रोजगारी सिर्जना गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिग

1.32k
Shares

काठमाडौं ।

नेपाली खेलकुदमा महिलाको सहभागिता र सशक्तिकरणलाई केन्द्रमा राख्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को दोस्रो संस्करणले २०२५ मा एक सयभन्दा बढी महिलाका लागि रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।
पहिलो संस्करणमै ७२ महिला खेलाडी, १५ व्यवस्थापनकर्मी, १० मिडिया प्रतिनिधि र ५ प्राविधिक कर्मचारीलाई समेटेर उल्लेखनीय सुरुआत गरेको यो लिगले अब आफ्नो प्रभाव विस्तार गर्दैछ । खेलकुदमा महिलाको मात्र सहभागीता नभई नेतृत्व, व्यवस्थापन र प्रविधिमा समेत उनीहरूको उपस्थिति मजबुत बनाउँदै लिगले नयाँ उदाहरण प्रस्तुत गरिरहेको छ ।

नेपालको खेलकुद इतिहासमै पहिलोपटक महिला सिइयोको नियुक्ति गर्दै स्नेभी चापागाईंलाई नेतृत्वमा ल्याउने काम यही लिगले गरेको छ । त्यस्तै, सुबिक्षा खड्का नेपालकै पहिलो महिला अक्सनियरको रूपमा स्थापित भइन् । जसले गत जुलाई १८ मा आयोजित ऐतिहासिक महिला भलिबल अक्सन सफलतापूर्वक सञ्चालन गरिन् । यी कदमहरूले महिला नेतृत्वलाई प्रोत्साहन दिनुका साथै समावेशी खेल संरचना निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान गरेका छन् ।

“अब पालो महिलाको” भन्ने नारासहित अगाडि बढिरहेको ईडब्लुभीएलले परम्परागत पुरुषप्रधान खेल संरचनालाई चुनौती दिँदै महिलालाई खेलाडी मात्र होइन, आयोजक, मिडिया विश्लेषक, डिजिटल कन्टेन्ट क्रिएटर, टिम अफिसियल र लगिस्टिक संयोजकजस्ता विविध भूमिकामा सहभागी गराउँदै आएको छ । विश्वव्यापी रूपमा खेल नेतृत्वमा महिलाको उपस्थिति न्यून रहेको अवस्थामा यो लिगले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मानक कायम गर्न थालेको छ ।

नेपाल जस्तो देशमा महिलामैत्री खेल अवधारणा प्रस्तुत गर्न सफल यो लिग अहिले महिला सशक्तिकरणको प्रेरणादायी मोडलको रूपमा चिनिँदैछ । नेपाल र दक्षिण एसियाका युवतीहरूका लागि सुरक्षित, सम्मानजनक र प्रेरणादायी खेलकुद करियरको सम्भावना विस्तार गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगले नेपाली खेलकुद परिदृश्यलाई नयाँ युगतर्फ दो¥याइरहेको छ । समानता, समावेशिता र नवप्रवर्तनको प्रतीक बनेको यो लिग अन्तर्राष्ट्रिय स्तरमा महिला नेतृत्वयुक्त खेल आयोजनाको उज्यालो उदाहरण बन्दै अघि बढिरहेको छ ।