बुटवल ।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरूको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार शपथ ग्रहण गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका थिए । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन् ।
रुपन्देही जिल्लाको सिद्धार्थनगरबाट राजनीतिमा उदाएका पाण्डे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि हुन । जो पहिलो पटक २०७४ सालमा लुम्बिनी प्रदेशको रुपन्देही क्षेत्र नं. ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट दोस्रो कार्यकालका लागि विजयी भए । पाण्डेको राजनीतिक यात्रामा मन्त्री पद पनि अहम् बिन्दु बनिरहेको छ । उनी अहिलेसम्म चारपटक मन्त्री बनिसकेका छन्।











प्रतिक्रिया