स्याङ्जामा ४४ करोड बजेट फ्रिज


स्याङ्जा ।

आर्थिक वर्ष २०८१|८२ मा स्याङ्जाले संघीय र प्रदेश सरकारबाट प्राप्त कुल ११ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बजेटमध्ये करिब ९२ प्रतिशत अर्थात १० अर्ब ३४ करोड ८४ लाख रुपियाँ खर्च गरेको छ । संघीय सरकारबाट प्राप्त ८ अर्ब १८ करोड रुपियाँमध्ये ९६ दशमलव २० प्रतिशत अर्थात ७ अर्ब ८७ करोड रुपियाँ खर्च गरिएको हो । चालू खर्चतर्फ ९६ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ ७७ दशमलव ४५ प्रतिशत रकम खर्च भएको छ ।

प्रदेश सरकारबाट प्राप्त ३ अर्ब ७ करोड रुपियाँमध्ये ८० दशमलव ४८ प्रतिशत अर्थात २ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ । चालू खर्चमा ८१ दशमलव २३ प्रतिशत र पुँजीगत खर्चमा ८० दशमलव २० प्रतिशत रकम उपयोग भएको कोष नियन्त्रक थमनारायण शर्माले जानकारी दिनुभयो । तर, प्रदेशको ४४ करोड ६२ लाख रुपियाँ पुँजीगत रकम फ्रिज भएको छ । प्रमुख रूपमा पूर्वाधार विकास कार्यालय (३६ दशमलव ९० करोड), खानेपानी तथा सरसफाई डिभिजन (२ दशमलव ६२ करोड), र जलश्रोत तथा सिँचाई विकास डिभिजन (६६ लाख) को खर्च नहुनु फ्रिजको प्रमुख कारण हो । यसै अवधिमा ७९ करोड ६२ लाख रुपियाँ राजस्व संकलन गरिएकोमा संघलाई ६० करोड र प्रदेशलाई १८ करोड रकम पठाइएको छ ।

कोष नियन्त्रक शर्माका अनुसार योजना छनोटको कमजोरी, ढिलासुस्ती र जथाभावी बजेट विनियोजनले बजेट फ्रिज हुनुमा भूमिका खेलेको हो । उहाँले सरोकारवाला र विषयगत कार्यालयहरू जिम्मेवार रहेको टिप्पणी गर्नुभयो ।