१२६ मेगावाट विद्युत् उत्पादन, स्थानीयलाई प्रतिफल

1.97k
Shares

लमजुङ। 

 जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी आम्दानी अब दोर्दी गाउँपालिकाका नागरिकको स्वास्थ्य सुरक्षामा खर्चिने भएको छ । दोर्दी गाउँपालिकाले गाउँभित्र स्थायी रुपमा बसोबास गरिरहेका सबै घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने अभियान सुरु गरेको छ ।

आइतबारबाट वडा नं. १ को भारते, २ को अर्चलबोट, ३ को लामबगर र ४ को नौथर शेरामा निःशुल्क विमा कार्यक्रम सुरु गरिएको छ । पालिकाका अन्य वडाहरुमा पनि क्रमशः बीमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

स्थानीयको स्वास्थ्यप्रति गम्भीर हुँदै जलविद्युतको आम्दानीलाई सीधा जनहितमा प्रयोग गरिएको बताउँदै स्वास्थ्य बीमाबाट धेरै नागरिकले राहत पाउने पालिका अध्यक्ष युवराज अधिकारीको भनाई छ ।

गाउँपालिकाले ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’ भन्ने नारासहित यो अभियान सञ्चालनमा ल्याएको हो । अभियान अन्तर्गत पालिकाभित्र रहेका चार हजार दुई सय २५ घरपरिवारको निःशुल्क बीमा गरिनेछ । यसको लागि एक करोड ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । “१२६ मेगावाट विद्युत् उत्पादन, स्थानीयलाई प्रतिफल”, दोर्दी गाउँपालिकाभित्र हाल पाँच जलविद्युत आयोजना सञ्चालनमा छन् जसबाट कुल १२६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

२०७७ साल माघदेखि स्वास्थ्य बीमा कार्यक्रम नेपालभर लागू भए पनि दोर्दीका धेरै स्थानीय हालसम्म यसबाट लाभान्वित भएका थिएनन् । अब पालिकाको नयाँ कदमले बीमा नदिइएका घरपरिवारलाई पनि समेट्नेछ । यस पहलकदमीले जलविद्युत आयोजनाबाट प्राप्त प्रत्यक्ष फाइदा जनताको जीवनस्तर सुधारमा उपयोग भइरहेको स्पष्ट सङ्केत दिएको छ । 

दोर्दी भित्र पिपुल हाइड्रोपावर कम्पनीको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला, लिवर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला कम्पनीको १२ दशमलव १ क्षमताको दोर्दी १, छ्याङ्दीखोला हाइड्रोपावर कम्पनीको ४ मेगावाट क्षमताको जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरेका छन् ।