त्यहाँको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको विषय उठाउनुलाई बेठीक भन्न मिल्दैन । प्राविधिक हिसाबले भने फास्ट ट्रयाकमा उल्लेखनीय प्रगति भएको छ । मुख्य ट्रयाक खुल्ने काम लगभग सम्पन्न छ, महादेवटार, धोन्द्रे र लेन्दे्रडाँडा सुरुङमा काम तीव्र छ । ८९ पुलमध्ये केही तयार भइसकेका छन् भने अन्यमा ढलान र डिजाइन फेरबदलको चरण चलिरहेको छ ।
इन्धन बचत, यातायात सहजता, कृषि उपजको सीधा पहुँच र अर्थतन्त्रमा २ देखि ३ प्रतिशत वृद्धिको सम्भावनाले यस आयोजनाको बहुआयामिक फाइदा देखिन्छ । तर यी सबै फाइदा हासिल गर्नको लागि ‘निर्णायक सहकार्य’ अपरिहार्य सर्त हो । कानुनी सहजीकरण, वातावरणीय अनुमति, स्थानीय जनसंवेदना र पारदर्शिताविना यो आयोजना सफल हुन सक्दैन । राज्य, सेना, स्थानीय तह, राजनीतिक दल र नागरिक समाजबीच भरोसामा आधारित सहकार्यको खाँचो अझै देखिन्छ । द्रुुतमार्गको आवश्यकता राष्ट्रिय हो, त्यसैले समाधानको दृष्टिकोण पनि राष्ट्रिय हुनुपर्छ । प्रधानमन्त्रीको निर्देशन, सेनाको लगनशीलता र सरोकारवालाको सक्रिय सहभागिताबाट मात्रै यो सपना समयमै साकार हुन सक्छ ।
अहिले अझै ढोका बन्द भइसकेको छैन तर ढिलो भने हुँदै छ । अब निर्णायक निर्णय र साझा प्रतिबद्धताको घडी हो । यदि हामी चुक्यौं भने यो आयोजनाको मूल्य केवल पैसामा होइन, विश्वास र समयमै हुनेछ । काठमाडौं–तराई÷मधेस द्रुुतमार्गको आवश्यकता जति गम्भीर छ, त्यसको निर्माणको वर्तमान अवस्था त्यति नै चुनौतीपूर्ण छ । प्रवेश विन्दुमा देखिएको विवाद समाधान नगरिएमा तोकिएको मितिमा काम सम्पन्न हुने सम्भावना टाढिँदै गएको छ । त्यसैले सबैले संयमता अपनाउन जरुरी देखिन्छ।











प्रतिक्रिया