विकट लालबन्दीमा दुई सयभन्दा बढी बालबालिका कुपोषित

स्थानीय स्तरमै उपलब्ध खाना र स्याहारमा विशेष ध्यान दिन जोड

1.41k
Shares

स्थानीय स्तरमै उपलब्ध खाना र स्याहारमा विशेष ध्यान दिन जोड।

सर्लाहीको भौगोलिक रूपमा विकट लालबन्दीमा दुई सयभन्दा बढी बालबालिका कुपोषित भएका छन् । गरीबी, पोषणयुक्त खानपान र हेरचाहको अभावका कारण लालबन्दी नगरपालिकाका दुर्गम वडा नं. १४, १५ र १६ मा कुपोषित बालबालिकाको संख्या बढी रहेको स्वास्थ्य सहायक रोशन चौधरीले जानकारी दिनुभयो । लालबन्दी नगरपालिकाअन्तर्गत पर्ने वडा नं. १५ को बाहुनीडाँडा र अर्नेडाँडा, वडा नं. १४ को नारायणखोला र वडा नं. १६ को माथिल्लो प्रवानीपुर क्षेत्रका बालबालिकामा कुपोषणको समस्या बढी देखिएको हो ।

कुपोषणको लक्षण देखिएका बालबालिकामा उपलब्ध स्वास्थ्य सेवा पु¥याउनसमेत मुस्किल रहेको जिकिर गर्दै उहाँले स्थानीय स्तरमै उपलब्ध खाना र स्याहारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । सरकारले पछिल्ला दिनमा बालबालिकालाई कुपोषणबाट जोगाउन विभिन्न नीति तथा कार्यक्रम ल्याए पनि लालबन्दी नगरपालिकाले ती दुर्गम गाउँका लक्षित वर्गसम्म ती कार्यक्रमहरू अझै प्रभावकारी रूपमा पु¥याउन सकेको छैन ।

बालबालिकालाई आवश्यक हेरचाह र समयमा खान खुवाउने अभिभावक घरमा नभएकाले उनीहरू दुब्लो हुने गरेको लालबन्दी–१५, बाहुनीडाँडाकी विनिता बाईवाले बताउनुभयो । चुरे क्षेत्रमा बसोबास गर्ने अधिकांश परिवारलाई वर्षभरि खान नपुग्ने र जीविकोपार्जनका लागि बाबुआमा घरबाहिर मजदुरी गर्न जानुपर्ने बाध्यताका कारण बालबालिका कमजोर हुँदै गएका स्थानीय प्रेमबहादुर घलानको पनि भनाइ छ । शान्तिमाया गोलेले भन्नुहुन्छ– ‘बाबुआमा बिहानैदेखि अबेर रातिसम्म खेतबारीमा काम गर्न जानुहुन्छ । छोराछोरीले बेलामा राम्रोसँग खान पाउँदैनन् । रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यता छ । मीठो खाने कुरा खान चाडपर्व कुर्नुपर्छ । अनि बच्चा कसरी बलियो हुन्छ ?’ उहाँले बालबालिकाको उपचार गर्न उक्त गाउँमा अहिलेसम्म कुनै स्वास्थ्यकर्मी नआएको जिकिर गर्दै भन्नुभयो– ‘खोप लगाउन बच्चालाई तीन घण्टा बोकेर चिसापानीको कटहरबोट लैजानुपर्छ ।’

सिङ्गो गाउँमा बिरामी पर्दासमेत स्वास्थ्यकर्मी नआउने स्थानीयले गुनासो गरेका छन् । नजिकै अस्पताल नभएकाले अधिकांशले बच्चा घरमै जन्माउने गरेका छन् ।
दुर्गम गाउँ भएकाले स्वास्थ्य सेवा प्रभावकारी रूपमा पु¥याउन नसकिएको र गर्भावस्थामा आमाले पोषणयुक्त खाना नपाउँदा जन्मिएका बच्चामा कुपोषण, अपांङता र कमजोरी देखिएको बताउँदै लालबन्दी नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका अधिकृत सुरेश खतिवडाले भन्नुभयो–‘जनचेतनाको अभावले गर्दा घर–गाउँमै उपलब्ध पोषिलो खानेकुरा पनि प्रयोगमा ल्याइँदैन, त्यसले गर्दा शारीरिक वृद्धि विकासमा असर परेको छ ।’

वर्षामा पानी परेपछि सिङ्गो गाउँमा नै सडक सम्पर्कबाट टुट्ने गरेको छ । हिउँदमा सामान्य कच्ची सडक सञ्चालनमा आए पनि वर्षाको बेला सडक बन्द हुँदा बिरामीलाई डोको र झोलुङ्गोमा तीन घण्टाको बाटो बोकेर लालबन्दीमा उपचारका लागि ल्याउनुपर्ने स्थानीयको बाध्यता छ ।