बजेट अभावले अलपत्र सुकाजोरको बहुउद्देश्यीय कवर्डहल

3.1k
Shares

रामेछाप ।

रामेछाप नगरपालिकाले ‘गौरवको आयोजना’ को रूपमा अघि बढाएको सुकाजोर बहुउद्देश्यीय कवर्डहल निर्माण बजेट अभावका कारण अधुरै अवस्थामा रोकिएको छ ।रामेछाप नगरपालिका–७ सुकाजोरमा राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा सुरु गरिएको आयोजनामा हालसम्म ५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । इनडोर खेलका लागि बनाइएको कवर्डहलको संरचना भने प्रायः निर्माण भइसके पनि त्यससँगै जोडिएको बाहिरी खेलमैदानको काम अधुरै रहेको छ।

मैदान सम्याउने, टेवा पर्खाल लगाउने, पानीको निकास बनाउने र अन्य थप पूर्वाधार निर्माण गर्ने काम थालिनै सकेको छैन। स्थानीयहरूका अनुसार मैदान वरिपरि खनिएको माटोका डङ्गुरहरू अझै हटाइएको छैन। ती हटाउन मात्रै लाखौँ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

गत आर्थिक वर्षमा रामेछाप नगरपालिकाले खेल मैदान निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको थियो, तर उक्त रकमले आवश्यक तयारी र संरचना निर्माण सम्भव भएन। यस आर्थिक वर्ष वडा कार्यालयले जम्मा १० लाख रुपैयाँ मात्र छुट्याएको छ, जसले आवश्यक काम सम्पन्न गर्न सक्ने अवस्था छैन।स्थानीय पत्रकार बद्री नयाँघरे भन्छन्, “नगरको गौरवको आयोजनाको यस्तो अवस्था हुनु नगरवासीका लागि दुःखद हो। सबै पक्षको ध्यान यसतर्फ जान आवश्यक छ।“

स्थानीयहरूका अनुसार अहिले खेलमैदानको माथिल्लो भाग जमिन बग्न नदिन टेवा पर्खाल आवश्यक छ भने तल्लो भागमा समेत पर्खाल लगाएर मैदान उठाउनु पर्ने छ। तर, बजेट अभावका कारण यो सम्भव देखिँदैन। प्रारम्भिक चरणमै ठूलो रकम खर्च भए पनि बाँकी काम बिना दीर्घकालीन योजना र पर्याप्त तयारी थालिएको हुँदा आयोजना अन्योलमा परेको जनगुनासो छ।
स्थानीयवासीहरूको भनाइमा – “सुविधासम्पन्न खेल संरचना निर्माण गर्ने योजना सकारात्मक थियो। तर बजेटको सुनिश्चितता

बिना थालिएको काम अहिले अधुरो रहेर नगरको प्रतिष्ठामै आँच पुर्‍याउने अवस्थामा पुगेको छ।”उनीहरूको माग छ – नगरपालिकाले सुकाजोर कवर्डहल आयोजनालाई पुनः प्राथमिकता दिई बाँकी काम तत्काल अघि बढाओस्, अन्यथा अलपत्र संरचनाहरू समयसँगै जीर्ण हुँदै जाने खतरा छ।