पटक–पटक राजमार्गमा रुख ढल्दा यात्रुलाई  हैरान, सवारी साधनको सुरक्षामा चिन्ता

12.03k
Shares

रौतहट । 

पछिल्लो दुई महिनाको अवधिमा पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ रहेका रुखहरू तीन पटक ढलेर सवारी आवागमनमा अवरोध भएको छ । पटक–पटक रुख ढल्दा यात्रुहरूमा हैरानी मात्र हैन राजमार्ग चल्ने सवारी साधनको सुरक्षा चिन्ता थपिएको छ । दुई लेनको राजमार्गको अधिकांश खण्डको सडक छेउमै रहेका थुप्रै पुराना एवम् कमसल रुखहरू ढल्दा राजमार्ग जाम हुने गरेको हो । 

 राजमार्ग दाया बायाका धेरैजसो रुखहरु कमसल एवम् जीर्ण अवस्थामा रहेका कारण सामान्य हावाहुरीमा पनि ढल्ने र भाँचिएर राजमार्गमा झर्दा घण्टौँ जाम हुने गरेको छ । जसको कारण समयमै गन्तव्यमा पुग्ने यात्रुहरु रोकिन पुग्दा चिन्तित हुने गरेका छन् ।  पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ स्थित पराई सडक खण्डमा आइतबारको सामान्य हावाहुरीपछि सडकमा रुख ढल्दा करिब दुई घण्टा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजार प्रयोग गरी रुख हटाएपछि मात्रै यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताए । राजमार्गको सुरक्षाका लागि डिभिजन वन कार्यालय, डिभिजन सडक कार्यालय र सुरक्षाकर्मी बीच समन्वय नहुनु नै समस्या दोहोरिनुको मुख्य कारण भएको स्थानीय शम्भु थापाले बताए । डिभिजन सडक कार्यालयले आफ्ना  सुपरभाईजर मार्फत राजमार्गका दाया बाया झाडी सफाई गराउँदै आएपनि राजमार्ग अवरुद्ध हुने रुखहरु व्यवस्थापन गर्न चासो दिएको छैन । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुण लाल कर्णले रुखकै कारण पटक पटक राजमार्ग जाम हुन नदिन सरोकार निकायको समन्वयमा हटाउने बताए । 

एक महिना अघि असाढ १२ गते मात्रै चन्द्रपुर नगरपालिकाको वडानम्बर २ को राजमार्गमा रुख ढलेपछि सुरक्षाकर्मीले पन्छयाएर बाटो खुलाएका थिए । यस्तै जेष्ठ १२ गते पश्चिम जादै गरेको बा २ ख ३४४२ नम्बरको ट्रकको हुटमा एक्कासि रुखको हाँगा खस्दा चालक सामान्य घाइते भएका थिए । घटना दिउँसोको समय रहेको र रातको समयमा रुखहरुको कारण झन् खतरा बढ्ने स्थानीय बताउँछन् ।

झुकेका, सुक्खा र जीर्ण रुखहरूको पहिचान गरी कटान वा व्यवस्थापन हुन नसक्दा गुडिरहेको ट्रकमाथि रुखको हाँगा खसेपनि जोखिमबाट उक्त ट्रक जोगिएको हो । कमजोर रुखहरू कुनै पनि बेला ढल्न सक्ने अवस्थामा रहेपनि कानुनी झन्झटको कारण व्यवस्थापन गर्न समस्या रहेको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका बन अधिकृत हेमन्त साहले बताए । पूर्व -पश्चिम राजमार्गका यस्ता रुखहरुले यात्रुलाई जोखिममा पारिरहँदा  समेत सम्बन्धित निकाय मौन बस्न बाध्य रहेका छन् ।