नवलपरासी।
पूर्वी नवलपरासीका फलफूल व्यापारी प्रेमलाल महताे हिउँद वर्षा नभनी दैनिक १ हजार बढी रुपैयाँ सजिलै कमाउने बताउँछन् ।उनी मण्डीका कुनै थाेक व्यापारी पनि होइनन् नत व्यावसायिक फलफूल तथा तरकारी उत्पादक ।
प्रेमलाल त बेकारी भएर बस्न हुन्न, केही न केही गरेरै खानु पर्छ भन्ने सोच र शारीरिक स्फूर्तिका धनी सामान्य किसान मात्र हुन् । प्रेमलाल बिहान सबेरै उठ्छन् र छिट्टै पाक्ने उनकाे भान्साकाे मीठाे नमीठाे जे छ खाएर साइकल टिपेर गाउँघर तिर हुइँकी हाल्छन् ।
जसका लागि उनले अघिल्लै दिन साइकलमा हावा भए नभएको, फलफूल हाल्ने टाेकरी, दुई साइड झुल्लिने बलिया झोला, ढक तराजु र सामान राखेर दिने पोलिथिनको जाेहाे मिलाई सकेका हुन्छन् । पहिले देखि चिने जानेका र सम्पर्कमा रहेका गाउँ घरका किसानकाेमा पुगेर उनले सिजन अनुसार भाेगटे,कागती,अमिलो,मुन्तला,तामा,कटहर,बेलाैती,आँप,ताेरी, हरियो मकै, अनादि चामल किनेर बिक्रीका लागि सहर पुगी सक्छन् ।
स्थानीय डण्डा, कावासाेती बजारका भित्री तथा बाहिरी सडक गल्लीमा भाेगटे,कागती भनेर डुल्ला डुल्दै मध्याह्न हुन नपाउदै उनले ल्याएका सबै सामान बिक्री भइसकेका हुन्छन् । याे काम उनले बिगत ३२/३३ वर्ष देखि गर्दै आएको सुनाए । सुरूका दिनमा उनले याे पेसा जङ्गली तथा गाउँघरमै पाइने बाँसकाे तामा खरिद बिक्रीबाट थालेका हुन् ।
उनले भने आज भाेलि सबै फलफूल तथा तरकारीको भाउ बढेको छ उत्पादक भन्दा उपभोक्ता धेरै हुँदा बिक्री गर्ने सामानकाे भाउ महङ्गो भयाे ।
तै पनि समय अनुसारकाे खरिद बिक्रीबाट आफूले मासिक ३० देखि ४५ हजार सम्म कमाउने गरेको छु, दैनिक झण्डै २८ किलाेमिटर साइकल चलाउदा थकाई लाग्छ तागतिला चिज खाँदा महिनामा ५ /६ हजार त खर्च पनि हुने गरेको महतोले बताए ।
उमेरले ६२ हाराहारी पुगेका प्रेमलाल महताेका ३ छाेरा,२ छाेरी र श्रीमती रहेकी छन् । यही पेसा र कामकाे आम्दानीले सबै छाेरा १२ पास, कान्छी छाेरीले स्नातकोत्तर गरेर गाउकै बिद्यालयमा पढाउने गरेको प्रेमलालले सुनाए । जेठी छाेरीकाे पढाइ माध्यमिक तहमै राेकिदाकाे कुराले भने उनलाई दुःखित पार्दछ ।
दिनहुँ साइकल चलाउने हुँदा शारीरिक कसरतले होला शरीरमा कुनै किसिमको स्वास्थ्य समस्या छैन,एक ट्याब्लेट ओषधी खानु पनि परेको छैन प्रेमलाल बताउँछन् ।
स्थानीय कावासाेती १७ गाेछडा गाउँका उनी ५० काे दशक तिरकाे कुरा सम्झँदै भन्छन् संगैका दाैतरी पैसा कमाउन विदेश तिर लागे म भने जे सक्छु यही स्वदेशमै गर्छु भनेर याे पेसा सुरू गरेको हूँ । उनले भने आफूले गर्दै आएको पेशाबाट भएकाे आम्दानी र छाेराहरूले गरेका कमाई मिसाएर सबै छाेरालाई एक एक ओटा एकै तले भए पनि पक्की घर बनेको छ । यही आम्दानीमा म खुसी छु, घर गाउँका अरूलाई पनि स्वदेशमै केही गर्नु हाेस् भन्न चाहन्छु महतोको कथन छ ।
बैदेशिक राेजगार र युवाहरूकाे विदेश पलायनले थपेकाे चिन्ता
स्वदेशमै रहेर दैनिक राम्रै आम्दानी गरिरहेका प्रेमलाल बैदेशिक राेजगारीलाई चिन्ताकाे बिषय ठान्छन् । उनी थप्छन् बिदेशमा सबैलाई राम्रै छ भन्न सकिन्न अरूकाे ठाउँ, भाषाकाे समस्या, जस्ताे कमायाे उस्तै खर्छ हाम्राले त पैसा बचाउनै सक्दैन भन्ने गरेको छरछिमेकमा सुन्छु ।
प्रेमलालले भने एउटा छाेराेले जेनतेन बिदेशमा भए पनि घर पैसा पठाकै छ, घर पनि उसकाे डेढ तलाकाे भैसक्याे तर कान्छाे छाेरा भने विदेश गएर नफर्कदा निकै पीर पारेकाे छ ।
एक छाेरा नेपालमै छ उ नेपाल आर्मीको जागिरे हाे, देशको सेवा गरेको छ समय समयमा घर आउँछ भेटघाट हुन्छ खुसीलाग्छ तर कान्छाेले दुबईमा फिलिपिनाेसंग बिहे गरेर घर आउन त परकाे कुरा फाेन पनि उठाउँदैन । उतै पलाएन हुन्छ कि भन्ने डर छ, नाति जन्मिएको काे छ रे दुबईमै रहेको दाजुसँग पनि फोनमा बातचित तथा भेटघाट गर्दैन ।
सानाेमा दुखःसुख गरेर हुर्काएको सन्तति उतै पलायन हुने त होइन यही चिन्ताले सताउने गरेको प्रेमलालले बताए ।
उनले सुनाए युरोप,अमेरिका अस्ट्रेलिया जस्ता देशमा पुगेका नेपाली युवाहरू उतै भुलेर मातृभूमि र बुढेसकालका बाबा आमालाई भेट्न सम्म नआएको देख्दा आफ्नै जमानाको गाउँ समाज ठीक लाग्ने गरेको छ ।











प्रतिक्रिया