२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता

पल्सरसँग  पाँच वर्षको सम्झौता थप 


काठमाडौं । 

२२ औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ आगामी भदौ २९ गते पोखरामा आयोजना हुने भएको छ। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुने यो प्रतिष्ठित अवार्ड कार्यक्रम पहिलो पटक काठमाडौँ बाहिर हुँदैछ। पोखरामा अवार्डको आयोजना गर्न शुक्रवार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच पाँच वर्षका लागि पुनः प्रायोजन सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे। विगत १७ वर्षदेखि अवार्डको मुख्य प्रायोजक रहँदै आएको गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ।

अध्यक्ष अधिकारीका अनुसार नेपाली खेलकुदको दायरा फराकिलो बन्दै गएको अवस्थामा अवार्ड कार्यक्रमलाई देशव्यापी बनाउने उद्देश्यले यस वर्ष पर्यटन राजधानी पोखरामा आयोजना गर्ने निर्णय गरिएको हो। काठमाडौँबाहिर लैजाने योजना केही वर्षअगाडि देखिनै रहेको र भ्रमण वर्ष २०२५ को अवसर पारेर सबै पक्ष अनुकूल भएपछि पोखरालाई छनोट गरिएको उनले जानकारी दिए।

यस वर्षको स्पोर्ट्स अवार्डमा पनि दश विधा समावेश गरिएका छन्। तीमध्ये उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। त्यस्तै, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र पारा एथलिट सम्मानका विजेताले नगद १ लाख रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। एनएसजेएफका महासचिव अन्जन खड्काले पिपल्स च्वाइस अवार्डका लागि भोटिङमार्फत निर्णय गरिने जानकारी दिँदै अन्य चार विधाको मनोनयन पनि चाँडै सार्वजनिक गरिने बताए।

गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले एनएसजेएफसँगको १७ वर्ष लामो सहकार्यलाई नेपालकै एक स्थायी साझेदारीका रूपमा लिँदै यसले आपसी विश्वास र प्रतिबद्धता दर्शाएको बताए। उनले फुटबल लिग, क्रिकेट लिग र ग्रासरुट परियोजनामा समेत गोल्छा ग्रुपको सक्रिय सहभागिता रहेको उल्लेख गरे।

एआईपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले एउटै संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम सञ्चालन गर्नु र एउटै प्रायोजकसँग १७ वर्षसम्मको सहकार्य दुर्लभ रहेको बताए। उनले खेलकुद पत्रकार मञ्चको यो पहलले खेलाडी मात्र होइन, पत्रकारसमेत सम्मानित भएको महसुस गराएको बताए।

गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड प्राप्त गरेका थिए। पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन्। स्पेसल अवार्ड भलिबल प्रशिक्षक कुमार राईलाई, पारा एथलिट सम्मान पारा ओलम्पिक कांस्य विजेता पलेशा गोवर्धनलाई, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड दक्षिण कोरियाका ही डोङ जोङलाई र लाइफटाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई प्रदान गरिएको थियो। महिला कबड्डी टोलीलाई टिम अफ द इयर अवार्ड प्रदान गरिएको थियो, जसले एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको थियो ।